© २०२३
बुटवल, १६ पुस ।
दाङ जिल्लामा केही बर्ष पहिला लोप हुने अवस्थामा रहेको थियो ‘तिल्की धान’ । १ सय ६ देखि १७० सेन्टिमिटर मात्रै अग्लो हुने यो तिल्की धान घोराही क्षेत्रमा लगाउँदै आएको भएपनि विस्तारै मानिसले खेती गर्न छाडेका थिए । भात खाने, खिरमा प्रयोग हुने यो धानको बाला साना तर स्वाद भने मिठो हुन्छ ।
यसरी जिल्लामा रहेको कृषि ज्ञान केन्द्र र प्रदेश सरकारको पहलमा रैथाने-स्थानीय जातको धान प्रवद्र्धनका लागि अभियान चलाएपछि पछिल्लो समयमा यसको व्यवसायिक खेती समेत हुन थालेको छ ।
प्रदेश सरकार अन्तर्गतको कृषि विकास निर्देशनालयका एक अधिकृत धानका बिया गनिरहेका छन् । १००० दाना पुरा भएपछि त्यसको तौल लिएर अनुसन्धानको लागि राख्छन्, यो उनले दोहोराउदै जाँछन् । ११ वटा स्थानबाट संकलन गरिएको स्थानीय÷रैथाने जातका धान संरक्षण, प्रर्वद्धनको लागि यसरी प्रदेशका विभिन्न जिल्लाबाट स्थानीय÷रैथाने जातका धान संकलन र त्यसको बर्गीकरण, उत्पादकत्व सहितको अध्ययनमा अहिले कृषि विकास निर्देशनालय लागिरहेको छ ।
निर्देशनालयका कृषि प्रसार निर्देशक रामप्रसाद पाण्डेका अनुसार प्रदेशको कृषि विकास निर्देशनालयले अहिले कपिलवस्तु, बार्दिया, दाङ, पाल्पा, अर्घाखाँची, नवलपरासी, गुल्मी जिल्लाबाट ११ प्रकारका स्थानीय÷रैथाने धानको नमुना संकलन गरिएको छ ।
गुल्मीको सत्यवतीमा खेती गरिँदै आएको आँप झोते धान, अर्घाखाँची जिल्लाको सन्धीखर्कबाट काँठे झिनुवा जातको धान, कपिलवस्तुको मायादेवी क्षेत्रबाट काला नमक धान, कपिलवस्तुकै मायादेवीबाट गोपालभोग धान, बर्दीयाको बाँसगढी क्षेत्रमा खेती गरिँदै आएको घिउपुरी जातको धान, दाङ जिल्लाको घोराही क्षेत्रबाट तिल्की धान, पाल्पाको माथागढी क्षेत्रमा खेती गरिँदै आएको पहेँले जातको धान, बर्दीयाँको ठाकुरबाबा क्षेत्रमा खति गरिँदै आएको रातो अनादी धान नमुनाको रूपमा संकलन गरी त्यसको अध्यायन गरिएको हो ।
यस्तै दाङको घोराही क्षेत्रमा खेती गरिदै आएको सिम्थारो धान, नवलपरासी जिल्लाको सुनवल क्षेत्रबाट सेतो अनादी धान, धुर्कोट गुल्मीबाट हंशराज धानको नमुना संकलन गरि त्यसको प्रवद्र्धनको लागि योजना बनाइएको कृषि विकास निर्देशनालय बुटवलका महानिर्देशक याम नारायण देवकोटाले जानकारी दिए ।
अहिले नमुनको रूपमा संकलन गरिएका धान स्थानीय-रैथाने जातका धान हुन ।
लामो समय देखि किसानले खेती गरि सोही धानलाई बीउको रूपमा राखेर खेती गर्दै आएका छन् । लोप हुने अवस्थामा रहेको धानको संम्बर्धन, प्रवद्र्धनको लागि आगामी दिनमा योजना बनाउनको लागि स सहज हुने महानिर्देशक देवकोटा बताउँछन् । ११ स्थानबाट संकलन गरिएको स्थानीय-रैैथाने धानको जात लामो समय देखि भातको रूपमा, खिर खना, चिचर बनाउन, भुजा, सेलरोटी, लट्टे, खाजा, चाम्रे, भक्का समेत बनाउनको लागि प्रयोग हुँदै आएका छन् ।
कालानामक धान रूपन्देहीको मर्चवारी, सम्मरीमाइ, लुम्बिनी सास्कृतिक नगरपालिका क्षेत्रमा केही बर्ष पहिला व्यवसायीक रूपमा खेती गरिदै आएको पाईन्छ । कालानमक चामल मानव स्वास्थ्यका लागि उत्तम आहार मानिन्छ । यसलाई भगवान् बुद्धको भोजनका रूपमा प्रयोग भएको मान्यता समेत रहेको पाईन्छ । बौद्धकालीन संस्कृतिसँग जोडिएको कालानमक लोप हुन लागेको भन्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका यसको व्यवसायीक उत्पादनमा समेत जोड दिइएको छ ।
यसको उत्पादकत्व कम तर बजारमूल्य बढी छ । अन्य धान प्रतिहेक्टर चार मेट्रिक टन उत्पादन हुँदा कालानमक २.१ मेट्रिक टन मात्रै हुन्छ । तर चामल बिक्रीमा भने किसानलाई बराबरीको लाभ छ । अन्य चामलको भन्दा यो तीन गुणा बढी मूल्यमा बिक्री हुन्छ । अहिले यसको बजार मूल्य प्रतिकेजी एक सय ६० देखि एक सय ८० रूपैयाँसम्म पर्दछ । पछिल्लो समयमा कालानमक चामलको ‘प्याकेजिङ’ र ‘ब्रान्डिङ’ गरिरहेको समेत गरिएको छ । खाँदा नरम, स्वादिलो र मगमग बास्ना दिने कालानमक मानव स्वास्थ्यका लागि असाध्यै पोषिलो मानिन्छ । चामलमा पोटासियम, प्रोटिन, फाइबर, भिटामिन बी, आइरन र एन्टीअसिक्डेन्टको मात्रा बढी हुन्छ ।
दाङ जिल्लामा पुरानो रैथाने-स्थानीय जातको रूपमा रहेको तिल्की धानको व्यवसायिक खेती गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा रहेको गन्यारी कृषि सहकारी संस्था लिमिटेडमा सामूहिक तिल्की खेती गरेर आम्दानी गर्दै आएका छन् । सहकारीले प्रतिकट्ठा र तीन हजार वार्षिक भाडा दिने सर्तमा ३५ कट्ठा जमिन लिएको छ । सोही जमिनमा गत वर्षदेखि सहकारीले तिल्की धानखेती गरेको थियो । गत वर्ष फलेको ५५ क्विन्टल धानमध्ये ५० क्विन्टल बिक्री गरेर गत वर्ष चार लाख आम्दानी भएको सहकारीले जनाएको छ । चामल ‘ब्रान्डिङ’ गरेर लोगो राख्न पाए बिक्री गर्न सजिलो हुने उनको भनाइ छ । वडा र तुलसीपुर उपमहानगरपालिकासँग प्रशोधन तथा बजारीकरणको माग गरेको छ ।