© २०२३
पद्मप्रसाद शर्मा
दाङ
पाण्डवहरूको वनबास र गुप्तवास सकिएपछि उनीहरू आफ्नो पुरानो राज्यमा फिर्ता आए अनि पाण्डव पक्षहरूको बीचमा कौरवहरूसँग राज्य फिर्ता माग्ने सम्वन्धमा ठूलो सभा भयो । सभामा अन्य देशका राजा र अन्य गन्यमान्य ब्यक्तिहरूको समेत उपस्थिति रहेको थियो । त्यही सभामा योद्धा सात्यिकी र राजा दु्रपत जस्ता ब्यक्तित्वको समेत उपस्थिति थियो । त्यही सभामा सात्यिकीले कौरवहरूसंग पाण्डवको राज्य फिर्ताको कुरा सालिनतापूर्वक राख्ने तर उनीहरू कुनै किसिमबाट सहमत हुन सकेनन् भने युद्ध गरेर पनि राज्य खोसेर लिनुपदर्छ भन्ने प्रस्ताव राखे । लडाइ भन्दा पहिले वार्ताको लागि उनीहरू सबैजना तयार भए । वार्ताको लागि पाण्डवहरूकातर्फबाट दूत बनाएर कृष्णलाई पठाउने निधो भयो । श्रीकृष्ण पाण्डवका दूत बनेर कौरवका सामुमा पुगे । पाण्डवहरू वनबास र गुप्तबास सकेर फिर्ता आएको खबरले कौरवहरूको मनमा खैलाबैला मच्याएको थियो । कृष्ण कौरवकासामुमा पाण्डवको दुत बनेर गएपछि कौरवका तर्फबाट पनि सभा बस्यो । जतिबेला कृष्ण कौरवको सभामा पुगेर पाण्डवहरूको अवस्था र उनीहरूको मागको कुरा राखे पाण्डवहरूका मागका सम्बन्धमा कौरव पक्षले कुनै पनि कुरा सुन्न चाहेनन् । उल्टो श्रीकृष्णलाई अपमान गरे । दुर्योधनले कृृष्णलाई सभामा बाँध्नेसम्मको दुचेष्टा ग¥यो । कृष्णले कौरवको सभामा सकेसम्म युद्ध नहोस् भनेर पाण्डवहरूलाई पाँच गाउँ देउ उनीहरूलाई चित्त बुझाउन लगाउँलाभन्दा दुर्योधनले कृष्णको अपमान गर्न तम्सियो । अपमान पनि असैह्यखालको हुन गयो । दुर्योधनले कृणलाई पक्रेर सजाय गर्ने कुरा गरेको हुनाले कृष्णको अति चित्त दुख्यो । कौरवको त्यो कृयाकलापले कृष्णलाई असैह्य बनायो अनि कृष्णले आफ्नो विराट रूप देखाए । कृष्णको विराट रूपले सबैका आँखा तिर्मिराए । उल्टो खैलावैला भयो । कृष्ण कौरवको सभाबाट उठेर हिँडे ।
पाण्डवहरू वनबासबाट फिर्ता आएको उनीहरूको सभा बसेको अनि कृृष्णलाई पाण्डवहरूको दूत बनाएर पठाएको र कृष्ण कौरवको सभामा पुगेर दुर्योधनको अपमान खेप्न परेका आदिकुराहरू विदुरलाई थाह भयो । कौरवको सबै कृयाकलाप बुझेर कृष्ण पाण्डवको निवासमा फिर्ता भएको लगत्तै विदुर कौरवका सामुमा पुगे अनि युद्ध रोक्नका लागि धृतराष्ट्रलाई विशेष अनुरोध गरे । युद्धबाट हुने हानी नोक्सानीका वारेमा उनले निकै उपमाहरू जोडेर धृतराष्ट्रलाई सम्झाए । उनी राज्य फिर्ता गर्नेबारेमा संयम् रहनका लागि भन्छन्ः
निर्धो भैकन बलबान ब्यक्तिसंग जो ब्यर्थै निहूँ खोज्दछ ।
आफ्नी रूपवती त्येजेर अरूकी स्त्रीलाई जो ताक्दछ ।।
गर्छन् यत्न विगार अरूको ब्यर्थै पनि जो यहाँ ।
सक्तैनन् निशिमा निदाउन तिनै चिन्ता बढी मन्महाँ ।।
निन्दमा पनि नरिसाई आदर हुँदा मान्दैन जस्ले खुशी ।
आफ्नो वृत बुझेर उत्तम सदा जो गर्छ घर्मा बसी ।।
पर्दा कष्ट हुँदैन क्षोभ हुँदैन मनमा जस्लाई कैले पनि ।
त्यस्ता जनकन भन्दछन् सकलले ज्ञानी यिनै हुन् भनि ।।
विदुरले यस्तै तरहरले अनेक उपमाहरू दिएर धृतराष्ट्रको ध्यान तान्न चाहे । तर, धृतराष्ट्र दुर्योधनकासामु निरिह रहेको कुरा बताए । दुर्योधनको दरवारमा रहेका भिष्म पिताम्मह र गुरु द्रोणाचार्य पनि युद्ध रोक्ने पक्षमा पुगेनन् । उनीहरू पनि दुर्योधनकासामुमा अवोध बालकजस्तै बने । कृष्णलाई सभामा अत्यन्त अपमान गरेकोहुनाले कृष्ण पनि युद्ध गर्ने पक्षमा पुगे । यता विदुर आफूले भनेको कुरा कौरव पक्षका कसैले पनि नमानेकाले अन्ततः महाभारतको युद्ध हुने भयो ।
विदुर अत्यन्त सालिन ब्यक्तिका रूपमा चिनिन्छन् । उनले ब्यक्तिको पक्ष कहिल्यै लिएनन् विधिको र न्यायको पक्ष लिए । वास्तवमा विद्वान ब्यक्ति विधिको पक्षमा लाग्न चाहन्छ र विधिबाट शासन चलोस् भन्ने चाहन्छन् । विदुरमा दूरदर्शिताको क्षमता थियो । उनी सधैँ शान्ति र न्यायको पक्षमा कुरा गर्ने गर्दथे । उनले जीवनमा कही कतै पनि अन्यायको कुरा गरेनन् ।
यता इन्द्रप्रस्थ राज्यको हकदार हुँदा हुँदै पनि पाँचगाउँमा चित्त बुझाउँछौँ भन्दा पनि कौरवहरू दिन तयार नहुनु उता शकुनीका कपटी पासाबाट राज्य हरण हुनु अनि वनवास र गुप्तबास बस्न वाध्य हुनु । यस्तो अन्यायपूर्ण खेललाई न्यायपूर्ण भनेर वकालत गर्ने कौरव र उनका मतियारहरू स्वयं युद्ध मैदानमा होमिन तयार हुनुलाई सोलोडोलोमा दम्भ पलाएको भनिन्छ ।
विदुरले महाभारतको युद्ध हुनुअघि जुन नीतिको कुरा उठाए त्यो उपदेश अहिले पनि जहाँको जोसुकै ब्यक्ति होस् राजा, प्रजा, धनी, गरीव, विद्वान, साहू–महाजन,विद्यार्थी शिक्षक ब्यापारी, कलाकार, साहित्यकार सबैलाई उत्तिकै काम लाग्ने खालको छ । उनको नीतिले कसैलाई पनि उँधो लाँदैन । सदाचार, धर्म,कर्महरू (सत्कर्म) को वर्णन गरिएको छ । यो विगतका राज्य संचालकका लागिमात्र नभएर वर्तमानका राज्य सञ्चालकका लागि र भा राज्य सञ्चालकका लागि पनि उत्तिकै कामयाबी छ । उनको विचारलाई त्यो समयमा पनि विज्ञान भनेर वर्णन गरिएको छ । त्यसैले “विज्ञाने विदुरे” भनेर अहिले पनि भनिन्छ ।
विदुरलाई कतै कतै महात्मा भनेर पनि वर्णन गरिएको पाइन्छ । महाभारतको युद्ध हुनुअघि विदुरले जुन कुरा कौरवका सामुमा ब्यक्त गरे त्यो कुरा उनीहरूका मनमा भिजेको भए कुरु क्षेत्रमा त्यत्रो युद्ध हुने थिएन र त्यति विधिको नरसंहार पनि हुने थिएन । महाभारतको युद्धमा कौरव पक्षको हारमात्र भएन वंश नै विनाश भयो । कौरव पक्षका धृतराष्ट्र र गान्धारी वाहेक सबैको युद्धमा ज्यान गयो । सानो नीतिको कुरामा वेवास्ता गर्दा राज्य र वंश दुबै नाश भयो । वास्तवमा राज्य सञ्चालकहरू पालो गरेर सत्तामा जाने होइन । नीतिको पालन गर्ने र गराउन लगाउनेहरूलाई पठाउनु पर्दछ । हाम्रो मुलुकमा नीति जानेको नजानेको भन्ने सवाल छैन । शासन सञ्चालन गर्ने अगुवाहरूमध्ये धेरैलाई नीतिको वारेमा याद हुने कुरा परै छ आफू कुर्सीमा ढलीमली गर्न पाए पुग्यो । त्यसको साथमा आफन्त र आसेपासेलाई प्राथमिकता दिने प्रचलन छ । यसले देश कहिल्यै उँभो लाग्दैन ।
एकल निर्णयले शासन चल्दैन । देशले काँचुली फेर्न सक्दैन । एकल निर्णय गर्नु भनेको दम्भ हो । दम्भ त्यग्नका लागि मनमा ज्ञान चाहिन्छ । शान्ति चाहिन्छ । मुर्दा शान्ति नभएर ज्यूँदो शान्ति चाहिन्छ । अनि चाहिन्छ सकारात्मक ज्ञान । सकारात्मक ज्ञानले शासन दीर्घकालिन हुन्छ । कौरवहरूले राज्य सञ्चालनमा दम्भ देखाए, सकारात्मक ज्ञान प्रदर्शन गर्न सकेनन् र शान्तिको कुरा गर्न चाहेनन् । विदुरको नीतिमा सकारात्मक ज्ञान पाइन्छ । उनले शान्तको महिमा कस्तो हुन्छ भन्ने प्रसङ्गमा भन्छन् ः–
जसले शान्ति स्वरूप शस्त्र करमा गर्छन् सदा धारण ।
सक्छन् जित्न समस्त शत्रु तिनले त्यो शस्त्रको कारण ।।
राजन केवल धर्ममात्र छ ठूलो कल्याण गर्ने सदा ।
शान्तिको छ उपाय सादर क्षमा गर्नु सदा सर्वदा ।।
विद्याले जनलाई मिल्छ मनमा सन्तोष खोजे जति ।
हिंसा त्याग्न सके सबै तरहले हुन्छन् सुखी भूपति ।। हिम्सा त्याग्नु पनि दम्भ त्याग्नु हो । भूपतिको अर्थ हुन्छ राज्य सञ्चालक । जो राज्य सञ्चालक हो त्यही अभिभावक हो । अभिभावकमा दम्भ पलायो भने त्यो राज्य विधिअनुसार सञ्चालन भएको मानिँदैन ब्यक्तिले चलाएको मानिन्छ । लोकतन्त्रमा विधिको शासन हुन्छ । विधि र पद्धति नजान्नेहरूले जतिसुकै सुशासनका कुरा गरे पनि त्यो दीर्घ्कालिन हुँदैन । विधि मिच्नु र पद्धति तोडनु पनि दम्भ देखाउनु हो । पद्धति तोड्नेहरू नआफू सफल हुन्छन् न त्यो राज्य नै सफल हुन्छ । राज्य सफल बनाउन सफल नेतृत्व र विधिको शासन चाहिन्छ जहाँ दम्भ भन्ने कुरै हुँदैन । à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी