© २०२३
बुटवल, १ माघ । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम मेयर कप खुला भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब ‘बि’ ले हात पारेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र मिर्मिरे युवा क्लबको आयोजनामा बंदेलपोखरी खेलमैदानमा मंगलबार फाईनलमा गोलपार्क भलिबल क्लबलाई ३–१ सेटमा पराजित गर्दै मणिमुकुन्दले उपाधि हात पारेको हो । उपाधिसंगै मणिमुकुन्द नगद १ लाख १ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता गोलपार्क भने नगद ६० हजार १ सय रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब ए लाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू होराईजन भलिबल ए तेस्रो हुन सफल भएको छ । न्यू होराईजन नगद ३० हजार १ सय नगद कप मेडल प्रमाणपत्र तथा सान्त्वना मणिमुकुन्द १५ हजार १ सय, कप मेडल प्रमाणपत्रबाट पुरस्कृत भयो ।
यसैगरि प्रतियोगितामा विधागततर्फ मणिमुकुन्दका लोकेन्द्र भण्डारी उत्कृष्ट सेटर, सौरुभ फुजेली उत्कृष्ट डिफेन्डर, गोलपार्कका दिपेन्द्र कार्की उत्कृष्ट स्पाईकर, न्यु होराईजनका प्रदिप चौधरी उत्कृष्ट ब्लकर, गोलपार्कका गजनी चौधरी उत्कृष्ट सर्भर तथा मणिमुकुन्दका रेशम बिक उत्कृष्ट खेलाडी घोषित हुदै पुरस्कृत भए ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, नगरप्रवक्ता शिव राना, वडा नं १२ का वडाअध्यक्ष डिल्ली प्रसाद शर्मा, वडा नं १३ का वडाअध्यक्ष नारायण पुन, नेपाल भलिबल संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष योग गुरुङ, रुपन्देही जिल्ला भलिबल संघका अध्यक्ष सुरेन्द्र शाक्यले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।
तीन दिनसम्म चलेको प्रतियोगितामा सहभागी आठ टिमहरुले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेको क्लबका अध्यक्ष शेरजंग गुरुङले बताउदै पर्वको रुपमा खेलकुद हुदै आएको बताए ।