Butwal Today

घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी

१८ मंसिर २०८१, मंगलवार
अ+
अ-

गुल्मी, १८ मंसिर ।

वर्षौदेखि खानेपानीको समस्याबाट पीडित बनेका गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत दजाकोटका जनता यतिबेला घरघरमा खानेपानी पुगेपछि निकै खुसी बनेका छन् । लिफ्ट प्रबिधि मार्फत खोलाको पानी गाउँसम्म पुर्याएर घरघरमै खानेपानीको धारा खसेपछि स्थानीयहरु खुसी बनेका हुन ।

खानेपानीको अभावमा काकाकुल जस्तो बनेको उक्त गाउँमा एक गाग्री पानी लिनका लागि डेढ घण्टा टाढा पुग्नु पर्ने बाध्यता थियो । ‘बिहानै भालेको डाँकोसँगै उठेर पानी बोक्न जानु पथ्र्यो, ती दिन सम्झदा अझै ताजै जस्तो लाग्छ, यसरी कुनै दिन घरमै पानीको धारा खस्ता भनेर सोंचेको पनि थिएन,’ स्थानीय ५७ वर्षीय यम बहादुर गाहले बताएका छन ।

दजाकोट गाउँ २०७३ बैशाख १८ मा आगलागीले ध्वस्त भएपछि श्रोत नहुँदा त्यहाँ खानेपानीको समस्या थियो । पुर्वाधार साझेदारी बिकास कार्यक्रम अन्तर्गत ६५ लाख, खानेपानी तथा सरसफाई कार्यालय गुल्मीको ९७ लाख ४८ हजार, नेपाल विद्युत प्राधिकरण मार्फत ४३ लाख ९० हजारका विद्युतिय सामग्री एवं स्थानीय जनश्रमदान ३७ लाख ५० हजार गरि कुल दुइ करोड ४३ लाख ८८ हजार लागतमा गाउँमा खानेपानी पुगेको हो ।

बस्तीदेखि ६ सय मिटर तलबाट लिफ्ट प्रबिधि मार्फत यतिबेला घरघरमा खानेपानी पुगेको हो । ‘एक घर एक धारा’ खानेपानी योजना मार्फत त्यहाँका एक सय २३ घरमा पानेपानी पुगेको हो । गाउँमा खानेपानी नहुँदा स्थानीयहरुले विगतमा छल्दिखोला र ओलाङ्दीसम्म पुगेर पानीको जोहो गर्नु पर्ने अबस्था थियो । पुस्तौदेखि खानेपानीको समस्या झेल्दै आएका दजाकोटमा लिफ्ट प्रबिधि मार्फत खानेपानी पुगेपछि अब पानीको समस्या टरेको छ । प्रयाप्त पानी नहुँदा गाई वस्तुलाई पेटभरी पानी खुवान पनि आकासको भर पर्नु पथ्र्याे, खोलाको पानी यसरी घरघरमा आउला भन्ने गाउँका धेरैैलाई पत्यार थिएन ।

खर्चिलो भएपनि प्रबिधिले दजाकोटका जनातको मुहार परिवर्तन गरेकोे छ । पानी पुगेपछि समयको पनि बचत हुने, कृषि र पशुपालन गर्न पनि सजिलो हुने, समयको पनि बचत हुँदा बालवालीकाको पठनपाठनमा पनि यतिबेला धेरै मद्दत पुगेको छ । उक्त खानेपानीको पुर्व मन्त्री एवं गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले उद्घाटन गरेका थिए ।