© २०२३
आफ्नो क्षेत्राधिकारभित्रको तालतलैया संरक्षण गर्ने अधिकार सम्वन्धित पालिकाहरूले पाएपनि वेवास्ता गर्दा अधिकांश तालतलैया पुरिँदै गएका छन् । प्रदेशका केही पालिकाहरूले ताल तलैया र सिमसार क्षेत्रको संरक्षणमा चासो पनि दिएका छन र काम समेत सुरु गरेका छन । तर, केही पालिकाले भने तालतलैया पुरिँदै र लोप हुँदै जाँदा समेत चासो देखाएका छैनन् । लुम्बिनी प्रदेश सरकारले समेत प्रदेशका तालतलैया संरक्षण गर्न हरेक बर्ष बजेट विनियोजन गर्दै आएको छ । प्रदेशले चासो दिएपनि सम्वन्धित क्षेत्रमा रहेका पालिकाहरूले चासो नदिने हो भने प्रदेशको बजेट सहीरूपमा कार्यान्वयन हुन नसक्ने अवस्था देखिएको छ । लुम्बिनी प्रदेशमा दर्जनौं त्यस्ता ऐतिहासिक तालतलैया छन, जो लोप हुँदै गएका छन । तालतलैया संरक्षण गर्नेतर्फ न त संघीय सरकार, न प्रदेश सरकार र न त पालिकाहरूले नै अहिलेसम्म भित्री तहबाट चासो देखाएका छन । औपचारिकताका लागि बजेट विनियोजन गर्ने, संरक्षणका नाममा खर्च गर्ने र पछि फर्केर पनि नहेर्ने प्रवृत्तिले सरकारी पैसाको दुरूपयोग बढिरहेको छ । प्रदेश सरकारकै पहलमा कपिलबस्तुको महाराजगञ्ज भिल्मीमा रहेको ऐतिहासिक अजिगरा ताल संरक्षणको पहल भएको थियो । अहिले भने प्रदेश सरकारको वेवास्तापछि ताल अभिभावकविहीनजस्तै बनेको छ । यसैगरी पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको पाल्हिनन्दन ताल पनि अहिले पहिचान गर्नै समस्या पर्ने अवस्था छ । ताल सुक्दै गएपछि स्थानीय बासिन्दाले घाँस र बुट्यान काटेर खेती गरेका छन् । यो ताल पहिले सय बिगाहामा फैलिएको थियो । अहिले लोप हुँदै गएको छ । पाल्पा तानसेनको प्रभास तालको अवस्था पनि त्यस्तै छ । त्यहाँ घर ठडिँदै छन् । प्रभास क्षेत्रलाई मनमोहक बनाउने उक्त ताल घटेर पोखरीमा परिणत हुने क्रममा छ । राष्ट्रिय ताल संरक्षण विकास समितिले सन् २०२१ मा प्रकाशन गरेको प्रतिवेदन अनुसार सन् १९९२ यताका २०÷२२ वर्षमा लुम्बिनी प्रदेशका मधेसका जिल्लामा १०४४ वटा ताल मासिएका छन् । नेपालभरमै सबैभन्दा बढी ताल मासिएको जिल्ला कपिलबस्तु यही प्रदेशमा पर्दछ । त्यहाँ सो अवधिमा कपिलबस्तुमा ३२७ वटा ताल मासिएका थिए । नवलपरासीकै पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ को ८२ बिगाहा नामको अर्काे तालको पनि नाम निशाना नै छैन् । ताल क्षेत्रमा स्थानीय बासिन्दाले खेतीवाली लगाइरहेका छन् । बिडम्वना के छ भने बचेका तालहरू पनि खुम्चिँदै र मासिँदै गएका छन् ।
रूपन्देहीमा रहेको ऐतिहासिक गैडहवा र दानापुर तालको संरक्षण गरिएपनि कछुवा गतिको संरक्षणले पर्यटक आकर्षित गर्ने अवस्था छैन । गैडहवा गाउँपालिकामा रहेको गैडहवा ताल र कञ्चन गाउँपालिकामा रहेको दानापुर तालको संरक्षणका लागि पालिकाले चासो दिएका छन तर बजेटको अभावमा बर्षेनी गरिने संरक्षणको कामले तालको विकासले खासै गति लिएको छैन । पिकनिक खाने स्थलको रूपमा ख्याती कमाएको दानापुर तालले अहिले चरा अवलोकन तथा तालमा डुङ्गा खियाउन जान्ने पर्यटकहरूका लागि महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ । उक्त तालको अवलोकन तथा स्थानीय चराहरूको दृष्यावलोकन तथा घुमफिर गर्न भनेरै दैनिक दुईसय बढीको संख्यामा पर्यटकहरू आउने गरेका छन ।
दानापुर ताल पर्यावरणीय हिसावले निकै महत्वपूर्ण रहेको र सिमसार क्षेत्र समेत भएकाले कैयौ प्रजातिका चराहरूको वसोवास रहेको स्थानका रूपमा परिचित छ । ९२ बिगाहा क्षेत्रफलमा फैलिएको तालमा स्थानीय लोकल माछाहरू पाइनुका साथै बोटिङ गरेर पर्यटकहरूले दृष्यावलोकन गर्ने गरेका छन । तर अहिले उक्त ताल फोहरले भरिएको छ । तालतलैया संरक्षण गरिएमात्रै जैविक विविधता संरक्षणमा सहयोग पुग्छ । तसर्थ प्रदेश सरकार र स्थानीय पालिकाहरूले यो क्षेत्रमा चासो दिएर काम अघि बढाउनु आवश्यक छ । निश्चितरूपमा सिमसारको हिसावले समेत महत्वपूर्ण रहेका तालतलैयाको संरक्षणमात्रै होइन, त्यहाँ पाइने जलचरको पनि उचित संरक्षण गर्नु जरुरी छ । त्यसमा स्थानीय पालिकाहरूको सवैभन्दा बढी ध्यान पुग्नु जरुरी छ ।