© २०२३
स्वच्छ, सफा र सुन्दर वातावरण । चिसो हावापानी । तर गाउँलेहरूको न्यानो माया । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर तीनको एक गाउँ राम्री । नाम जस्तै अत्यन्तै राम्रो छ राम्री गाउँ ।
तुलसिपुर र सल्यान कपुरकोटको बीचमा पर्ने राम्रीबाटै राप्ती लोकमार्ग अगाडि बढेको छ । यहि राम्री गाउँमा गत जेठ महिनामा स्थापना भएको सामुदायिक होम स्टेले बिस्तारै पर्यटकहरूलाई भित्राउँदै गएको छ ।
हुन त अपेक्षानुसार होमस्टे फस्टाउन सकेको छैन । तर शुरुवाती चरण भएकाले निराश हुनुपर्ने अवस्था नआएको सामुदायिक होम स्टे राम्रीका अध्यक्ष दोर्ण आचार्य बताउँछन् । होम स्टेमा अमेरिका, थाइल्याण्ड, भारत लगायतका देशबाट पर्यटकहरू आउने क्रम शुरु भएको उनले बताए । आचार्यले भने, ‘हालसम्म हाम्रो यस होम स्टेमा पाँच सय बढि वाह्य र तीन हजार भन्दा बढि आन्तरिक पर्यटकहरू आउनुभएको छ ।’
बाह्य पर्यटकमा बढिजसो भारतीय पर्यटकहरू आउनुहुन्छ ।’ पर्यटकहरूले स्थानीय उत्पादनबाट बनेका अग्र्यानीक खाना निकै मन पराउने गरेको उनले बताए । ढिडो, सिस्नु, स्थानीय जातको कुखुरा, दहि, घीउ जस्ता खाना होम स्टेमा आउने पर्यटकहरूले मन पराउने गरेका छन् ।
तुलसिपुरको राम्रीलाई पर्यटकीय क्षेत्र बनाउने योजना रहेको छ । राम्रीमा थप ६ वटा होम स्टे थप गरेर पर्यटकहरू भित्राउने योजना रहेको अध्यक्ष आचार्यले जनाएका छन् । उनले भने, ‘कुनै पनि पर्यटकहरू आएर गाउँभरि घुम्न, रमाउन र यहाँ उत्पादीत वस्तुहरूको स्वाद लिन सकुन् भनेर थप ६ वटा होम स्टे निर्माण गर्ने तयारिमा छौँ ।’ यसको लागी समुदायस्तरबाट मात्रै सबै गर्न नसकिने वा कठिन हुने भएकाले सरकारी सहयोगको अपेक्षा राम्रीवासिले गरेका छन् । हालसम्म होम स्टे सञ्चालनका लागी कुनै पनि तह वा निकायबाट सहयोग नभएको जनाउँदै आचार्यले होम स्टेको विकास र पर्यटन प्रवद्र्धनका लागी स्थानीय सरकारको पनि भुमिका त्यत्तीकै हुनुपर्ने धारणा राखे ।
यसैविच होम स्टे सञ्चालनमा केहि चुनौतीहरू पनि देखा परेका छन् । राम्री स्थीत होम स्टेमा अहिले सुरक्षा देखि इन्टरनेटको प्रवन्ध छैन । यसले पर्यटकहरू ढुक्क संग राम्रीमा बस्न सक्ने अवस्था छैन । नजीकमा प्रहरी नहुनु, प्रविधिको युगमा पनि इन्टरनेटको व्यवस्था नहुनु जस्ता कारणले पर्यटकहरू केहि असुविधामा परेको अध्यक्ष आचार्य बताउँछन् । उसो त सुरक्षाको दृष्टीले असुरक्षित मानिने तुलसिपुर कपुरकोट सडक खण्डमा प्रहरीको सुरक्षा आवश्यकता पटक पटक उठ्दै आएको हो । यो विचमा कुनै अप्रिय घटना भइहालेमा कि त तुलसिपुर, कि त सल्यानको कपुरकोटबाट प्रहरी आउनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा राम्रीको आसपासमा प्रहरी इकाइ स्थापना भएमा होम स्टेको प्रवद्र्धनमा पनि फाइदा पुग्ने स्थानीयको आशा छ ।