© २०२३
‘समानतापूर्ण संसारको लागि मलेरियाविरुद्धको लडाईलाई तीब्र पारौं’ भन्ने नाराका साथ बुधबार विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाईएको छ । यो दिवस मनाउँदै गर्दा तराईमा औंलोले फेरी आफ्नो भयावह रूप देखाउने संभावना बढेको छ । आजभन्दा ५०–६० बर्ष अगाडि औलोकै कारण तराईमा बस्ने अवस्था नभएपछि धेरै मानिस तराईबाट पहाड सरेका थिए । अव फेरी यस्तैगरी औलो बढ्दै जाने हो भने पहाडबाट भैरहेको बसाईसराई फेरी पहाडतिरै फर्किन अवस्था आउन सक्छ । विश्वभर विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसको रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धता अनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अति महत्वाकांक्षी लक्ष्य लिएको छ । सो लक्ष्य अनुसार औलो निवारण गर्न नेपालसँग मात्र एक बर्ष छ । यसमा पनि औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लक्ष्य भने चुनौतिपूर्ण छ । औलो नेपालको पुस्तैनी संक्रामक रोग हो । हाम्रा बाबु बाजेको पालामा औलोका कारण ठूलो क्षति भएको थियो । पहाडबाट तराईमा बसाईसराई गरेकाहरू पनि तराईमा औलोको डरका कारण फेरी पहाड नै फर्किएको धेरै उदाहरण छन । खुसीको कुरा के हो भने पहिलेको अवस्था अहिले भने छैन तर औलोको संक्रमण भने अझै हटिसकेको छैन । पछिल्लो समय औलोको जोखिम तराइमा मात्र होइन पहाड र हिमाली क्षेत्रमा समेत देखिएपछि यसको नियन्त्रणमा नयाँ रणनीति आवश्यक रहेकोमा चिकित्सकहरूले जोड दिएका छन ।
नेपालका अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लामा बारम्बार औलोका बिरामी भेटिएका छन् । औलो सङक्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने लक्षण देखिन्छ । अर्को चुनौति भनेको औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । नेपालमा औलोको जोखिम भारत लगायत तेश्रो देशबाट बढी भैरहेको छ । आयतित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती हो । यस बाहेक पनि औलोको परीक्षण नहुनु, भारतसँगको खुल्ला सिमाना र भौगोलिक विकटता औलो निवारणको चुनौती हुन । नेपालमा विगत एक सय वर्षदेखि औलोको समस्या देखिँदै आएको जनाइएको छ । यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ । तसर्थ सवैभन्दा सुरक्षित तरिका भनेको यसको जोखिमबाट बच्नु नै हो । नेपालमा सन् २०२२ मा औलोका पाँच सय १२ बिरामी भेटिएका थिए । तीमध्ये ४७६ बिरामी अन्य देशबाट औलो सङ्क्रमित भएर आएका र बाँकी ३६ स्थानीय बिरामी रहेका थिए । त्यसअघि सन् २०१५ सम्म हजार भन्दामाथि औलोबाट प्रभावित भएका थिए । सन् २०१६ मा औलोबाट तीन जनाको मृत्यु भएको थियो । सरकारको अवको चुनौति तराईबाट पहाड हुँदै हिमाली जिल्ला सर्दै गरेको औलोको नियन्त्रण हो । औलो नियन्त्रणका लागि नेपाल सरकारले दिर्घकालीन रणनीति अनुसार काम गर्नु आवश्यक छ । मलेरियाबाट जोगाउन तोकिएको उमेर हदमै खोप लगाउन जरुरी छ । बेलैमा उपचार नभएमा यसको सङ्क्रमणले सजिलै ज्यान लिन्छ, तसर्थ हामी सबैजना सतर्क हुन जरुरी छ । औलो नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयास त्यति प्रभावकारी नभएको गुनासो पनि छ । तसर्थ अवको दिनमा औलोको जोखिम बढ्ने अवस्थालाई नियन्त्रणमा लिन सरकारले अभियान नै सञ्चालन गरोस् ।