© २०२३
बुटवल, १३ पुस ।
रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ६ मा रहेको सरनबारीमा गरिएको व्यवसायिक सीमी खेतीले कृषि क्षेत्रका खोज अनुसन्धानकर्ताका लागि चुनौति दिएको छ । स्थानीयले २०४२ सालदेखि एउटै सीमी प्रयोग गर्दै आएका छन् । जसमा न त कुनै किरा लाग्छ नत कुनै रोग । किसानले निरन्तर सोही बोटको बीऊबाट आम्दानी गर्दै आएका हुन ।
कृषिका कुनै पनि बीउ प्रयोग गरेपछि कम्तीमा पनि ३ बर्षपछि बीउ प्रतिस्थापन गर्नुपर्ने हुन्छ तर सरनवारीका किसानहरूले २०४२ सालदेखि एउटै बीउ प्रयोग गरी सीमी उत्पादन गर्दै आएका हुन । लौरे सीमी नाम दिइएको यो क्षेत्रका तीन गाउँ नै सिंगो तरकारी खेतीमा छन् । वातावरणीय हिसाबले समेत अनुकुल भएको कारण किसानले उत्पादन गर्दै आएको सीमीमा कुनै पनि रोग, किरा वा समस्या आउन नगरेको स्थानीय सरनकाली सहकारीका अध्यक्ष समेत रहेका किसान मानबहादुर गाहा बताउँछन् । उनका अनुसार २०४२ सालमा स्थानीयले घरमा राखेको बीऊबाट सोही बीउको स्रोत बीउको रूपमा प्रयोग गर्दै आएका छन् । किसानले खेतबारीमा रोपेको सीमीबाट राम्रो राम्रो बीउ छनौट गरी त्यहिलाई अर्को बर्ष प्रयोग गर्ने गरी राख्दै आएका छन् । अर्को बर्ष पनि सोही प्रक्रिया दोहाराउँदै आएका छन् । सरनबारीमा १६० घरधुरी छन् । गाउँभरिको जनसंख्या ६३५ मात्रै छ । यहांका बासिन्दाको न्यूनतम ५ कठ्ठादेखि डेढ बिघासम्म खेत छ ।
कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख शिव प्रसाद अर्यालयका अनुसार सामान्य तया बिऊको प्रतिस्थापन दर ३ बर्षमा एक पटक अनिवार्य छ । तर सरनबारीको क्षेत्रमा भने ३९ बर्ष देखि नै किसानहरूले एउटै बीऊ प्रयोग गर्दै आउनु आफैमा खोजको विषय भएको बताउँछन् । यो विषयमा अनुसन्धान समेत गर्नुपर्ने उनको भनाई छ । उनी भन्छन्–‘यहाँ प्रयोग गरिएको बीउ एक अर्कोमा मिसावट भएको छ, तर पनि उत्पादन बर्षौदेखि नै समान रूपमा भैरहेको छ, यो एउटा खोजको विषय पनि हो ।’
२०६५ सालदेखि अर्गानिक जोन बनाउने गरी अभियान सुरुवात गरिएको जानकारी दिँदै सरनकाली कृषि सहकारीका महासचिव धन बहादुर रानाले अर्गानिक पकेट निर्माणको लागि प्रयास जारी रहेपनि हालसम्म पनि प्रमाणीकरण नभएको बताए । उनले किसानले गर्ने खेतीमा कुनै पनि रसायनिक मल, विषादी को प्रयोग हुँदैन तर पनि सरकारी निकायबाट यसको प्रमाणीकरण नभएको उनको गुनासो छ ।
अर्गानिक फोकल पर्सन तथा कृषि ज्ञान केन्द्र रूपन्देहीका बरिष्ठ कृषि प्रसार अधिकृत अनिल कुमार बनियाँका अनुसार अर्गानिक पकेट क्षेत्र घोषणाको लागि कम्तीमा पनि ३ बर्ष सम्म उक्त स्थानमा कुनै पनि विषादी, रसायनीक मल प्रयोग भएको हुनु हँुदैन, यसको साथै प्रयोग गरिने बीऊ पनि रसायनीक रूपमा परिक्षण गरिएको वा शुद्धिकरण गरिएको हुनु हुँदैन, तब मात्रै अर्गानिक क्षेत्र घोषणा तथा प्रमाणीकरण गर्न सकिने जानकारी दिए । उनका अनुसार यसको लागि स्थानीय सहकारी वा संघ संस्थाको सहयकोगमा विषादी नभएको प्रमाणीत वा विषादी रहित उत्पादन भने घोषणा गर्न सकिने जनाकारी दिए । उनल भने–‘यसको लागि विषादी नभएको घोषणा गर्न सक्छ, जसमा बाली अनुसार गर्न सकिन्छ ।”
सरनबारी क्षेत्रमा रहेका ३ वटा गाउँमा तत्कालिन जिल्ला कृषि विकास कार्यालय हुँदा सिंचाईंको लागि कुलो निर्माण सहितका केही संरचना तयार भएका छन् । जसमा अहिले मर्मत संहार सहितको काम आवश्यक रहेको छ । तत्कालिन अवस्थामा निर्माण भएको कृषि संकलन केन्द्र पनि अहिले चालु अवस्थामा रहेको छ ।
देवदह नगरपालिकामा निर्माण गरिएको कोशेली घरमा पनि सरनवारीको तरकारी बिक्री गर्ने स्थान बनाउनको लागि पालिकाले केही सटर किसानलाई उपलब्ध गराउने गरी राखेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा बताउँछन् ।
उनीहरूले धान सहित सबै खेतीमा रासायनिक मलको प्रयोग गर्दैनन् । प्रांगारिक मल मात्रै प्रयोग गर्छन् । यो वर्ष सरनबारी गाउँका किसानले करिब ८ करोड रूपैयाँको सिमी बिक्री गरेका छन् ।
प्रांगारिक भएकाले सजिलै विक्री हुने भएकाले बुटवलका थोक तरकारी ब्यापारीहरू गाडी लिएर शरनबारीमा घर घरमा सिमी खरिद गर्ने गरेका छन् । सिमीलाई बेमौसममा पनि विक्रि गर्न सकिन्छ कि भनेर परीक्षण गर्न यो वर्ष १० क्वीन्टल सिमी प्रति केजी ५० रूपैयाँमा खरिद गरेर नगरपालिकाले चिस्यान केन्द्रमा राखेको र सफल भए नगरमै चिस्यान केन्द्र बनाउने सोंचमा रहेको नगरपालिका प्रमुख धुब्र खरेल बताउँछन् ।
किसानहरूले सरनवारीमा उत्पादन भएको सीमी लागयतका अन्य तरकारी बिक्रीको लागि पालिका वा प्रदेश सरकार अन्र्तगत ढुवानीको साधन माग गरेका छन् ।
ढुवानीको साधन मार्फत खगरिद गरिएको सामान प्रत्यक्ष रूपमा बजारमा विक्रि गर्न पाउँदा किसानले बढि लाभ लिने भएको कारण सोही अनुसार माग गरिएको सहकारीका अध्यक्ष मान बहादुर रानाको भनाई रहेको छ । उनी भन्छन्–‘हामीले लगेर बजारमा आफै विक्रि गर्न पाईयो भने केही भएपनि थप रकम किसानले पाउने थियौं, यसमा माग गरेका छौं ।’