© २०२३
विद्यालय तहको कक्षा ९ र १० मा रजिस्ट्रेसन र परिक्षा फारम भर्दा विद्यार्थीहरूलाई सधै सास्ती हुने गर्दथ्यो । लामालामा फर्म भर्नुपर्ने, फर्म भर्दा च्यात्तिने र भरेका फर्म हराउने र परिक्षा फारम भर्दा विद्यार्थीहरूलाई निकै सास्ती हुने गथ्र्याे । अब भने विद्यार्थीहरूले कागजे फारम भर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन् । राष्ट्रिय परिक्षा बोर्डले यसै वर्षदेखि अनलाइन रजिष्ट्रेसन फारम भर्ने सुविधा दिएपछि कक्षा ९ मा रजिष्ट्रेसन फारम कक्षा १० को परिक्षा फारम भर्न विद्यार्थीलाई सहज हुने देखिएको छ ।
कक्षा ९ मा रजिष्ट्रेसन र कक्षा १० मा परिक्षा फारम अनलाइनबाट भर्ने सम्बन्धमा राष्ट्रिय परिक्षा बोर्डले सरोकारवाला व्यक्ति र निकायहरूको लागि मंगलबार बुटवलमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नम्बर ५ का शिक्षा विकास तथा समन्वय ईकाईका कम्युटर अपरेटर, प्राविधिक सहायक, परिक्षा शाखा हेर्ने कर्मचारी र राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालयका कम्प्युटर सहायकहरूको लागि आयोजित प्रशिक्षण कार्यक्रममा अनलाइन फारम भर्ने बारेमा सैद्दान्तिक जानकारी र प्राविधिक अभ्यास गराइएको थियो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै ५ नम्बर प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशक जीत बहादुर शाहले कागजी कार्य झन्झटिलो, कम सुरक्षित र परम्परागत भएकोले प्रविधिको प्रयोगले त्यसलाई विस्थापन गर्दै विद्यार्थीहरूको रेकर्ड र परिक्षा सम्बन्धी कार्यलाई भरपर्दो, सुरक्षित र सहज बनाउनुपर्ने कुरामा जोड दिए । राष्ट्रिय परिक्षा बोर्डका उप नियन्त्रक सुवास पन्तले अनलाइन रजिस्ट्रेसन प्रणालीको प्रयोगले विद्यार्थी र विद्यालयलाई सजिलो हुने र परिक्षा व्यवस्थित हुने बताए । कार्यक्रममा १० कक्षा तर्फको परीक्षाका उप नियन्त्रक सुकदेव सापकोटा, परीक्षा बोर्ड शाखा कार्यालय बुटवलका प्रमुख टिकाराम अर्याल लगायतले परिक्षा बोर्डका कार्य र परिक्षा प्रणालीको बारेमा चर्चा गरेका थिए ।
राष्ट्रिय परिक्षा बोर्डका ईन्जीनियर गोविन्द पाण्डेले अनलाइन रजिष्ट्रेसनको बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रमको संचालन परिक्षा बोर्डकी अधिकृत तारा पाण्डेले गरेकी थिइन् ।