© २०२३
मुलुक बनाउनका लागि धेरै चिजविज थुपार्नु भन्दा एउटा कुरा मनामा संकल्पका साथ लिने हो भने सार्थक रूप लिन सक्छ । त्यो भनेको दृढ इच्छा शक्ति हो । मनमा सबैभन्दा पहिले म यो गर्छु र यो गर्दैन भनेर दृढ अठोट लिने हो भने मुलुक बन्न धेरै समय लाग्दैन । अहिलेसम्म हाम्रो मुलुकम कमी देखिएको यही कुरा हो । यो कुरा सर्वसाधारण नागरिकको अठोटले हुँदैन । जसले राज्य सञ्चालनको जिम्मेवारी लिएर अगाडि बढनु भएको छ, उहाँहरूको मन मस्तिष्कमा यो कुरा जागृत हुनुपर्दछ । दृढशक्ति जागृत नभएसम्म आवरणले मात्र केही फरक हुनेछैन । कसरी आउँछ जागरण ? पहिले यसको सुत्र जान्नुपर्दछ । मनमा जागरण आउनका लागि दिलैदेखि राष्ट्र र जनताप्रति समर्पित हुनु पर्दछ । समर्पित भन्ने कुरा कुनै देखावटीले हुँदैन । अरूले पनि अनुभूत गर्ने खालको हुनुपर्दछ । केही परिवर्तनको संघार नाघेको हुनुपर्दछ । हिम्मतिलो स्वभाव हुनुपर्दछ । वास्तवमा समर्पणका निम्ति केही त्याग गर्नसक्नु पर्दछ । त्यागभित्र पहिलो त लोभ, लालच, मोह, नाताबाद, कृपावादबाट टाढा हुुनुपर्दछ । मोह भित्रपनि धनको मोहले छिटो असर गर्दछ । धनको प्रयोग त गर्नुपर्दछ । पहिलो राज्यका निम्ति त्यो पनि उचित स्थानमा । दोस्रो राज्यको ढुकुटी आफूले उपयोग गर्ने भए वैधानिक रूपले र आवश्यक्ता भएजति मात्र ग्रहण गर्ने हो भने लोभ मोह त्याग भएको देखिन्छ । नातावाद वा फरियावादमा नफस्ने हो भने दिलैदेखि राज्य र जनताप्रति समर्पित हुन सकिन्छ । यस्ता त्यागी व्यक्तिहरू विदेशी मुलुकमा र हाम्रै मुलुकमा पनि पाउन सकिन्छ । त्यो हेर्नका लागि पनि आफ्नो दृष्टि सफा हुनुपर्दछ । दृष्टि र दृष्टिकोणमा केही फरक छ । दृष्टि सिधा हेर्नु वा देख्नु भन्ने बुझिन्छ भने दृष्टिकोण भनेको विचार हो । विषयमा प्रतिपादित कसैको मन वा आफ्नो चिन्तनबाट बनेको राय पनि दृष्टकोण हो । विचारलाई पनि हेर्न वा दृष्टि दिन सक्नुपर्दछ । सही विचार छ तर हामीले राम्रो दृष्टिले हेर्न सकेनौ भने त्यसबाट राम्रो विचार पनि ग्रहण गर्न सकिदैन । विचार बुझ्नका लागि पनि दृष्टि अर्थात हेराइ सहजहुनु पर्दछ । हामी संगसंगै वा हामी भन्दा केही पछि स्वतन्त्र भएका मुलुकले आज कति के गरे ? ब्रह्माण्ड नै पिइ सके, हामीले अहिलेसम्म दलका नाममा र बलका नाममा आली नाघ्न सकेका छैनौ । हुन त भन्नका लागि हामीले २००७ साल यता धेरै फट्को मारेका छौं भनिन्छ तर फट्को मारेको कुराको प्रभाव त हाम्रो घर आँगनमा, हाम्रा खेतबारी वा भान्सामा र सडक तथा मैदानमा देखिनुपर्दछ । आम नागरिकको शरीरमा न्यानो तातो पनि पुगेको छैन । भान्सामा पुग्नुपर्ने जति तत्व पुगेको छैन । जनशक्ति उत्पादन गर्ने शिक्षालय छैनन् । नीति अपुरो छ । परम्परागत खेती प्रणाली छ । विदेशबाट मल बीउ तथा औजार ल्याउनु परेको छ । त्यही खेतबारीका निम्ति चाहिने मल तथा किटनाशक पदार्थ विदेशीको भरमा पर्नुपरेको छ । हाम्रा कुलानाला फेरिएको छैनन् । बाटोघाटो पुल पुलेसा फेरिनु पर्ने जति फेरिएको छैन र नयाँ निर्माण हुनु पर्ने ठाउँमा पनि निर्माण भएको छैनन् भने हामीले कहाँ के फड्को मारेको संकेत भयो त ?
बाटो र साधन उपयोगको नाममा हामीले विदेशमा निर्माण भएका विभिन्न साधन खरिद र प्रयोग गरेका छौं । त्यसलाई सामान्य मर्मत गर्नुपरेमा विदेशबाट त्यही जनशक्ति झिकाउनु पर्दछ भने अरू कुरा छोडौं अहिलेपनि हामीले टमाटर र प्याज समेत आफू पुग्दो उत्पादन गर्न सकेका छैनौं । ठूलो मल कारखानाको कुरा किन गर्नु र ? भएका कारखाना बेचेर खायौं । मुलुकमा परिवर्तन आएको त छ तर जुन ठाउँमा परिवर्तन आएको छ त्यही कुरा उठाउँदा पछाडि परिने डर पनि छ । परिवर्तन आएको ठाउँ भनेको राज्य सञ्चालकको गोजीमामात्र हो भन्ने गरिन्छ । यस कुरामा धेरै विश्वास त लाग्दैन तर अधिकांशको जीवनशैली देख्दा होइन भन्ने ठाउँ पनि रहँदैन । यो जीवनशैली फेरिएको केही वर्षमात्र भयो । यसलाई विकास वा निर्माण भनिदो रहेनछ र यसले आम नागरिकका समस्यालाई समाधान गर्न सक्दो रहेनछ । हाम्रा समस्या अनगिन्ति छन् । जुन जायज पनि छन् । जता फर्केर हेरे पनि आशाको दियो बलेको देखिदैन, जुन यथा समयमा देखिनुपर्ने थियो । हुन त हामीले जे जति उपलब्धि पाएका छौं यसैलाई विश्लेषण गर्ने हो भने राम्रो छ, धेरै भयो, सन्तोष गर्ने ठाउँ छ भनिएला तर जता फर्केर हेरेपनि नेपालीले चाहना गरेको चित्र देखिदैन भन्नेहरू अत्यधिक छन् । यो समस्या एउटा प्रदेशमा मात्र होइन । हाम्रा सातै प्रदेशमा र हिमाली पहाडी र तराइ प्रदेशमा यही चित्र देख्न र सुन्न पाइन्छ ।
आज धेरै नागरिकमा व्यवस्थाप्रति वितृष्णा आएको भन्ने हल्ला चलाईएको छ । यो पंक्तिकारले पनि त्यो हल्ला धेरैका मुखबाट प्रसस्त सुनेको छ । सत्यताको वारेमा चिन्तन गर्न बाँकी छ । यो हल्ला नचल्नु पर्ने हो । यो व्यवस्था राणा शासन जस्तो या पञ्चायती व्यवस्था जस्तो व्यवस्था होइन । राणाहरूको जहानीया शासन व्यवस्था जंगबहादुरको चलाखीले ल्याएको शासन थियो । यो जनताले युद्ध गरेर वा जनआन्दोलको बलमा आएको व्यवस्था थिएन । यस्तै पञ्चायती व्यवस्था पनि जनताले आन्दोलन गरेर जनयुद्धबाट ल्याएको व्यवस्था होइन । र यी दुबै शासन जन अनुमोदित पनि होइनन् । जनताको संलग्नतामा ल्याइएको पनि होइन तर प्रजातन्त्र, गणतन्त्र भन्ने व्यवस्था जनताले जनयुद्ध वा जनआन्दोलको बलमा ल्याइन्छ र नेपालमा पनि त्यही जन आन्दोलनको बलमा ल्याइएको थियो । चाहे सात सालको कुरा गरौं चाहे ४६ सालको कुरा गरौं चाहे २०६२/६३ को कुरा गरौं । यी तिनवटै अवस्थामा जनता संलग्न भएर मात्र होइन जनताको रगले साटेर ल्याएको व्यवस्था हुन तर जनताको यति ठूलो मूल्यलाई पत्याउनै नहुनेगरी लत्याइयो । आजको चित्रले त्यही बोलेको छ यसकारण लत्याईएको हो भन्दा फरक पर्दैन । यसको मतलव केही भएन भन्ने होइन, जुन गतिमा हाम्रा राज्य सञ्चालकमा यति गति र लयमा अघि बढनुपर्ने थियो त्यो गतिमा जानुभएन । यसकारण देशले गति लिन सकेन भन्ने नै हो । जनताका आकांक्षा भन्दा पनि सत्ता लिप्सा र सत्ता स्वार्थमा बढता केन्दीत हुनुभयो भन्ने पनि हो । अव मिसन ८४ को कुरा गर्नुस चाहे जादुगरी सिटको कुरा गर्नुस जेगरे पनि एकपटक दृढ संकल्प गर्नुस । जसरी कुनै कर्मकाण्ड गर्ने समयमा हातमा जउ कुश र तिल लिएर मन्त्रोच्चारणका साथमा संकल्प लिइन्छ अनि कतै भूलचुक भयो कि भनेर अच्यूताय नमः भन्ने गरिन्छ र क्षमा याचना गरिन्छ त्यसैगरी नेतृत्वमा जानेहरूले एकपटक हातमा के समाएर संकल्प लिनुहुन्छ या बाचा कवोल गर्नुहुन्छ, त्यो देखाउन सक्नु भएन भने चौरासीमा न केही हात लाग्ला न जादूगरी सिट बच्न सक्ला । त्यतिवेला तपाईहरूमात्र रहनु हुनेछ । नागरिक अलग धारमा देखिनेछन् । मुलुक बनाउने हो भने यही समयमा दृढ संकल्प लिनुस् । अन्तमा यही अनुरोध छ तथा कामना छ । यो आवाज एकल होइन भन्ने बुझ्नु पर्दछ ।