Butwal Today
२१ औ माछापुच्छ्रे बैक पोखरा ओपन तथा भेट्रान्स लन टेनिस प्रतियोगिता २०८१

सम्राट हाडा र सुनिरा थापा बने च्याम्पियन

१६ पुष २०८१, मंगलवार
अ+
अ-

बुटवल, १६ पुस । पोखरामा सम्पन्न २१ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा आरव सम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न मेन्स सिगलमा आरव सम्राट हाडाले प्रनव मानन्धर र वुमन्स सिगलमा सुनिरा थापाले सलोनी तामाङलाई पराजित गर्दै च्याम्पियन बनेका हुन् । विजेता दुबैले नगद रु ८०/८० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।

फाइनलमा आरवले प्रनवलाई ६–१, ६–१ अंक र सुनिराले सलोनीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे । उपविजेताले जनही नगद रु ४०/४० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाए । यस्तै ३५ वर्ष माथीको सिंगल्समा पूर्व नं १ जितेन्द्र परियारले प्रतिद्वन्दी सन्तोष खत्रीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएका छन् । जितेन्द्रले नगद ६० हजार रुपैया तथा उपविजेता सन्तोषले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।

यसैगरि ४५ वर्ष माथीको सिंगल्स फाइनलमा कमल भण्डारी बिजेता बनेका छन् । उनले फाईनलमा रोहित सुनुवारलाई ६–०, ६–२ ले पराजित गरे । बिजेताले नगद ४० हजार तथा उपबिजेता रोहितले २० हजारसहित ट्रफि प्राप्त गरे । यसैगरि ५५ वर्ष माथीको फाइनलमा चन्द्र शाही बिजयी भए । उनले जिवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरे । चन्द्रले नगद ३० हजार उपबिजेता जिवनले १५ हजार नगदसहित ट्रफि प्राप्त गरे ।

बिजेता खेलाडीहरुलाई माछापुच्छ्रे बैंकका संस्थापक तथा केसी ग्रुपका डाइरेक्टर किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ प्रतियोगिताका प्रायोजक संस्थाका प्रतिनिधीहरु, संघका अध्यक्ष राजकुमार गुरुङ (राजु), प्रतियोगिताका संयोजक नविन चालिसे, संघका कोषाध्यक्ष विष्णु बहादुर थापा, सचिव भिष्मराज पौडेललगायतले नगद तथा ट्रफी वितरण गरेका थिए ।

पौष ११ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १ सय ४० भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले बताए । यसै बिच प्रतियोगितामा बिजेता भेट्रान्स खेलाडीहरुले प्रतियोगितामा बल बायका रुपमा खटिएका युवा खेलाडीहरुलाई आफुले प्राप्त पुरस्कार राशी हस्तान्तरण गरेका छन् । नगद सहयोग हस्तान्तरण गर्नेहरुमा उत्तम कुमार शेर्पा, जित प्रधानले समान नगद रु १०–१० हजार, हेमराज ढकालले १० हजार, मनोज राणाले ७ हजार ५ सय तथा जोलि टार्जनले २ हजार ५ सय जुनियर टेनिस खेलाडी सन्दीप बिकलाई प्रदान गरे । प्रतियोगितामा ‘खेल्छ गण्डकी’ कार्यक्रम अन्तर्गतका १२ जना खेलाडीहरु बल व्वाईको रुपमा खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?