© २०२३
प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम (हालपण्डितपुर)मा अवस्थित पुरातात्विक क्षेत्रको जिसस प्रमुख शिव शंकर रायले स्थलगत अवलोकन गरेका छन् । शुक्रवार स्थानियद्वारा पुरातात्विक बस्तु जथाभावी उत्खनन गर्ने र नष्ट गर्ने सुचना पाएर स्थलगत अवलोकन गरेका हुन् ।
जिसस प्रमुख रायसंगै पर्यटन पत्रकार संघका जिल्ला अध्यक्ष मोहन पौडेल, पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष टिकाराम गैरे र नागरिक समाजका जिल्ला अध्यक्ष सभ्भु उपाध्याय सहितको टोलीले स्थलगत अलोकन गर्दै पुरातात्विक बस्तु नष्ट हुने गरी कार्य नगर्न स्थानियलाई आग्रह गरेका थिए । पुरातत्व विभागले उत्खनन गरि पत्ता लगाएको बुद्धकालिन इनार खनेर त्यसको पानी सिचाईमा गाउलेले उपयोग गर्न खोजेको देखिएको जिसस प्रमुख रायले बताए । तर सो इनार स्थानियले प्रयोगमा ल्याउन खोज्दा प्राचिन भाडा कुडाहरू ऋलपत्र पालिएका छन् । पुरातात्विक महत्वका बस्तु नष्ट हुने अवस्था देखिएको छ, प्रमुख रायले भने, यसलाई नष्ट नगर्न स्थानियलाई सुझाव दियौं । तर पुरातात्विक क्षेत्रको संरक्षणका लागि नेपाल सरकार र प्रदेश सरकारले चाँसो लिइनु पर्ने उनको भनाई रहेको छ ।
पुरातात्विक क्षेत्रको दुरावस्था देखेर जिसस प्रमुखले यत्रतत्र छरिएर रहेका पुरातात्विक बस्तुहरू संकलन गरेर आफ्नै कार्यालय परिसर भित्रको कोठा ब्यवस्थित गरेर संग्रालयमा संग्रह गर्ने प्रतिवद्धता जनाए । यति दुर्लभ र महत्वपुर्ण बस्तु नष्ट भएर गएका छन् । प्राचिन इनार स्थानियले खनेर सिचाई गर्न खोजेको देखेर दुःख लागेका उनको भनाई थियो । इनारा खन्दा प्राचिन भाडाकुडा र टुक्राहरू वरिपरि फालिएको देखियो, रायले भने, अब यसरी फालिएको बस्तु जिसस आफैले सुरक्षित गर्ने छ । स्थानीयबासीलाई आग्रह गर्दै उनले भने, यदि यो क्षेत्रमा केही सामग्री भेटियो भन्ने त्यो जिससमा पठाई दिनु होला । नष्ट नगरिदिनु होला । पानी प्रयोग गर्नुस, तर बस्तुहरू नष्ट नगरिदिनुस । पुरातात्विक बस्तु नष्ट भई रहेको दृष्य देखेर उपस्थित टोली आश्चर्यमा परेको थियो । पुरातात्विक क्षेत्रमा अहिले खेतीपाती भई रहेको छ । सरकारले अधिग्रहण गरेको छैन् । खेतीपाती भई राख्दा निस्कने पुरातात्विक बस्तु,ग्रेवर, धातु, भाडाकुडाका टुक्रा, इँट लगायतका बस्तु त्यतीकै पालिएका छन् ।
वि.स. २०५६ सालमा अनुमान गरिएको पुरातात्विक क्षेत्र चौथो पटकको उत्खननले कोलिय गणराज्यको राजधानी प्रमाणित गरिसकेको छ । रामग्राम नगरपालिका वडा नम्बर १८ अवस्थित पण्डितपुरमा तत्कालीन राजा रामले बसालेको अन्तोनगर र बाह्य नगरको क्षेत्र पत्ता लगाउन र प्राचीन वस्तुको खोज गर्ने उद्देश्यले पुरातत्व विभागले निरन्तर उत्खनन गर्दै आएको थियो । पुरातत्वविद डा तारानन्द मिश्र र भाष्कर ज्ञवालीसहितको उत्खनन टोलीले त्यहाँ इसापूर्व ७ सय वर्ष पुराना पोष्टहोल, मौर्यकालीन इनार, इट, ग्रेवर, मडवाल, रिगंवेललगायतका सामग्री फेला परेपछि उत्खनन टोलीले बुद्धको मावली र कोलिय गणराज्यको राजधानी पण्डितपुर नै भएका आधार तयार भएको बताएका थिए ।
थप आधार खोज्न र अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाई पुष्टिका लागि पुनःउत्खनन गरिएको थियो । पुरात्तव विद भाष्कर ज्ञवालीलका अनुसार चौथो पटकको उत्खननले धेरै प्रमाण फेला परेको छ । बुद्धकाल भन्दा दुई सय पुरानो, बुद्धकालीन, मौर्यकालीन, कुषाणकालीन, वस्तु फेला परेका छन । उत्खनन्को क्रममा भेटिएका कुशहाड, गुप्त, माठवाल आदी तिलौराकोटसँग मेल खाएका छन । टिसी, डिस, माटाका भाडा, लोरो, इङ्कपट, माटोको कचौरा, पानी राख्ने भाँडो, माटोको ठूलो भाडो, माटोकै कराही समेत सो स्थानमा फेला परेको स्थानीय नारद यादवले जनाए ।
साठी बिघा भन्दा बढी क्षेत्रफलमा फैलिएको उक्त ऐतिहासिक र पुरातात्विक क्षेत्रको संरक्षण गर्नु पर्ने माग उठेपनि सरकारी उदासिनताका कारण अलपत्र र ओझेलमा परेको छ । पण्डितपुरमा दुई वटा टापु रहेको छ । एउटा टापु ८÷८ सय मिटर, पुरानो कुलोको पारी पट्टी रहेको छ भने ४÷५ सय मिटरको अर्को टापु महाव नदीको वारी रहेको छ । प्राचीन शाक्य गणराज्यको सीमा उत्तरमा चुरे पर्वत, पश्चिम–दक्षिण राप्ती नदी, पूर्व रोहिणी नदीसम्म थियो । त्यसैगरी कोलिय गणराज्यको सीमा पनि उत्तरमा चुरे पर्वत, पूर्व गण्डक नदी, पश्चिम रोहिणी नदी र दक्षिणमा पिपलीवन राज्यकोे सीमासम्म फैलिएको थियो । पछि मगध समराज्यभित्र तत्कालीन मगध समराज्यको अधिनस्त भएको थियो । मौर्य बंशकै राजा चक्रवर्ती अशोक सम्राटले भ्रमणका क्रममा बुद्धको जन्मस्थल लुम्बिनीमा अशोक स्तम्भको स्थापना र कोलिय राजाले बनाएको रामग्राम स्तुपमा भिक्षुका लागि विहारसमेत निर्माण गरेका थिए । कोलिय गणराज्यको राजधानी पण्डितपुरमा रहेको छ भने रामग्रामले बुद्धको अस्तु (खरानी) राखेको स्थान रामग्राम स्तुपमा रहेको छ ।