© २०२३
शरिर पक्षघातले थिचिएर
महिनौं भयो
चलमलाउन छाडेको
ढाड भरि घाउ नै घाउ भएर
ओछ्यान पिपमय भएको छ
दिसा पिसावको दहमा
नुहाउँदै म बाँचेको छु ।
साँच्चै ! म बाँचेको छु
वा मरेको छु ?
मुटुको ढुकढुकी
र दोहोरो सास फेराई
के यहि हो बाँच्नुको परिभाषा ?
शरिर त जड भै सक्यो
प्रतीक्षा छ
मुटुको ढुकढुकी
र सास रोकिनुको
अनि
सायद म मर्ने छु
त्यस पछि
गोहि अश्रु खसाउँदै
पुरा गर्ने छन् औपचारिकता
सन्तति हुनुको
वस्
पर्खाई छ त्यसैको ।
परलोकमा सुख चैन कटाउन
शुरु हुने छ काज किरीया
अनि
टिकाटालो र दान दक्षिणा
गरिने छ भरपुर
ऋणै खोजेर भएपनि
छापिने छन् श्रद्धाञ्जलि पत्रिकाहरुमा
वैरिने छन् समवेदना सन्देश
फेसबुकका भित्ताहरुमा
किनकि देखाउनु परेको छ
तामझाम समाजलाई
र गरिने छ बन्दोवस्त
बर्खि बार्ने ।
भो चाहिँदैन मृत्यु पछिको
सुख, सयल र स्वर्गीय आनन्द
बरु
अहिले नै गर किरीयाकर्म
र बार बर्खि
ताकि म मुक्त हुन सकुँ
यो नरकबाट ।