© २०२३
महाभारत युद्धको कथा अध्ययन गर्दा कौरवहरूले पाण्डवहरूलाई कसरी सिध्याउने भन्ने मात्र सोंचे तर आफुले पाण्डवहरू सिध्याउन गरेको कार्य कति ठीक कति वेठीक भन्ने नै सोंचेनन् भन्ने पाइन्छ । त्यस वारेमा कौरवका बीचमा कहिल्यै छलफल भएन । उनीहरूले कपटी पासा चलाउनेदेखि बाहेक कुनै काममा सफलता हात पार्न सकेनन् तर उनीहरूले आफू असफल भएको कुरामा क्षणभर चिन्तन गर्न सकेनन् । जुन चिन्तन अति आवश्यक थियो । चाहे भीमसेनलाई विष खुवाएर नदीमा फालेको घटना होस् चाहे पाण्डवहरूलाई लाक्षागृहमा जलाउन नसकेको कुरा होस् या उनीहरू जुवामा हारेपछि बाह्र वर्षका लागि वनवासमा पुगेको समयमा विभिन्न ब्यूह रचेर पाण्डवलाई खोज्ने अनि वनमा सिध्याउने योजना बनाए तर कौरवपक्षले कुनैपनि दिन पाण्डवलाई भेटन सकेनन् । यो भेटन नसक्नुमा पनि उनीहरूले कुनै दिन समीक्षा गरेनन् । यसरी उनीहरूलाई समाप्त पार्ने घटनादेखि लिएर अज्ञात वासका समयमा पाण्डवहरूलाई निकै जोरजुलुमका साथमा आफ्ना गुप्तचरहरूलाई खोज्न पठाएर सफलता हात पार्न सकेनन् । वनबासको समयमा नभेटनु र गुप्तवासमा समेत भेट्न नसकेको कुरामा कहिल्यै आत्ममूल्यांकन गरेनन वा आफ्नो कामको समीक्षा गरेनन् । कौरवले पाण्डवप्रति गरेका गलत क्रियाकलापहरू महाभारतमा धेरै घटनाहरू छन् । यहाँ उदाहरणका लागि केही प्रतिनिधिमूलक घटना मात्र उल्लेख गरिएको हो । जति घटना भए पनि उनीहरूले कहाँनेर कमजोरी भयो ? आफूलाई जाँच्ने र सच्याउने प्रयास नै गरेनन् ।
कौरवहरूले हामी किन असफल भयौं ? भनेर आत्मचिन्तन गर्नतर्फ लागेको भए सायद कुनै घटनामा थोरैमात्र सफलता हात पर्ने थियो कि ? उनीहरूले पाण्डवप्रति जुन गलत व्यवहार गरे अन्तमा कौरव तथा कौरवको पक्षबाट लडन तम्सेका सबै सेनाको सत्यानाश भयो । कौरव पक्षबाट धृतराष्ट र गान्धारी मात्र बच्न सकेको पाइन्छ । उनीहरू मध्य धृतराष्ट राजा पनि थिए र जन्मान्ध थिए । उनी पनि युद्ध मैदानमा गएको भए बच्ने थिएनन् । यस्तै गान्धारीले आफूले पनि आँखामा पट्टी बाँध्ने बाचा गरेकाले उनी पनि देख्न सक्ने अवस्थामा रहिनन् । महाभारतको कथामा यही कुरा पाइन्छ । महाभारतका अन्य कथाहरू अध्ययन गर्दा एकातर्फ कौरवहरूमा अदूरदर्शिता पाइन्छ भने अर्कोतर्फ कौरवहरूले पाण्डवलाई कहिल्यै आफन्त (भातृ) भनेर सम्झन सकेनन् । हरेक क्षणमा पाण्डवहरूको द्रोहमात्र गरेको पाइन्छ । यही द्रोहको कारणले पाण्डव र कौरवको बीचमा कुरुक्षेत्रमा भिषण युद्ध भयो जसलाई महाभारत युद्धको नामले चिन्न सकिन्छ । यद्धपी कौरवका पक्षमा विशाल सेना थियो । विभिन्न देशका बलवान राजाहरूले उनीहरूलाई नै सहयोग गरेका थिए । पाण्डवहरूतर्फ मात्र धर्म थियो र नैतिकता थियो । कौरवहरू सय भाई थिए भनिन्छ । सबै योद्धा थिए । ती कौरवका पुत्रहरू पनि योद्धा थिए तर भातृ द्रोह गरेका कारणले उनीहरू महाभारत युद्धमा सबै स्वाहा भए ।
हरेक काम गरिसकेपछि त्यसबाट के कति सफलता हात लाग्यो कति राम्रो भयो कति सच्याउनु पर्ने अवस्थाको रह्यो ? भनेर विश्लेषण गर्नुपर्दछ । त्यसैलाई समीक्षा भन्ने गरिन्छ । महाभारतको युद्धको समयमा पाण्डवहरू दिनभर युद्ध गरेर सन्ध्यामा सभा बसेर समीक्षा गर्ने अनि नयाँ रणनीति बनाउने गर्दथे । साथमा आज दिनभर कसबाट कस्तो क्रियाकलाप भयो ? कसले कमजोरी गर्न पुग्यो, भोली सच्याएर कसरी युद्ध गर्ने जस्ता कुराको समीक्षा गर्दथे । उनीहरू कुनैपनि समयमा मदिरामा लठ्ठीएनन् तर कौरवहरू युद्धको प्रत्येक साँझ (रात) मा मदिराको नसामा लठ्ठीएर खाली पाण्डवहरूलाई निमिट्यान्न पार्नेमात्र कुरा गरे । युद्ध कौशलताको तौर तरिकाको वारेमा छलफल नै भएन । उनीहरूले आफूहरू सफल हुने भन्दा पनि षडयन्त्रमा पाण्डवहरूलाई कसरी पार्न सकिन्छ भन्ने मात्र सोंचे । सबै ध्याउन्न यसैमा हुन पुग्यो । समीक्षाले दिने फाइदा र जीवन अगाडि बढाउने सन्दर्भमा कौरवहरूको माझमा छलफल नै चलेन । यो त भयो समीक्षाको फाइदा र भाइद्रोह गर्दा हुने नोक्सानको वारेमा सानो चर्चा । श्रीकृष्ण शान्तिदूत बनेर कौरवको सभामा पुगेको समयमा पाँच गाउँमात्र देउ भन्ने सन्देश दिएका थिए तर सत्तान्धता भएको दुर्योधन र पुत्रमोह भएका धृतराष्ट दुबैको एउटै मोहले गर्दा सबै गुमाउन पुगे । यो कथाले भातृद्रोहबाट अन्ततोगत्वा हुने नतिजा दर्शाउँछ । आज पनि भातृद्रोहको नतिजा कतै न कतै कुनै न कुनै रूपमा कुनै दिन प्रकट हुने निश्चित हुन्छ । यो कथाले यही उपमा दिएको छ ।
यो कथा महाभारतको हो तर पनि आफन्तजनमा समन्वय, प्रेम भावना तथा आत्म मूल्यांकन भन्ने कुरा आज पनि उस्तै हो । यो राजनीतिमा र राजनीति गर्नेहरूसंग पूरै मेल खान्छ । त्यसमा झन हाम्रो मुलुकको सन्दर्भमा त पुरापुर मेल खान्छ । कुनैपनि ठाउँमा आपसी खिचातानी वा भाई भाईमा वेमेल वा दलहरूका बिचमा वेमेल हुनुले कहाँ के प्रगति हुन सक्छ र ? सुन्दा र हेर्दा घटना सामान्य जस्तो लाग्छ तर यो गम्भिर विषय हो । जुन भाइले जुन भाइको डाह गर्छ त्यो ढिलो चाँडो आफै समाप्त हुन जान्छ । यस्तै हो दलको कुरा पनि । अरूलाई समाप्त गर्छु भन्दा आफै समाप्त भइन्छ । यो सोह्रैआना सत्य हो । अरूलाई सम्मान गर्न नजान्ने, घृणामात्र ओकल्नेप्रति कुनै न कुनै दिन धेरै कुनाबाट त्यही घृणा मात्र मिल्ने गर्दछ । हामीले एउटा उदाहरणको लागि मात्र महाभारतको कुरा उठाएर कौरव र पाण्डवको बिचमा भएको मनमुटाव, मनमुटाव पनि के भन्नु ? पाण्डवहरू त चारैतिरबाट घेरावन्दीमा परेपछि युद्ध रोज्न पुगेका हुन् । धृतराष्ट्र असक्षम भएकाले नियमतहः इन्द्रप्रस्थ राज्य पाण्डवहरूका पिता पाण्डुको पोल्टामा परेको हो । कौरवहरूले राज्य लिनुपर्ने भए जसरी जुन तरिकाले पाण्डुको अधिकार भित्र परेको हो, त्यही प्रकृयाबाट कौरवहरूले लिने प्रयास गर्नुपर्दथ्यो । उनीहरूले यो विचार नगरेर पाण्डवहरूलाई पाँचगाउँ समेत दिन मन्जुर नगरेर युद्धको माध्यमबाट पाण्डवहरूलाई हराएर सबै आफै लुड्याउने सपना देख्न पुगेकाले आखिरमा कौरवको वंश विनाश भयो ।
राजनीतिक दलमा एकले अर्कालाई निषेध गर्ने नभएर अति स्वस्थ प्रतिष्पर्धा गर्न सिक्नुपर्दछ । जहाँ पनि राजनीतिक टाँङ अड्याउने प्रवृतिले कुनैदिन आफैलाई नोक्सान हुन्छ भन्ने यसले सिद्ध गरेको छ । राजनीति भनेको मुलुक बनाउनका लागि हो, आपसमा खिचातानी गरेर एकले अर्कालाई निमिट्यान्न पार्ने सोच सर्वथा गलत हो । आज एउटा पक्षले सरकार चलाउनेहरू प्रति भ्रष्टाचारमा डुवेकोदेखि बाहेक अरू राम्रो काम गरेको किन देख्न सक्दैन ? के त्यो दलसंग सरकारले गरेको राम्रो काम देख्ने दृष्टि लोप भएको हो ? सुन्दा आफैमा आश्चर्य लाग्छ । आफ्नो हातबाट सरकार बाहिरिएको दिनैदेखि सत्तोसराप गर्न आरम्भ भएको हो । अव हुँदा हुँदा डाहको पोको झन बढदै छ । सत्य र राम्रो अरूले पनि गर्न सक्छन् भन्ने विश्वास पनि लिनुपर्दछ । अरूलाई विश्वास गर्न र माया गर्न नजान्नुको कारणले कौरव समाप्त भएको कथा खुव राम्ररी सुनेको छौं । अनि फेरी एउटा तत्व त्यही मार्गमा हिँडन छोडेको छैन । ंअरूलाई विश्वासमा लिनका लागि आफू सत्ता आरोहण भएको समयमा राम्रो काम गरेर देखाउन सकेको भए अरू राजनीतिक दल आफै पछाडि पर्ने थिए । आफूले सिन्को भाँच्न नसक्ने दलले जादूगरी सिटले मात्र सत्ता कब्जा गर्छु भन्नु कति युक्ति संगत हुन्छ ? एकपटक सत्तो सराप छोडेर आत्म समीक्षामा लाग्ने हो कि ? चेतना भया ।