© २०२३
ओम सतिया गाउँपालिका वडा नम्बर ५ बस्ने ३८ बर्षिय अंगद चौधरीको शंकास्पद मृत्यु भएपछि अनुसन्धानको लागि रूपन्देहीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
मृतक चौधरीको शव भेटिएको १ सातापछि उनको परिवारले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा किटानी जाहेरी दर्ता गरेको छ ।
एक साता भइसक्दा पनि प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै परिवारले सोही ठाउँ बस्ने चन्दन भन्ने राम रतन निषाद र उनका भाई ज्ञानु भन्ने रोशन निषाद बिरुद्ध किटानी जाहेरी दिएको हो । जाहेरी दर्ता भए लगत्तै रूपन्देही प्रहरीले दुवै दाजुभाईलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक उमेश जोशीले पुष्टि गरेका छन् ।
कार्तिक २७ गते छठको रमझम हेर्न हिँडेका गौरीका अंगद चौधरीको शंकास्पद रूपमा मृत्यु भएको थियो । उनको मृत्युलाई पारिवारीक श्रोतले हत्या भएको दाबी गरेको छ भने प्रहरीले कर्तब्य ज्यान या भवितब्य ज्यानका कारण मृत्यु भएको भन्नेमा अनुसन्धान जारी राखेको छ ।
स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूले पनि चौधरीको हत्या भएको बताएका छन् । मृतकको पुगेका संघिय समाजवादी फोरमका सह प्रवक्ता बिद्या यादव, राप्रपाका ताहिर अली, नेपाली कांग्रेसका अकबाल खाँ, राजपाका प्रशान्त गुप्ता, बिनोद कुमार उपाध्याय, योगेन्द्र चौधरी, ओमसतिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रकाश चौधरी, रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्री लगायतका नेताले एकस्वरमा दोषीलाई कारबाही हुनुपर्ने बताए । उनीहरूले राजनैतिक आडमा दोषीलाई उन्मुक्ति दिने प्रयास भई रहेको बताए । आरोपी चन्दन ओम सतिया गाउँपालिकाको नगर प्रहरीको ईन्चार्ज र गाउँपालिका अध्यक्षको नजिकको भएकै आधारमा दोषीलाई उम्काउने प्रयास भइरहेको उनीहरूले आरोप समेत लगाए ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसन्धान अधिकृत समेत रहेका प्रहरी निरिक्षक उमेश जोशीले मृत्युको बारेमा अनुसन्धान भइरहेको बताए । उनले शवको कन्चटमा र दाहिने आँखामा चोट लागेको बताए । मृत्यु शंकास्पद रहे पनि यसलाई अहिले कर्तव्य गरि मारिएको भन्न सक्ने अवस्था नरहेको उनले बताए । अनुसन्धान चलि नै रहेको कारण यस बिषयमा तोकेरै केही भन्न सक्ने अवस्था नरहेको जोशीले बताए ।