© २०२३
प्रधानमन्त्री केपी ओली देशकै कार्यकारी प्रमुख हुन् । उनको लागि कुन कम्युनिष्ट, कुन काँग्रेस वा अरू कुनै पार्टी, संघ, संगठनमा जोडिएका, नजोडिएका सबैका उनी प्रमुख अभिभावक हुन् । देशकै कार्यकारी प्रमुख पदमा उभिएपछि यो मेरो पार्टीको मानिस, त्यो फलानो पार्टीको मानिस भनेर कसैलाई काखा र कसैलाई पाखा लगाउनु मिल्दैन । प्रधानमन्त्रीको पद समष्टि हो भने पार्टी अध्यक्षको पद ब्यष्टि हो । यो नै हरेक देशमा लागू हुने नीति तथा सिद्धान्त हो । तर, हाम्रो देशमा अहिलेसम्म कुनै पनि नेताहरू प्रधानमन्त्री बनेपछि फगत पार्टीको प्रधानमन्त्री मात्र बन्दै आए । देशको प्रधानमन्त्री, आम जनताको प्रधानमन्त्री बन्न सकेनन् । वर्तमान प्रधानमन्त्री केपी ओली त प्रधानमन्त्री निकै कम र पार्टीको अध्यक्ष बढी बनेको पाइयो । उनले राजधानीको एउटा कार्यक्रममा पार्टीका कार्यकर्तालाई प्रधानमन्त्रीविरुद्ध उभिनेलाई अरिंगालको गोला बनेर जाइलाग्नु पर्ने पाठ सिकाएका छन् । अरिंगाल यस्तो बिषालु र आक्रामक किरा हो जसले उसको गोलालाई छोइदिन्छ वा नजिक जान्छ त्यसकाविरुद्ध सिंगो गोलामा रहेका अरिंगाल निस्केर आक्रमण गर्छन् । शत्रु सोझो प्रकारको छ भने त मार्न पनि सक्छन् । प्रधानमन्त्रीले आफूविरुद्ध देखिने जो कोहीलाई पनि अरिंगाललेजस्तो आक्रमण गर्नका लागि उकासे । यसको अर्थ प्रधानमन्त्रीको सबै कामको आँखा चिम्लेर स्वागत गर्दै ताली ठोक्नु पर्ने भयो । कुनै कामको पनि विरोध तथा आलोचना गर्न पाइएन । कार्यकर्ताहरू अरिंगाल बनेर विरोध गर्नेमाथि जाइलाग्ने भए । यसलाई राजनीतिमा तानाशाही भनिन्छ । हुकुमी शासन शैली भनिन्छ ।
प्रधानमन्त्री साझा ब्यक्तित्व हो । जनताले यहि अर्थमा बुझेका हुन्छन् । फलानो पार्टीको प्रधानमन्त्री भन्दैनन् । देशको र जनताको प्रधानमन्त्री भन्छन् । यो कुरा प्रधानमन्त्री ओलीलाई पनि थाहा भएको विषय हो । सार्वजनिक महत्वको प्रमुख पदमा बसेको ब्यक्तिसँग कुन पार्टीको, कुन विपक्षको भनेर मागहरू राख्ने गरिँदैन । जनताले देशको प्रधानमन्त्री भनेर आफ्ना मागहरू राख्छन् । माग राख्दा पाएनन् भने सडकमा आन्दोलन पनि गर्छन् । गाडी चालकहरूले आन्दोलन गरे । वार्ता भयो । सरकारले माग पूरा गर्ने भनेर लिखित प्रतिबद्धता जनायो । चालकहरू काममा फर्किए । चालकहरू कुनै पार्टीका मन्त्रीहरूसँग माग राख्न गएका थिएनन् । देशका मन्त्रीको कार्यालयमा गएका थिए । जनताका अधिकारहरू जब कुण्ठित हुन्छन् सरकारसँग माग राख्छन् । उनीहरू पार्टी कार्यालयमा माग लिएर जाँदैनन् । तर, प्रधानमन्त्रीको हेराइमा आफ्नो पार्टी तथा नेताहरूलाई प्रमुखतामा राखिएको छ । आफ्ना नेता, कार्यकर्तालाई महत्व दिइन्छ । सरकारी ढुकुटीबाट उनीहरूलाई पोषिएको हुन्छ । आसचपु (आर्थिक सहयोग, चन्दा, पुरस्कार) को ढोका उनीहरूको लागि मात्र खोलिएको हुन्छ । देशको आम्दानी बढाउने ठाउँमा केही हुक्के, चम्चे, धुपौरेहरूलाई मात्र मोटाउन हालिएको छ । यसले पनि प्रधानमन्त्री ओली देशको प्रधानमन्त्री बन्न नसकेको प्रमाणित गरेको छ ।
नेताहरूले अशल संस्कार अवलम्बन गर्नुपर्छ । दलीय राजनीतिमा दलको भुमिका हेर्ने टिम अर्कै हुन्छ । सरकारमा गएमा त्यसको भूमिका भिन्न हुन्छ । त्यो साझा नेता हो । देशको नेता हो । देशको नेता भएको प्रत्याभूति दिलाउने काम नेतैले गर्नुपर्छ । अरूले गरिदिने होइन । पञ्चायतकालमाजस्तो राजाको हुकुमी शासन गर्ने जमाना अब छैन । जनताले निर्धक्क भएर स्वतन्त्र रूपमा सरकारको आलोचना गर्न पाउँछन् । सरकारबाट हुने गलत कामको खबरदारी गर्न पाउँछन् । हुकुमी शासन गरेर जनतालाई तर्साउन अब सकिँदैन । त्यो सपना कसैले पनि नदेख्दा हुन्छ । लोकतन्त्र भनेकै जनताले चुनेका प्रतिनिधिले शासन हैन, प्रशासन, सुशासन चलाउने परिपाटी हो । यहि ब्यवस्था ल्याउनको लागि देशमा हजारौँ योद्धाले प्राणको वलिदान गरेका थिए । केपी ओलीका अरिंगाल बन्ने भाषण सुन्नका लागि त्यो बलिदान दिइएको थिएन । जनताका पक्षमा त आजसम्म राम्रा काम हुन सकेका छैनन् नै, बालिका देखि बृद्धासम्मका महिलाहरू वलात्कृत हुन्छन्, निर्दयताकासाथ मारिन्छन्, हत्याराहरूलाई रातारात लुकाइन्छ । महंगीले जनताको ढाड सेकेको छ । कमिशनखोरहरू जहाँतहिँ सल्बलाइरहेका छन् । भ्रष्टाचार, घुसखोरीले पञ्चायती शासनलाई उछिनेको छ, जताततै अराजकता छाएको छ । देशको अवस्था यस्तो तुल्याउने, उता कार्यकर्तालाई अरिंगाल बन्न सिकाउने गरिन्छ भने यो देशलाई पार्टीका प्रधानमन्त्रीले कता डोराउलान् सोँच्नुपर्ने भएको छ ।