© २०२३
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले ठेक्का लिएर विकास निर्माणको काम ‘होल्ड’ गरेर राख्ने निर्माण व्यवसायीलाई कारबाही गरिने बताएका छन् । प्रमुख आयुक्त घिमिरेले विकास निर्माणको काममा अवरोध सिर्जना हुने गरी काम नगर्न पनि चेतावनी दिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त घिमिरेले विकास निर्माणमा अख्तियार बाधक नभई साधक हुने बताए । पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचारका उजुरी पहिलो नम्बरमा पुगेको भन्दै उनले स्थानीय तहका काम कारबाही पनि अख्तियारले नजिकबाट नियालिरहेको बताएका छन् । स्थानीय सरकार र प्रदेश सरकारलाई भ्रष्टचार गर्ने छुट नभएको प्रमुख आयूक्तले बताएका छन् ।
घिमिरेले प्रदेश सरकार स्थानीय सरकार र राष्ट्रसेवक कर्मचारीहरू कसैलाई पनि असफल हुने छुट नभएको बताउँदै यदि असफल भएर त्यसका बिरुद्ध नेपाली जनता उठेमा हातमा टोपी लिएर भाग्नुको बिकल्प नभएको बताएका छन् । बिभिन्न सरकारी कार्यालयहरूमा अख्तियारको रहरले स्ट्रिङ्ग अपरेशन नभएको उल्लेख गर्दै प्रमुख आयुक्त घिमिरेले आयोगको प्राथामिकता भ्रष्टाचारसंग सम्झौता गर्ने नभई भ्रष्टाचार न्युनीकरणमा क्रियासिलता रहेको बताएका छन् । आयोगले हरेक निकायसंग समन्वय र सहकार्य गर्न तयार रहेको हुनाले यसमा सघाउन पु¥याउन सवैको उत्तिकै दायित्व रहेको उनले बताएका छन् ।
आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थका अनुसार पाँच करोड २८ लाख ४५ हजार ५ सय २२ रुपियाँको लागतमा अख्तियारको प्रशासनिक र सुरक्षा भवन निर्माण सम्पन्न भएको हो ।
२०७२ जेठ १४ गते दुईबर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा तीनबर्षमा निर्माण सम्पन्न भएको छ । नेपालगन्जमा आयोगको सम्पर्क कार्यालय स्थापना भएपछि भ्रष्टाचार नियन्त्रण अभियान यस क्षेत्रमा सक्रियतापूर्वक कार्यान्वयन हुने आशा गरिएको छ ।à