© २०२३
लोडसेडिङ्ग छैन, नेपालगन्जमा । तर हप्तादिनदेखि विद्युत कतिबेला जान्छ भन्ने कुरै भर छैन । अनियमित विद्युतका कारण यहाँका सर्बसाधारणले हैरानी व्यहोरेका छन् भने उद्योग, कलकारखानालाई समस्या परेको छ । गर्मी अन्त्य भएर चिसो मौसम नजिकिएका बेला बिद्युत सेवाबाट राहात पाउँला भनेर बसेका नागरिकहरूले हैरानी खेपिरहेको नेपालगन्ज सुर्खेतरोडस्थित लक्ष्मी फर्निचरका सन्चालक हरिराम कश्यपले बताए । उनले भने,—‘अब त बिद्युत सहजरूपमा उपलब्ध होला भनेको झन् समस्या उत्पन्न भयो ।’ उनले घण्टैपिच्छे बिद्युत जाने आउने गरिरहेको बताए ।
विद्युत् अनियमित हुँदा स्थानीय पत्रपत्रिका प्रकाशनमा समस्या भएको नेपालगञ्जस्थित त्रिपुरा प्रेसका सञ्चालक दीपक कठायतले जानकारी दिएका छन् ।
विद्युतअवरुद्ध बारे पटक–पटक पहल गरिएपनि नियमित हुन नसकेको उनले गुनासो गरे ।
नेपालगञ्जमा विद्युत् अनियमित हुँदा उद्योग व्यवसायमा क्षति पुगिरहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले भने केन्द्रीय प्रशारण लाइनमाथि दोष थोपार्दै आएको छ । केन्द्रीय प्रशारण लाइनबाट विद्युत् अवरोध भएकाले अहिले नेपालगञ्जमा दैनिक आठ घण्टासम्म विद्युत् अनियमित गर्नुपर्ने अवस्था आएको नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवले बताए ।