© २०२३
यो सल्यान श्रीनगरको घटना हो । गएको भदौ १८ गते प्रकाश बुढाथोकीले आफ्नै दाइ केशरसिंहसँग पाँच सय रूपैयाँ मागे । तर दाइले पाँच सय रूपैयाँ दिन मानेनन् । सधै पैसा मागेर किन सताउँछस् भन्दै केशरले भाइलाइ हप्काए । तर भाइ प्रकाशले आफूलाई अती आवश्यक परेको भन्दै रकम मागीरहे ।
दाइले पाँच सयको साटो एक सय रूपैयाँ दिन्छु भनेपछि दाइभाइको बीचमा विवाद शुरु भयो र परिणाम हत्या सम्म पुग्यो । पाँच सय रूपैयाँको विवादमा अन्दाजी २१ वर्षिय केशरसिंह बुढाथोकीले १४ वर्षिय भाइ प्रकाशलाई हत्या गर्न पुगे ।
दुई दाजु भाईको झगडा हुँदा दाई केशरकी श्रीमती दिपा बस्नेत (बुढाथोकी) पनि सँगै थिइन् । उनले छुट्याउने प्रयास पनि गरेकी थिइन् । यद्यपी झगडा सामान्य नै होला भनेर उनी घटना भएको स्थानको केही टाढा रहेको भान्सा कोठामा खाना पकाउन हिँडेकी थिइन् । दुईभाइको विवादमा भाइको हत्या भएपछि केशरले प्रकाशले आत्महत्या गरेको देखाएर आफू बच्न खोजेका थिए ।
जिल्ला प्रहरी कार्यालय सल्यानले यो कुराको तथ्य पत्ता लगाएर मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
शारदा नगरपालिका–१ श्रीनगर स्थित आफ्नै कोठामा गएको भदौ १८ गते प्रकाश मृत अवस्थामा फेला परेका थिए । शंकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान कार्यलाई अगाडि बढाएको थियो । प्रहरीको अनुसन्धानमा दाइ केशरले भाईको हत्या गरेको स्विकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले २२ दिन पछि घटनाको रहस्य खोलेको हो ।
विवाद हुँदा भाईले सुरुमा दाईको छातीमा हानेको र त्यसपछि दाईले भाईको घाँटीमा दुईपटक हातले हानेर विस्तारामा लडाएको केशरले बयानमा उल्लेख गरेका छन् । ‘विस्तारामा भाइ लडेपछि अब उसको ज्यान गयो, म फस्छु भनी टाईको पासो बनाई मारेर आत्महत्या गरे जस्तो बनाएको हँु,’ दाइ केशरले प्रहरी समक्ष बयान दिने क्रममा भनेका छन् । अभियुक्त केशरलाई अहिले प्रहरी हिरासतमा राखिएको र अबको एक दुई दिनमा सबै फाइल सहित जिल्ला अदालत सल्यानमा पठाईने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सुत्ने कोठा भन्दा भान्सा कोठा केहि टाढा भएको र देवर प्रकाशको हत्यामा अहिलेसम्म कुनै संलग्नता नदेखिएको भन्दै प्रहरीले केशरकी श्रीमती दिपालाई हाजिरी जवानीमा छोडिएको जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सल्यानले दुई हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्लाको शारदा नगरपालिका भित्र रहेका विभिन्न बजार क्षेत्रमा प्रहरीेले अनुगमन गरि अवैध रूपमा राखिएका घरेलु मदिरा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले केहि दिन अघि देखि मदिरा संकलन गरेर मंगलबार नष्ट गरेको हो । शारदा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टोप बहादुर थापाको विषेश उपस्थिती र जिल्ला स्थित पत्रकारको उपस्थितीमा मदिरा नष्ट गरिएको हो ।