© २०२३
बुटवल, ८ माघ । बाणिज्य बैंकहरूले बेस रेट ( आधारदर ) बढाएपछि कर्जाको ब्याज दर बढ्ने चिन्ता बढेको छ । बैंकहरूको प्रतिवेदनअनुसार २० वटै वाणिज्य बैंकको आधारदर बेसरेट १.९९ प्रतिशत देखि ३.५३ प्रतिशतसम्म बढेको हो ।
यो प्रतिवेदको आधार दर माघदेखि लागू हुने भएकाले ब्याजदर स्वाभाविकरूपमा बढ्ने बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले बताएका छन् । तर नयाँ ऋणीको हकमा बैंकहरूले प्रिमियम कम गरेर केही कम ब्याजमा ऋण प्रवाह गर्न भने सक्ने उनीहरुको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रयोग गर्ने ऋणीलाई समान रूपले लागू हुने तथा स्पष्टसँग पहिचान गर्न सकिने कर्जाको ब्याजदर निर्धारणका तत्वहरू समावेश गरिएको दर नै आधार ब्याजदर हो ।
अहिले सबैभन्दा कम आधारदर नेपाल स्ट्याण्डर्ड चार्टड बैंकको ९.६७ प्रतिशत छ । यस्तै एकल अंकको आधारदर नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट वाणिज्य बैंकको मात्र देखिएको छ । अन्य बैंकभन्दा तुलनात्मकरूपमा यी बैंकका ऋणीले कम ब्याजदरमा ऋण पाउने सम्भावना देखिएको छ ।
हिमालयन बैकसँग मर्जरको प्रक्रियामा रहेको सिभिल बैंकको सबैभन्दा बढी आधारदर छ । लक्ष्मी, माछापुछ्रे, प्राइम, सनराइज, कृषि विकास, प्रभु, एनआईसी एसिया र सिटिजन्स बैंकको आधारदर ११ प्रतिशतभन्दा बढी छ । नेपाल एसवीआई, एनएमबी बैंक, हिमालयन, ग्लोबल आईएमई बैंकको आधारदर भने ११ प्रतिशतभन्दा कम छ ।