© २०२३
काठमाडौं।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सिङ्गो ध्यान २०८४ को निर्वाचनमा केन्द्रित भएको बताएका छन् ।
नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले नेकपा एमालेको नीतिलाई राष्ट्रको नीति बनाएर एमालेको एकल बहुमतको सरकार बनाउने अबको मिसन रहेको बताए । एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशको विकासले गति नलिने उनकाे दावी छ ।
‘नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने कुरा नै अबको हाम्रो मिसन हो, एउटा पार्टीको बहुमतको सरकार नबनी देश बन्दैन’, उनले भने । मिसन २०८४ नेकपा एमालेको लागि अवसर भएको उनकाे भनाइ छ । यो मिसन पुरा गर्न त्यति सजिलो नभए पनि एमालले मिसन २०८४ मा आफूलाई निर्णायक शक्ति बनाउने सङ्कल्प गरेको पोखरेलको भनाइ छ ।
सिङ्गो देशलाई बलियो बनाउने बेलामा क्षेत्रीय पार्टीमा मत विभाजन हुनु नहुने उनले जनाए । जनमतलाई एकीकृत गरेर बलियो राष्ट्रिय शक्ति नबन्दासम्म देश नबन्ने बताउँदै उनले भने, ‘अब हाम्रो जनमत नानाभाँतिका राजनीतिक दलमा विभाजित गर्ने होइन, बलियो राजनीतिक शक्ति निर्माण गर्ने कुरामा केन्द्रित हुनुपर्दछ ।’
गरिबी माथिको भद्दा मजाक अब राजनीतिको खेलो फड्को बन्न नहुनेमा पोखरेलले जोड दिए । समाजवादको बाटोमा अघि बढ्ने हो भने अब धेरै पार्टी होइन बलिया राजनीतिक दल आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘अब एमालेको विकल्प छैन भन्ने कुरा हरेक तथ्य प्रमाणले पुष्टि गरेको छ’, उनले भने ।
नेकपा एमालेलाई कमजोर बनाउन अनेक खालका षडयन्त्र भएका बताउँदै पोखरेलले एमालेलाई कमजोर बनाउने अन्तिम हतियारको रूपमा साइवर आक्रमण भइरहेको जनाए । यसलाई चिरेर अघि बढ्न सके अब एमालेलाई कसैले कमजोर बनाउन नसक्ने उनकाे भनाइ रहेकाे छ ।