© २०२३
बैदेशिक रोजगार विभागको पछिल्लो तथ्याँक अनुसार दैनिक करिव पाँचजना नेपाली श्रमिक बन्द बाकसमा कैद भएर स्वदेश फकाईदै गरेका छन् । सपनाको संसारमा डुबुल्की मार्दै परिवारको उन्नत जीवनको खुसीमा रमाउँदै बिदेश उडेकाहरू यसरी बन्द बाकसमा कैद भएर स्वदेश फकाईदा आफन्तको मात्रै होइन, सम्पूर्ण नेपालीजनको आँखामा आँशु झरीरहेको छ । आफन्तको बिछोडमा बिमानस्थलमा देखिने आफन्तजनको आँशुको भेलले आम नेपालीलाई पिरोलेको मात्र छैन, अविश्रान्त देखिने यो श्रृंखला कहिले अन्त्य हुने हो ? चिन्ता उत्पन्न भएको छ । नेपाली श्रमिक बाध्य भएर बैदेशिक रोजगारीमा जानुपरेको छ । नेपालमा प्रशस्त रोजगारीको अवसर नहुँदा बिदेशिनु नागरिकको बाध्यता हो । अहिलेपनि नेपालमा रोजगारी नपाएर लाखौँ नेपाली श्रमिक विदेशी भूमिका श्रम गर्न बाध्य छन् । कहिले द्वन्द्व, कहिले अराजकता, कहिले बन्द–हड्ताल त कहिले आन्दोलनबाट वाक्क भएर आफू र आफ्नो परिवारको पेट पाल्न विदेशिएका नेपालीले पठाएको रेमिटेन्सले नै देशको अर्थतन्त्र धानिएको छ । करिब ७० लाख नेपालीका परिवार रेमिटान्सबाट धानिएका छन् । तर, विडम्बना ! कठिन परिश्रम गर्न विवश तिनै नेपालीहरूमध्ये दैनिक पाँचजनाको हाराहारीमा बन्द बाकसमा कैद हुन बाध्य छन् । नेपालमा प्रजातन्त्र आएको ३५ बर्ष हुँदैछ । त्यसयता बनेका दर्जनौं सरकारले जनताको आशा र विश्वासमाथि कुठाराघात गरिरहेका छन् । विदेशमा पसिना बेचेर परिवार र बालबच्चाको खुशीका लागि विदेशिने नेपाली श्रमिक अकालमै बाकसका कैद भएर आउनु अत्यन्त पीडादायी हो । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लास भित्रिँदा पनि नेपाली समाज र सरकारलाई नदुख्नु विडम्बना हो । निश्चितरूपमा जन्मपछि मृत्यु सत्य छ । एकपटक यो संसारमा पदार्पण गरेपछि जानु नै छ । मृत्यु शास्वत सत्य छ तर, अकाल मृत्युलाई स्वाभाविक ठान्ने चिन्तन कदापि राम्रो होइन । विदेश गएका औसत नेपालीहरू जोखिममा काम गर्न बाध्य भैरहेका छन् ।
पछिल्लोसमय खाडी राष्ट्र जाने नेपाली महिलाहरू समेत अत्यन्त जोखिममा काम गरिरहेका छन् । उनीहरूको जीवनको सुरक्षा छैन् । सरकारले समेत बैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन प्रयास नगर्नु चिन्ताको कुरा हो । हरेक दिन सामाजिक सञ्जालमा महिलाहरूले उद्धार गरिदिन गर्दै आएको रोदन अझै कति सुनिरहने ? अहिले विभिन्न सामाजिक संस्था तथा व्यक्तिहरूले त्यसरी बिपदमा परेका दुःख पाएका नेपाली चेलीहरूको उद्धार गर्दै आएका छन । यो खुसीको कुरा हो तर जबसम्म बैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सकिदैन तबसम्म यो समस्याले निकास पाउँदैन । तसर्थ सरकारले चाहेमा बैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सक्छ । नेपालीले नेपालीलाई लुटने, ठग्ने, ढाँटने र छलकपट गर्ने र अनेकौं जालझेल गर्ने क्षेत्रको रूपमा बैदेशिक रोजगारीको क्षेत्र बदनाम भएको छ । म्यानपावर कम्पनीको नाममा नेपालीमाथि अनेक पीडा थोपर्ने काम भएको छ । यद्यपि सवै म्यानपापर कम्पनी एउटै प्रकृतिका छैनन् । पछिल्लोसमय बैदेशिक रोजगारीलाई अव्यवस्थित बनाउने काम सुरु भएको छ । सामाजिक सञ्जालका माध्यमबाट अनेकौं प्रलोभन दिएर सोझा सिधा नेपालीलाई ठगी गर्ने क्रम फेरीपनि सुरु भएको छ । टिकटकका माध्यमबाट आकर्षक रोजगारीको ग्यारेन्टी दिने र नेपालीलाई झुक्याउने काम भैरहेको छ । आम नेपाली जनता यो बिषयमा सचेत बन्नैपर्दछ । बैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले ढिलाई गरेको छ । जतिसुकै समृद्धिको सपनाका कुरा गरेपनि सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने कामतर्फ चासो नदेखाएकै हो । सरकारले वैदेशिक रोजगारलाई नियमन नगरेसम्म न त वैदेशिक रोजगारीमा जाने क्रम घट्नेछ, न विदेशबाट नागरिकका शव आउने क्रम नै रोकिनेछ । तसर्थ सरकार अव ढिलो भैसक्यो बैदेशिक रोजगारीलाई व्यवस्थित बनाऊ ।