© २०२३
आज राष्ट्रिय भुकम्प सुरक्षा दिवस । यो दिवस मनाउँदै गर्दा पश्चिम नेपालमा दिनहुँजसो भुकम्पको धक्का महसुस भैरहेको छ । लगातार गैरहेको भुकम्पले केही क्षति भने गरेको छैन तर बैज्ञानिकहरूले पश्चिम नेपालमा ठूलो भुकम्पको संभावना रहेको भन्दै सतर्क गराईरहेकोले भुकम्पबाट जोगिन पूर्व तयारी भने गर्नैपर्ने आवश्यकता महसुस भएको छ । भुकम्पबाट बच्न भवन निर्माण मापदण्ड पालना गर्ने प्रचलन बढेको छ । पालिकाहरूले पनि पछिल्लोसमय भुकम्प प्रतिरोधी घर निर्माणलाई अनिवार्य गराएका छन् । तर, पनि जोखिम अझै कायमै छ । ठूलो भुकम्प गएको अवस्थामा भुकम्पविरोधी घरले समेत धान्न नसक्ने अवस्था आउन सक्छ । त्यो बेला के गर्ने ? सोचनीय बिषय छ । अतः भुकम्प सुरक्षा दिवस मनाउँदै गर्दा आम नेपाली नागरिकलाई भुकम्पबाट बच्ने बिषयमा सचेत वनाउनुपर्ने खाँचो छ । आज जाजरकोट भुकम्पको दुई बर्ष भैसकेको छ । २०७२ सालको भुकम्प पनि ९ बर्ष भैसकेको छ । तसर्थ एकपटक भुकम्पको सुरक्षाका बिषयमा गंभीररूपमा बहस गर्नुपर्ने संघारमा मुलुक आईपुगेको छ । यो आवश्यकता पनि हो । आज भन्नैपर्दछ– जाजरकोट भुकम्पको घाउ अझै पुरिएको छैन । पीडितहरू अझै अस्थायी आवासमा बस्न विवस छन । त्यसो त नेपालमा २०७२ सालमा आएको भुकम्पपछि जनतामा केही जागरण अवश्य आएको छ । भुकम्पपछि मापदण्ड अनुसारको घर निर्माण गर्ने क्रम बढेको छ । यद्यपि नेपाल अहिलेपनि भुकम्पीय जोखिमका हिसावले अत्यन्त जोखिममा पर्दछ । भुकम्प आएपनि त्यसबाट बच्ने उपाय र आधारका रूपमा हामीसंग सशक्त पूर्वाधार छैन । भुकम्पको चुनौतिकै कुरा गर्दा अहिलेपनि नेपाल उच्च चुनौतिको माझमा छ । अर्को गंभीर कुरा के छ भने नेपालको पश्चिम क्षेत्र भुकम्पीय जोखिमका हिसावले अत्यन्त सम्बेदनशील मानिएको छ । तसर्थ यस क्षेत्रका जनताले भुकम्पीय सुरक्षाका सवै संयन्त्र प्रयोग गर्नु जरुरी छ । भुकम्प कहिले आउँछ भन्ने कुनै निश्चित नभएपनि त्यसबाट जोगिनको लागि पूर्व सचेतना आवश्यक रहेकोमा भने भुकम्पवीदहरूले सचेत गराएका छन् । त्यसैपनि पश्चिम नेपालमा लगातार भुकम्पको धक्का महसुस भैरहेकोले आम नागरिकमा भुकम्पबाट बच्ने उपायको सुरक्षाको बिषयमा सचेत बन्नुपर्ने आवश्यकता छ ।
नेपालमा अहिलेसम्मको सवैभन्दा ठूलो भुकम्पको रूपमा वि.सं. १९९० सालको भुकम्पलाई लिने गरिएको छ । माघ २ गते गएको उक्त भुकम्पको सम्झनामा भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । त्यसयता पनि सयौंपटक भुकम्प गईसकेको छ । २०४६ सालमा पनि ठूलो भुकम्प गएको थियो । खासगरी पूर्वी क्षेत्रमा त्यसले नोक्सानी गरेको थियो । ९ बर्षअघि २०७२ साल बैशाख १२ गते गएको भुकम्पले पु¥याएको त्रासदीले नेपालीलाई अहिलेसम्म पनि पीडा दिईरहेको छ । भुकम्पकै सन्दर्भमा नेपालले भुकम्पवाट आम नागरिकलाई बचाउन पर्याप्त सुरक्षा व्यवस्था गर्न सकेको छैन । बर्षको एकपटक भुकम्प दिवसको दिन खुबै नारा लगाउने काम हुन्छ तर, अव केवल नाराले मात्रै दिवसको सार्थकता खोजेर हुँदैन । अव भुकम्पको पूर्व तयारी, जोखिमबाट बच्ने उपाय, उद्धारका सामाग्रीहरूको व्यवस्थापन गर्ने बिषयमा ध्यान दिनु जरुरी छ । दुई बर्षअघि जाजरकोट भुकम्पले दिएको पीडा र घाउ अझै पुरिएको छैन । अव अर्को भुकम्पको त्रासदी सुरु भैसकेको छ । अतः अव भुकम्पबाट हरेक पल सचेत बन्नुपर्ने बेला आएको छ । भुकम्पबाट बच्न भुकम्प प्रतिरोधी घर निर्माणमा जोड दिऔं । संघीय सरकारको मात्रै यो जिम्मेवारी होइन, प्रदेश सरकार र पालिकाहरूले पनि आ–आफ्नो क्षेत्रका नागरिकलाई भुकम्प गएको अवस्थामा बच्न सकिने सावधानीका बिषयमा सचेत बनाउनु जरुरी छ । भुकम्प गएपछिको अवस्थामा आवश्यक सामाग्रीको व्यवस्था गर्नेतर्फ अहिलेदेखि नै ध्यान पु¥याऔं ।