© २०२३
काठमाडौं, १८ मंसिर ।
सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय चितवन लगिएको छ ।
लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट भर्खरै सरकारी वकिलको कार्यालयमा पठाइएको चितवनका एसपी गौतम मिश्रले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई मंगलबार बिहान मात्रै काठमाडौंबाट बयानका लागि चितवन लगिएको थियो ।
साहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते रविसहित १० जनाविरुद्ध पूरक जाहेरी दर्ता भएको थियो ।
काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्यााइएका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान लिइएको थियो ।
यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।
५ मंसिरमा २४ जना बचतकर्ताले साहारा सहकारीको रकम अपचलन गरेको भन्दै लामिछानेसहित १ण् जनाविरुद्ध जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ ।
दोस्रो चरणको अनुसनधामा साहाराका बचतकर्ताले रवि र छविसँगै जीबी ग्रुप अफ कम्पनीका शेयरधनी सिन्धुलीको दुधौली नगरपालिका-२ का विशाल तामाङ, अर्का शेयरधनी नवीन अछामी, रबिना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, भगवती बम्जन, कविता तामाङ, रामबहादुर खनालविरुद्ध उजुरी दिएका थिए ।
यसअघि गत ८ भदौमा साहारा सहकारी ठगी प्रकरणको मुद्दा चितवन जिल्ला अदालतमा दर्ता भएको थियो । अहिले विचाराधीन अवस्थामा रहेको उक्त मुद्दामा १७ जनालाई प्रतिवादी बनाइएको थियो ।
त्यतिबेला सहकारीका संस्थापक अध्यक्ष जीबी (गितेन्द्रबाबु) राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर गरी १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो ।
त्यतिबेला ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकालदै मुद्दा दायर गरिएको थियो।