© २०२३
कामगर्ने ईच्छाशक्ति भए काम सम्पन्न गर्न छिटै सकिँदो रहेछ । उदाहरणको लागि धरानका हर्क साङ्पाङ र काठमाडौंका वालेन्द्र शाहलाई लिन सकिन्छ । यी दुवै जननिर्वाचित नगर, महानगरका प्रमुख हुन् र यिनीहरु दुवै कुनै दलका ब्यक्ति होईनन् । न त दलको कोटाबाट निर्वाचनमा जितेका ब्यक्ति हुन् । यी दुवै स्वतन्त्र रुपमा मेयर पदमा निर्वाचन लडेर नगर प्रमुखमा विजयी भएका व्यक्ति हुन् । यिनीहरुलाई कुनै दलको भिटो लाग्दैन । यिनीहरु आफनो बुद्धिविवेक प्रयोग गरेर आफ्नो नगरको प्रमुख आवश्यकता हेरेर प्राथमिकताका आधारमा काम गर्ने मानिस रहेछन् । दुवै जनप्रतिनिधीलाई जनताको तर्फबाट कोटी नमन छ । यिनीहरुले धन कमाउन आफनो ईज्जत नफालुन र उदाहरणीय नगर प्रमुखमा आफनो छवि स्थापित गर्न सफल होउन र आफ्नो कार्यकाल पूरा गरुन शुभकामना छ ।
हर्क साङ्पाङ धरान नगरका स्वतन्त्र मेयर हुन् । उनी नेपाली जनताका असल मित्र हुन् । उनी एक्लै जस्तैैछन् । उनका अन्य सदस्य नेपालका ठूला ठूला पार्टीका नेता र कार्यकर्ता छन् । एमाले र काँग्रेस उनका मुख्य बिरोधी छन् धरान नगरमा । तर पनि हर्कले अहिले धरान नगरवासीका लागि ठूलो काम गरे । काकाकुल नगरबासीलाई पानी खुवाएर पुण्यको काम गरे । उनले ४२ किलोमिटर टाढाबाट जनश्रमदान र जनसहयोगमा ९० दिनमा ५ ईन्चको पाईप बिछाएर कोकाहाको पानी धरान ल्याई पु¥याए । कोकाहाको पानी धरान आएपछि धरानबासी खुशीले रमाए, पानीमा थापिएर नुहाए भने हर्कपनि आफ्नो कामको सफलतामा खुशीले रोए । धरानबासीले पानीको लागि बर्षौदेखि दुःख पाएका थिए । अहिलेसम्म दुई अर्ब खर्च गर्दा कसैले नल्याएको पानी मेयर हर्कले आफ्नो सक्रियता, लगनशीलता, जनश्रमदान र जनसहयोगबाट धरानबासीलाई पानी ल्याईछाडे । यो ठूलो पुण्यको काम हो । ५ ईन्चको पाईपबाट पानी खलल झरेको देखेपछि धरानबासी नागरिक खुशीले रमाए, पानीले नुहाए । पानीकै सवालमा पटकपटक खानेपानी मन्त्रीसंग उनको चर्काचर्की भनाभन पनि भएको थियो । तर, हर्कले गरेर देखाए । काम गर्नेलाई सबैले सर्मथन जनाए । तालीले स्वागत गरे ।
त्यस्तै काठमाडौ महानगरका मेयर बालेन्द्र शाह पनि काम गर्ने नै मानिस रहेछन् । उनले पनि दलका नेताको दवावलाई टेरेनन् । जनपक्षीय काम लगातार नै गरिरहेका छन् । उनको काममा बाधा अडचन र अवरोध श्रृजना गर्ने काम ठूला पार्टीका झोलेबाट नै भईरहेको देखिन्छ । तर पनि उनले हार खाएका छैनन् र हिम्मत हारेका छैनन् । बालेन पनि कुनै दलका उमेदवार हैनन् र स्वतन्त्र उमेदवारका रुपमा मेयर जितेका मानिस हुन् । उनमा कामको योजना र काम गर्ने प्रवल ईच्छाशक्ति रहेछ र काम गरिरहेकै छन् उनले । यदि कसैबाट कुनै पार्टीहरुबाट अवरोध श्रृजना नहुने हो भने उनले काठमाण्डौलाई ब्यवस्थित सहर बनाउने छन् भन्नेमा कुनै शंका छैन । यि त भए राम्रो काम गरेर देखाएका धरान र काठमाण्डौका मेयरका कुरा । देखिएलान् कुनै ठाउँमा अरु मेयरहरु पनि ।
अर्को उदाहरण छ– बुटवलतिरको बिकास निर्माणको । यहाँ नीजि स्तरबाट गरिएका काम कति छिटै सम्पन्न हुन्छन् र संचालनमा पनि आउँछन् । तर सरकारी स्तरमा गर्नुपर्ने काम बर्षैासम्म पनि सम्पन्न हुँदैनन् अचम्मको कुरा छ । बुटवलकै सडक हेरौ । राजमार्ग चोकदेखि माथि गोलपार्कसम्मै बाटो पूरा हुन सकेको छैन । मेन लाईन जेनतेन बनेपनि साईड सडक र पेटी नाली बनेकै छैनन् । सबै धुलाम्मे छन् । जसलेगर्दा पैदल यात्रु र ब्यापारीलाई ठूलै सास्ती खेप्नु परेको छ । उपचार गर्न जान, आौषधी लिन जान सास्ती छ । ब्यापारीलाई ब्यापार चौपट पारेर पसल बन्द गरेर बस्नुपर्ने अवस्था छ । यो कामलाई कति समय लाग्यो सबैले देखेकै छौं । तर नीजि लगानीमा गरिने काम भने समयमै सम्पन्न भएर संचालनमा पनि आउँछन् । उदाहरणका लागि भरखरै संचालनमा ल्याईएको बुटवल बसन्तपुर डाँडामा चल्ने केबलकारलाई लिन सकिन्छ । शुरु भएको डेढ वर्षमै सम्पन्न भएर संचालन भईसक्यो । ति पनि मान्छे नै हुन् । पैसा लगानी तिनीहरुले पनि गरेकै हुन् । कति फरक छ काम गराईमा ? सरकारी भएको भए त्यही काम बर्षौसम्म सम्पन्न हुँदैन्थ्यो । देखाउनलाई सामान झारेर अलपत्र छाडिन्थ्यो तर काम शुरु नै हुने थिएन । त्यत्तिमा पैसा भने करोडौं अरवौं खर्च भईसकेको हुन्छ । काम सम्पन्न हुँदैन । यी दुबैथरि काम गराईलाई हेर्दा लाग्छ यस्तो हुनुको पछाडी एक त सरकारी काम गर्नेहरुमा ईच्छाशक्ति नै छैन, ठग्ने प्रबृत्ति छ । दोश्रो आलटाल गर्ने बानी छ भने तेश्रो कमिसनको खेल नै हो । “जान्छ सरकारको आउँछ मेरो” भन्ने मानसिकता नै हो । सरकारी जुनसुकै काममा पनि ढिलासुस्ती हुनुमा कर्मचारी, काम गर्ने ठेकदार, माथिका नेता र स्थानीय नेताबीच, कमिसन नमिलेर नै काम समयमा सम्पन्न नहुँदा रहेछन् भन्ने छर्लङ्ग हुन्छ । यि सरकारी काम गर्ने कर्मचारी इन्जिनियर, ठेकेदार, पाटीका नेता सब देशका धमिरा रहेछन् ।
अर्को नमूना काम बुटवल उपमहानगरपालिको छ । यसको काम पनि अनौठो नै छ । २०४७ सालदेखि बुटवल क्षेत्र काँग्रेस र कम्युनिष्ट नामको एमालेले आलोपालो सत्ता चलाए र चलाएकै छन् । जुन सत्तामा आएपनि उनीहरुले बुटवल नगरदेखि १२ किलोमिटर परको झुम्साखोलाबाट खानेपानी बुटवल ल्याउने र बुटवलमा बितरण गर्ने योजना सुनाउँछन् । शुरु गर्ने भनि झारिएका पानीका पाईपहरु यत्रतत्र अलपत्र देखिन्छन् । पाईप झारेको पनि ३१ वर्ष बितिसक्यो । पाईपहरुमा खिया लागिसक्यो तर झुम्साको पानी बुटवल अझै झरेन । कुन शक्तिले रुकावट गरेको छ काम गर्नलाई ? चुनावका बेला भने निकै मिठा, आश्वासनहरु बाँड्छन् । झुम्सा मात्र होईन, कालिगण्डकीको पानी बुटवल झार्ने गफ हाँक्छन् । तर १२ किलोमिटर पर झुम्साको पानी बुटवल ल्याउन सक्दैनन् । यही नै अचम्मको कुरा छ । जवकी हर्क साङपाङले ४२ किलोमिटर परको खोलाको पानी बिना सरकारी पैसा, जनश्रमदान र जनसहभागितामा ९० दिनमा धरान शहरमा खसाले । बुटवलमा आलोपालो शासन गरेका नगर प्रमुखले लाज मान्नुपर्ने हो कि होईन ? जनताले कसरी यिनलाई बिश्वास गर्ने ? जनतालाई चाहिने देखिने काम हो । प्रमुख कुरा खानेपानी, सडक र बिजुली बत्ति, शिक्षा र स्वास्थ्य पाउने ठाउँ हो । खै त मानिसको अत्यावश्यक कुरा खानेपानी शुरु गर्ने भनेको ३१ वर्षसम्म काम शुरु भएकै छैन । जनता पनि उस्तै, नेताका झोले नै रहेछन् । काँग्रेस, कम्युनिष्ट लगायत अनेक नामधारी पार्टीमा सम्बद्ध भएपछि आ– आफ्ना पार्टीका नेताले गरेको जस्तोसुकै गलत कामलाई ताली पिट्ने र अर्को पार्टीका लाई दोष थोपर्ने गर्छन् ? किन यस्ता कुरामा सबैले तताउन सक्दैनन् नगर हाँक्ने नेतालाई ? कोही नगर प्रमुख निस्केलान कि बालेन र हर्क साङ्पाङ जस्ता ब्यक्ति बुटवलमा ?
तिनाउ खोला बुटवलको बीचबाट नबगेको भए बुटवलबासीलाई पानीको ठूलै हाहाकार हुनेथियो । मानिसको नुहाई धुहाईको कामदेखि डियाबाच्छालाई पानी खान नदीले धेरै मात्रामा काम गरेको थियो र छ पनि । सिंचाई त प्रमुख भईहाल्यो । पञ्चायती निरङ्कुश भनिने ब्यवस्थाले निर्माण गरेको गोलपार्कमाथिको पानी टंकीले त्यतातिरका बासिन्दालाई अहिलेसम्म पानी खुवाएको छ । तिनाउ खोला नभएको भए बुटवल नगरपालिका भित्रका नागरिकले ठूलै सास्ती ब्यहोर्नुपर्ने रहेछ । नगरपालिका हाँक्ने नेताहरुको चरित्र “आश त गरे भर नपरे” भन्ने उखान जस्तै देखिन्छ् । चेतना पलाओस्, ईमान्दारीता छाओस् ।