काठमाण्डौ।
सन् २०२४ मा नेपालमा ११ लाख ४७ हजार २४ जना विदेशी पर्यटकहरूको आगमन भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार यो वर्षको तथ्याङ्क अनुसार, हालसम्मको पर्यटक आगमनमा १४ प्रतिशतभन्दा बढीको वृद्धी देखिएको छ।
बोर्डका निर्देशक मणिराज लामिछानेले भने, “दैनिक सरदर तीन हजार जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।” उनले थपे, “यो अघिल्लो वर्ष २०२३ को तुलनामा पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको छ।”
कोरोना महामारीपछि नेपाल भ्रमण गर्ने पर्यटकको संख्या यो वर्ष पहिलोपटक ठूलो मात्रामा बढेको हो। सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएका थिए, जबकि २०२० देखि २०२२ सम्म पर्यटक आगमनमा उल्लेखनीय गिरावट थियो।
राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (यूएनडब्लुटीओ) को पछिल्लो ६ महिनाको तथ्याङ्कअनुसार, कोभिड–१९ पछि नेपालको पर्यटन क्षेत्र ९६ प्रतिशतले पुनः जागृत भएको छ।
नेपालमा आयोजित विभिन्न कार्यक्रमहरू जस्तै नेपाल प्रिमियर लिग (एनपीएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सव, साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शनीहरूले पनि पर्यटक आगमनमा वृद्धि भएको जनाइएको छ।