© २०२३
पद्यमप्रसाद शर्मा
नेपालमा प्रदेश र संघीय निर्वाचन सम्पन्न हुने समयमा चुनावी एकताको नारा लाग्यो । त्यसमै थपियो दुई पार्टीको एकताको कुरा । नागरिकले दुई पार्टीको एकतालाई कति पत्याए त्यो थाहा भएन, तर चुनावी एकतालाई भने मतदाता वा नागरिकले खुब पत्याए । धेरै निर्वाचन क्षेत्रमा सम्मानजनक मत दिएर नेपालका दुई पार्टी तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई विजयमाल लगाएर पठाए । भागबण्डामा प्रदेश नम्बर दुई देखि बाहेक अरू सबै प्रदेशमा दुबै दलको सरकार बन्ने भयो, बन्यो । केन्द्रमा पनि उही दुई पार्टीको सरकार बन्ने भयो, बन्यो । अर्थात संघीय सरकार पनि दुबै पार्टीको बन्यो । उता प्रदेश सरकार र संघीय सरकार बने, यता जनताले सुशासन, ढिलासुस्तीको अन्त्य, विकास निर्माणमा तीव्रता, भ्रष्टाचारमा न्यूनीकरण, रोजगारमा वृद्धि, शैक्षिक क्षेत्रमा आमुल सुधार, नातावाद कृपावादको अन्त्य आदि इत्यादि यस्तै यस्तै कुरामा सुधार हुने अपेक्षा गरेर बसेको अवस्था हो ।
सरकारले के गरिरहेको छ ? नागरिकका पक्षमा के कति कामहरू भए ? भनेर घोत्लिने हो भने कुनै पनि क्षेत्रमा तात्वीक फरक आएको छ भन्ने अवस्था छैन भन्छन् जानकारहरू । हुनत सबै काम एकै पटक ह्वात्तै भैहाल्छ भन्ने होइन । तर, सुधारको लागि क्षितिज थोरै भए पनि उघे्रको हुनुपर्ने हो । क्षितिज उस्तो उघ्रेको वा तत्काल उघ्रने अवस्था देखिएन । अहिले जुन रूप र आकारबाट प्रदेश तथा संघीय सरकारको गति देखापरेको छ त्यसबाट जनताको अपेक्षा पुरा हुने ढाँचा देखिँदैन भनेर जानकारहरू वारम्बार भन्ने गर्दछन् । भन्नेहरूको भनाइमा दोष हो कि सरकारको गति त्यस्तै हो भनेर एकपटक एकचित्तले सम्झना गर्ने हो भने जानकारहरूले भनेको भन्दा टाढा गति भएको सरकारको गति देख्न पाइँदैन । सुशासन वा ढिलासुस्तिको कुरा गर्दा सुशासनमा केही फरक आउनु पर्ने थियो भनेर सबैले भन्छन् तर बहुमतको सरकारले दिने सुशासन आएजस्तो लाग्दैन, आम नागरिकले बोलेको कुरा हो । विकास निर्माण एकै क्षणमा हुने कुरा होइन, तर यसको बिन्दु कोरिएको त हुनुपर्ने हो । विकासको विन्दु प्रकट रूपमा आउन सकेको छैन । त्यो विन्दु भित्र कतै तयार भएको पनि देख्न नसक्नुमा नागरिकको दोष मानिन्छ ? विकास निर्माणको विन्दु नदेखिनु एउटा कुरा भयो, अस्थिर सरकार भएकै समयमा आरम्भ भएका सडक पुलपुलेसा र अस्पतालसमेत निर्माण ठप्प छन् । नयाँ कार्य आरम्भ हुन समय लाग्छ यो सत्य हो, तर गत वर्षमा आरम्भ भएका योजना निर्माण शुरु वा सम्पन्न भएको त हुनु पर्ने हो त्यस्तो भएको पनि देखिँदैन । देशमा रोजगारको तत्काल कुनै सम्भावना देखिँदैन । निकै वर्ष पहिले देखिको विदेश जाने चलनमा रत्तिभर कमी आएको छैन । देशका अधिकांश युवाहरू अहिले विदेशमा छन् यो आफैमा विडम्वनायुक्त कुरा हो, त्यसमा पनि दैनिकजसो विदेशमा जाने युवाहरूको लाश नेपालमा आउने क्रममा कत्ति पनि कमी आएको छैन । यो दर्दनाक घटना हो । भएको जनशक्ति विदेशमा जानु र त्यसमा पनि जीवित फर्कन नपाउनु यस्तो कुरा आफैमा राम्रो होइन भन्ने लाग्दछ । सरकारबाट नागरिकले गरेको अपेक्षाकृत उपलब्धि पाउन नसक्नु एउटा कुरा हो । आवश्यक स्थानमा पनि पाइला नचालेको देख्दा नागरिकहरू झन् आश्चर्यमा परेका छन् ।
दिनदिनै हुने विभिन्न सभा गोष्ठीजस्ता कार्यक्रमा सरकारमा संलग्न ब्यक्तिहरूले गरेको भाषण सुन्दा बाँकी केही रहेनछ भन्ने लाग्दछ, तर धरातलमा हेर्ने हो भने ढलेको सिन्को उठेको अवस्था हो भन्न पनि गाह्रो छैन । किनकी कति भन्दा ठीक हुने र कति भन्दा वेठीक हुने भन्ने कुरा नै टाढा भएको छ यो समयमा । पहिले विपक्षले गर्न दिएन भन्ने गरिन्थ्यो अहिलेको अवस्थामा विपक्षी पनि आफैमा रुमल्लिएको अवस्था छ । उसलाई आफ्नो शरीरको हिलो फाल्नमै ठीक्क छ । आपसी तानातानमै अल्झिएको छ । विषालु सर्पको मुखमा परेको भ्यागुताले किरा च्याँपेजस्तै उसले सत्तापक्षलाई गाली त गर्छ तर उसको सक्कली अनुहार विषालु सर्पको मुखमा परेको भ्यागुताले किरा खानका लागि च्याँपेकोभन्दा फरक छैन । सत्ता पक्षलाई ठीक मार्गमा ल्याउने काम प्रमुख प्रतिपक्षको हो, तर यतिवेला उ आफैमा रुमल्लिएको अवस्थामा रहेकाले यहाँ सवल प्रतिपक्ष छ भन्न पनि गाह्रो छ । सफल प्रतिपक्ष पनि छैन । सरकार अर्काले ढाल्छ भन्ने पनि छैन । यो अवस्थामा जसरी पाइला चाले पनि हुन्छ भन्ने वर्तमान सरकार सत्ता स्वादमा रमाएको हो भन्न अन्कनाउनु पर्दैन । यसले दीर्घकालिन असर पार्छ । भर्खरको कुरा मात्र नभएर भोलिको निर्वाचनलाई समेत प्रभावित बनाउने छ । आजको कमजोरीले भोलि राजनीति गर्नेहरूलाई समेत ठूलो धक्का पुग्नेछ ।
आलोचना गर्ने सबै प्रतिपक्षि वा विरोधी हुँदैनन् । मित्र वा आफन्तहरूले पनि सचेत बनाउने चेष्टा गर्दछन् । उनीहरूले मार्ग अवरोध गर्ने कुरा गर्दैनन् । वर्तमान सरकारको कार्यशैली सुपाच्य भए हुन्थ्यो तर भएको छैन भन्नेहरू त सरकारका शुभचिन्तक हुन् । उनीहरू सरकारका सुपात्र हुन् । यस्ता कुरा गर्नेहरू सधैँ स्तुत्य हुने गर्दछन् । यतिबेला कसैको कोही पनि सति जान तयार छैन । विबेकशील ब्यक्तिले आफू जानेको र सकेको काम कुरामा सघाउने हो । लेख्नेहरूले लेखेर र बोल्नेहरूले बोलेर जसरी सघाउन सकिन्छ त्यसरी नै सघाउने हो । स्वस्थ आलोचना गर्नेहरू सबै मित्र हुन् । अहिले सरकारले देश र जनताको पक्षमा काम गर्न सकेन वा गर्ने जति गरेको छैन भन्नेहरू सबै स्वस्थ आलोचक हुन् । उनीहरूलाई चिन्न सक्नुपर्छ । अहिले कता कता गलत सल्लाहकारको चंगुलमा सरकार परेको छ भनिन्छ । यो भोग्नेहरूले बोलेको कुरा हो । यसमा कति सत्यता छ त्यो सरकारमा बस्नेहरूले स्वमूल्यांकन गर्ने कुरा हो । सरकारले गति लिन नसक्नुमा बाह्यभन्दा आन्तरिक कारण हुनु पर्दछ भन्ने लाग्दछ । कुनै कारण नभई कार्य हुँदैन भनिन्छ, तर कुनै पनि छेउँकुनाबाट यहाँ कार्य भएको छैन भन्नु पर्दछ । किनकी सरकारको कार्यमा कतै गति छैन यो भन्दा फरक के हुन सक्छ ?
सरकार सञ्चालकहरू अधिकांश अनुभवी र पाका देखिनु हुन्छ । तर धेरै कार्यहरू आला काँचाले चलाएको जस्तो भएको छ । पाकाको काम त पाकाले गरेकोजस्तो हुनुपर्ने हो । सरकार सञ्चालनका लागि भित्री रूपमा कुनै कमजोरी छ भने त्यो बाहिर आएको छैन । भन्न त कसै कसैले सरकारले गति लिनकालागि बर्षाैँ देखिको स्थायी सरकार (ब्युरोक्रेसी) को सञ्जाल तोड्न नसकेर यस्तो भएको छ भन्ने चर्चा गरेको सुनिन्छ । यदि यो नै साँचो हो भने यसको स्थायी उपचार खोज्नुपर्छ । यतिवेला विपक्षीहरूले वर्तमान सरकारले जनचाहना अनुसार कार्य गर्न सकेको छैन भन्ने गर्छन् यो त स्वाभाविकै हो, तर, सरकार पक्षका कतिपय नेता कार्यकर्ताहरूले सरकारको गतिका वारेमा प्रश्न उठाउने गर्दछन् । यो भन्दा विडम्वना के भन्ने हो ? यतिवेला दुई तिहाई मत रहेको सरकारको कार्यको चारैतिर वाहवाही सुनिनु पर्ने हो, त्यो सुन्न पाइएको छैन । हिंजोसम्मका कमीहरू जे जे थिए ती सबै हटाएर आगामी दिनमा पार्टी निकट नेता कार्यकर्ताहरूले कम्तिमा छेकवार लगाउने खालको काम देख्न र सुन्न पाउने अपेक्षा गर्नु कुनै अर्घेल्याई हुने छैन । à