© २०२३
नवलपरासी, माघ
जिल्लाको सरावल गाउपालिकाले डुबान क्षेत्रलाई लक्षित गर्दै स्थानियबासीसँग मिलेर विपद न्युनिकरण तथा ब्यवस्थापन योजना बनाउनमा जुटेको छ । विपद ब्यवस्थापनका लागि स्थानिय स्तरमै स्थानियबासीमा जनचेतना अभिवृद्धि गर्ने र योजना बनाउने कार्यमा जुटेको हो ।
गाउपालिकाका सबै भन्दा बढि डुबान हुने वार्ड नं.७ बाट सो योजनाका लागि शुभारम्भ गरिएको गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । कार्यक्रमको शुभारम्भ गर्दै उनले विपद ब्यवस्थापनमा पहिला स्थानियबासी जुट्न पर्यो,उनले भने,तत्पश्चात कुन निकायको के भुमिका हुन्छ,ति निकायको पहिचान गर्नु पर्छ । पहिचान पश्चात संगठित र योजनाबद्ध तरिकाले विपद ब्यवस्थापनमा लाग्न स्थानियबासीलाई आग्रह पनि गरेका थिए । गण्डक कमाण्ड क्षेत्र भित्र गाउपालिकाको भुभाग डुब्ने गरेको हुदा यो डुबान विपद ब्यवस्थापनका लागि गण्डक परियोजनालाई पनि िजम्मेवार बनाईनु पर्ने उनको भनाई थियो । गण्डक परियोजना अन्तरगत नै धनेवा खोलामा बनाइएको बाँधका कारण विगत तिन दशक देखी निरन्तर डुबानको समस्या यहाँका स्थानियबासीले झेल्दै आएका छन् । स्थानियबासीलाई बाढीको बेला राहत लिएर आउने धेरै निकाय भए पनि दिगो निकासका लागि सरोकारवाला मौन रहेको उनको भनाई थियो ।
गाउपालिकाको सानो स्रोतले यस क्षेत्रको डुबान न्यनिकरण र ब्यवस्थापन गर्न समस्या रहेको हुदा स्थानियबासीले प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यहरुलाई पनि विपद ब्यवस्थापन र न्युकिरणमा भुमिका निर्वाह गर्नु पर्ने उनले औल्याएका थिए । सो क्षेत्रको डुबानको कारण झरही नदी,धनेवाखोला र खजुरा खोला रहेको छ,उनले थपे, ति तिनवटै खोलाको पानी एकत्रित भई सरावल ५,६ र ७ नम्बर वार्डको भुमिमा पुग्ने गरेको छ । नदीमा भईरहेको सिल्टेसन(बालुवा जम्ने प्रकृया) लाई मध्यनजर बनाई पहिला खोलाको सफाई गर्नु आवश्यक छ, ७ नं. वार्डका वार्ड अध्यक्ष ह्यात खाँ धुनियाले भने भने,तर तिनवटै खोलाहरुको सिमा अन्य पालिकासँग साधमा रहेको हुदा खोला सफाई र ब्यवस्थापनमा समस्या देखिएको छ । यसका लागि गाउपालिका अध्यक्ष चौधरीलाई जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई नै योजना बनाउनका लागि पहल गर्न आग्रह गरेका थिए ।
समन्वय समिति र स्थानिय प्रशासनलाई आवश्यक प्राविधिक सहयोग चाहिएमा नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरी र भु आर्जन तथा सम्पर्क कार्यालय,बाल्मिकीनगरमा रहेका प्राविधिकको सहयोग लिएर विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)का लागि गाउपालिकाले पहल गर्नु पर्छ । गण्डक क्षेत्र भित्र हरेको चार वटा वार्ड मध्ये एउटा वार्ड आँशिक र तिनवटा वार्ड पुर्ण डुबानको समस्या झेल्दै आएको छ,उनले भने,गाउपालिकाको प्रमुख समस्या नै डुबान हो । तर साधन स्रोतको कमीले पालिका स्तरबाट यहाँको डुबान समस्या समाधान गर्न सम्भव छैन् ।
गण्डक क्षेत्र भित्र परेको हुदा गण्डकसँग सरोकार राख्ने कार्यालयले समस्यालाई उठाउनु पर्ने उनको भनाई थियो । गण्डक सम्झौता अनुसार यस क्षेत्रको सबै जिम्मेवारी गण्डक परियोजना कार्यालयले अगाडी बढाउनु पर्ने तर सरोकारवाला कार्यालयले ध्यान नदिदा तिन दशक देखी डुबानको समस्या झेल्दै आएका छन् । करोडौको धानबाली क्षतिसँगै धनजनको क्षति पनि ब्यहोर्न बाध्य छन् ।
अहिले जतिको समस्या पहिला थिएन,एक स्थानियले भने,तर जब देखी गण्डक सम्झौता भयो । सम्झौता अनुसार धनेवा खोलामा बाँध निर्माण भयो,सोही बेला देखी डुबानको समस्या झन बल्झियो । धनेवा खोलामा बनाईको साईफनहरु भत्किएको दुई दशक भयो,उनले भने, ति साईफन समेत मर्मत हुन सकेको छैन् । कि साइफन निर्माण गरि दिन पर्यो,कि धनेवामा लगाइएको बाँध हटाइदिन पर्यो । अहिले स्थानियबासीले लिटिल गण्डक क्षेत्र पनि अतिक्रमण बढदो क्रममा छ । त्यो अतिक्रमणले पनि जलनिकास थुनिएर समस्या आउने गरेको छ । डुबान एउटा आफैमा विपद भएको र सो विपदका कारण बर्षायामा महामारी जस्तो थप विपद निम्तिने अवस्था छ ।
बाढीको बेला सुत्केरी,विरामी आदीलाई थप जटिलता आउने गरेको छ । खाद्यान लगायतका समस्या हुने गरेको हुदा सबै विपदलाई एकिकृत रुपमा कसरी ब्यवस्थापन गर्न सकिन्छ ? भनेर स्थानियसँग मिलेर जनचेतना र न्युनिकरण ब्यवस्थापनको उपायको खोजी गरि योजना बनाउने कार्य शुरु गरिएको गाउपालिकाका विपद ब्यवस्थापनका फोकल पर्सन अब्दुल खानले बताए । स्थानिय स्तरको समस्या स्थानिय स्तरबाट हल गर्दै लैजानु पर्ने र कुन काम स्थानियबासीले गर्ने कुन काम सरकारका अन्य निकायले गर्नु पर्ने छुट्टयाएर योजना बद्ध तरिकाले कार्य गर्नका लागि कार्ययोजना बनाउने गरि काम भईरहेको छ ।