© २०२३
महामारि बिषय लक्षित बजेट प्रदेश सरकारमै रोकिँदा स्क्रबटाइफस रोगको सूचना संकलनमै बाधा पुगेको छ । अस्पतालहरूबाट सूचना संकलन नहुँदा के कति जनालाई स्क्रबटाइफस रोग लागेको हो र रोग कुन अवस्थामा छ भन्ने बारे अन्यौलता देखिएको हो । स्वास्थ्य संस्थाको नेतृत्व गरिरहेको लुम्बिनी अञ्चल अस्पतालले बजेट नपाएपछि यसको काम कार्बाहीलाई अगाडि बढाएको छैन । अस्पतालले यस क्षेत्रका अस्पतालहरूबाट रोगबारे सूचना संकलन गर्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने र रोकथाम तथा साबधानीका उपायहरू अगाडि बढाउनु पर्ने हो तर बजेट अभावको कारण देखाउँदै उसले त्यसो गरिरहेको छैन ।
मुसामा हुने एक प्रकारको परजीविको टोकाइबाट लाग्ने स्क्रबटाइफस रोगका बिरामी बुटवलका अस्पतालहरूमा ४२ जना भेटिएका छन् भने यस रोगबाट एक जनाको मृत्यु भइसकेको छ । बुटवलका चार अस्पतालमा आएका संकाश्पद बिरामीको परीक्षण गर्दा त्यतिको संख्यामा रोगी भेटिएका हुन् । यो संख्या अझ बढी हुन सक्ने देखिएको छ । स्क्रबटाइफस रोगले महामारीको रूप लिने हो कि भन्ने संकेत देखिँदा समेत त्यसको अध्ययन र व्यवस्थापनको तयारी गरिएको छैन । महामारी रोग जस्ता कामका लागि विनियोजन बजेट प्रदेश सरकारमै रहेको हुँदा काम अगाडि बढाउन नसकिएको लुम्बिनी अञ्चल अस्पतालका मेडिकल रेकर्डर लक्ष्मीराज रेग्मी बताउँछन् । उनले उक्त रोगले साधारण अबस्थाको सीमा पार गरिसकेको बताए । अस्पतालहरूसँग पुग्ने, बैठक गरी छलफल गर्ने, सूचना संकलन गर्ने, बिश्लेषण गर्ने, कारण पहिचान गर्ने र रोकथामका लागि प्रयास गर्ने जस्ता कामका लागि विनियोजित बजेटले काम गर्ने रेग्मीको भनाइ छ ।
प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बजेट वितरण प्रक्रियाका कारण बजेट निकाशामा ढिलाइ भएको बताए ।
उनले उक्त महामारी नियन्त्रण अन्तर्गतका कालाजार, स्क्रबटाइफस लगायतको बजेट छिट्टै निकासा गर्ने जानकारी दिए । प्रदेशको संरचना स्थापना र वितरण प्रक्रियामा केही ढिलाई भएको हो डा. चौधरीरले भने अब हप्तादिन भित्रमा निकासा हुन्छ ।
लुम्बिनी अञ्चल अस्पतालको रेकर्डमा चालु आर्थिक बर्षमा स्क्रबटाइफसबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगर वडा नंं ११ की ६३ बर्षकी एक महिला हुन् । उनको भदौ १४ गते उपचारको क्रममा मृत्यु भएको थियो ।
घाँस तथा झाँडीमा जाँदा ‘माइट’ नामक उक्त परजीविले मानिसलाई टोकेमा स्क्रबटाइफस रोगको संक्रमण हुने लुम्बिनी अञ्चल अस्पताल, बुटवलका फिजिसियन डा. सुदर्शन थापाले बताए । डा. थापाका अनुसार स्क्रबटाइफस रोग लागेमा मुख्यत ज्वरो आउने, खोकी लाग्ने, मुटुले राम्रोसँग काम नगर्ने, पेट दुख्ने जस्ता लक्षण देखिन्छ । यस्तो हुँदा बिरामी र स्वास्थ्यकर्मी समेत झुक्किने गरेका छन् । गत बर्ष स्क्रबटाइफसबाट ९१ जना प्रभावित भएकोमा चार जनाको मृत्यु भएको थियो । à