© २०२३
गुल्मी, ०२ माघ ।
गुल्मीमा दिवंगत भएका राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको सम्झनामा पार्क निर्माण गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाद्वारा पुर्व सांसद स्वर्गीय रुद्रमणी शर्मा भण्डारी, पुर्व जिल्ला विकास समिति उपसभापति परमानन्द भण्डारी र पुर्व गाउँ विकास समिति अध्यक्ष टोमलाल पाण्डेको स्मृतिमा रुद्रमणी, परमानन्द, टोमलाल स्मृती पार्क निर्माण गरिएको हो ।
धुर्कोट गाउँपालिकाको ६७ लाख लागतमा वडा नं –५ स्थित बस्तुमा तीन जना सामाजिक व्यक्तित्वहरूको अर्ध कदको शालिक सहित पार्क निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।
नव निर्मित पार्कको लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन । मुख्य मन्त्री आचार्यले पछिल्लो समयमा समाजमा योगदान गरेका सामाजिक व्यक्तित्वहरूलाई विस्तारै बिर्सदै जान थालेको अबस्थामा धुर्कोट गाउँपालिकाले त्यस्ता राजनितीक एवं सामाजिक व्यक्तित्वहरूको योगदानको कदर गरेको भन्दै पालिका प्रति आभार व्यक्त गरेका थिए । उनले नवनिर्मित शालीकको अनाबरण गर्दै अग्रजहरूको त्याग र समर्पणले समाज परिवर्तनमा सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले पछिल्लो पिँढीले समाजमा योगदान गरेका व्यक्तिहरूको इतिहासलाई जीवन्त राख्न र राजनीतिमा लागेर पनि समाज परिवर्तनका लागि गरेको कामको उच्च मूल्याङ्कन गर्दै पालिकाको तर्फबाट उनीहरूको सम्झनामा पार्क निर्माण गरिएको जानकारी दिए ।
सरल स्वभाव र सादगी जीवन व्यतित गरि सामाजिक क्षेत्रमा सधै समर्पित रहनुभएका स्वर्गीय सांसद रुद्रमणी शर्मा भण्डारीको २०७५, जिविस उपसभापति परमानन्द भण्डारीको २०६६ र पुर्व गाविस अध्यक्ष पाण्डेको २०७१ सालमा असामयीक निधन भएको थियो । पालिकाले अग्रजहरूको सम्मानमा पार्क निर्माण गरेसँगै स्थानीयहरूले पनि उक्त कामको खुलेर प्रशंसा गर्न थालेको गाउँपालिका उपाध्यक्ष सिता गिरीले बताईन ।
उक्त व्यक्तिहरूले राजनीतिक जीवनमा लागेर सामाजिक रूपान्तरण तथा विकास निर्माणमा मत्वपूर्ण योगदान पुराएका थिए । कार्यक्रममा मुख्य मन्त्री आचार्यद्वारा स्वर्गीय भण्डारीद्वय र पाण्डेलाई मरणोपरान्त सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।