© २०२३
कक्षा ७ मा अध्ययनरत बुटवल–१२ ज्यामीरेकी सिवानी गाहा मगर बुधबार खुसी भइन् । एक सहयोगी संस्थाले सहयोग स्वरूप सिवानीलाई साइकल दिएपनि उनी खुसी भएकी हुन् । उनलाई अब साइकलबाट विद्यालय आउँदा जाँदा समय कम लाग्ने भएको छ ।
उनीजस्तै विद्यालयका ३० जनालाई कोरियन बौद्धिष्ट सोसाईटिले विद्यालयमा आई साइकल वितरण गरेको हो । बुटवल १२ तामनगरमा रहेको सरस्वती माध्यमिक बिद्यालयका कक्षा ६ देखि १० सम्मका १३ जनालाई साइकल प्रदान गर्ने सूचकहरू तयार गरी साइकल बितरण गरिएको बिद्यालयले जनाएको छ । साइकल पाउने ३० मध्ये १७ जना छात्र छन् भने १३ छात्रा छन् । साइकल बितरण भएकाहरू दुरीका हिसाबले टाढा घर भएका, यातायातकै कारण पढ्नलाई समस्या भएका र साइकल किन्न नसक्ने अवस्था भएका परिवारका बालबालिकाहरू भएको विद्यालयका शिक्षक रुद्र शर्माले बताए । उनका अनुसार ति बालबालिकाहरूलाई विद्यालयमा आउन मात्रै १ घण्टादेखि डेढ घण्टासम्म लाग्छ ।
साइकल प्राप्त गर्ने विद्यार्थी दिपा गाहा मगरले विद्यालयमा आउन जानमा दैनिक चार घण्टा खर्च गर्नुपर्ने बताइन् । उनी पनि ज्यामीरेकी विद्यार्थी हुन् । विहान ८ बजे घरबाट हिँड्छौं, फर्किदा ६ बजिसक्छ । विद्यालय आउँदा जादा जंगलको बाटो पार गर्नुपर्ने दिपाले बताइन् । बुटवल उपमहनगरपालिकाको वडा नं. १२ मा पर्ने ज्यामीरेमा ५ घर मात्र रहेको सिवानी गाहाले बताइन् । उनीहरूका अनुसार उक्त गाउँबाट अहिले सरस्वती माध्यमिक विद्यालयमा ८ जना बालबालिका अध्ययनरत छन् । ति मध्ये कक्षा ८ की दिपा गाहा र कक्षा ७ की सिवानी गाहाले साइकल पाएका छन् । अरू ६ जना साना कक्षाका भएका कारण साइकल नपाएका हुन् । पानी पर्दाका समयमा विद्यालयमा आउन जानका लागि समस्या पर्ने गरेको उनिहरूको भनाई छ । बढी पानी परेको अवस्थामा विद्यालय नै आउन नपाउने र विद्यालयमा आएको अवस्थामा भए आफन्त र साथीभाइको आश्रय लिनुपर्ने उनिहरूले बताए ।
विद्यालयकी स्वयंसेवक शिक्षक विमा गाहा पनि उक्त गाउँकी बासिन्दा हुन् । विद्यार्थीलाई आउँदा जाँदा सजिलो हुने गरी उनलाई शिक्षकमा नियुक्त गरिएको विद्यालयले जनाएको छ । कक्षा ७ सम्म पाल्पाको शिशु ज्योती प्राविमा पढेको उनले त्यसपछिको १२ कक्षासम्म भने सैनामैना नगरपालिकामा पर्ने दुर्गा भवानी माविमा पढेकी थिइन । दैनिक चार घण्टा पैदल हिँडेर आफुले कक्षा १२ उत्तीर्ण गरेको शिक्षक विमाले बताइन ।
विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्रप्रसाद न्यौपानलेले विद्यार्थीले पाएको साइकलले प्रत्यक्ष अप्रत्यक्ष रूपमा उनीहरूको पढाइमा सहयोग पुग्ने बताए । यसले विद्यार्थीको नियमिततामा सहयोग पुग्ने देखेको छु न्यौपानेले भने, त्यसको अप्रत्यक्ष असर उनिहरूको सिकाई उपलब्धिमा पनि पर्छ जस्तो लाग्छ ।
विद्यालयका अनुसार उक्त विद्यालयमा २ सय ६० विद्यार्थी अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या.देवीराम थापा, बुटवल उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, पुर्व वडाअध्यक्ष तथा सल्लाहर संयोजक उदयराज काफ्ले, विद्यालय व्यवस्थापन समिति तथा स्रोत व्यवस्थापन संयोजक गिरराज कुँवर, नेकपाका अध्यक्ष खगुलाल गिरी, लिल बहादुर साही, नेपाली काग्रेका सभापती रत्न बहादुर थापा, पुर्व अध्यक्ष टिका बहार थापा, पुर्व स्रोत व्यवस्थापन समितिका सल्लाहकार मोतिलाल पाण्डे, विद्यालयक प्रधानाध्यापक ज्ञानेन्द्र प्रसाद न्यौपाने, कोरियन भाषा प्रशिक्षक जगन्नाथ न्यौपाने लगायतले बोलेका थिए ।