© २०२३
यही मंसिर १६ गते आईतबार हुन गैरहेको उपनिर्वाचनका लागि विहिवार राती १२ बजेदेखि मौन अवधी सुरु भैसकेको छ । दलहरूले अन्तिम चुनावी सभा विहिवार सम्पन्न गरेका छन । यो उपनिर्वाचन कुन दलको उमेदवार चुन्ने वा छनोट गर्ने बिषयमात्रै महत्वपूर्ण होइन, २०८४ मा हुने स्थानीय तथा आमनिर्वाचनको पूर्व मत सर्वेक्षण पनि हो । उपनिर्वाचनकै सन्दर्भमा हाम्रो सामाजिक, आर्थिक विकासका चुनौती र विकासको मोडलबारे बहस गर्ने अवसर पनि हो । उपनिर्वाचनमा होमिँदै गर्दा दलहरूले राजनीतिक एवं वस्तुगत परिस्थिति र अवस्थाको सही ढंगले विश्लेषण गर्नु जरुरी छ । यो उपनिर्वाचनपछि मत परिणामले ल्याउन सक्ने खतरा एवं चुनौतीको सामना गर्दै अवसरलाई ‘क्यास’ गर्न उचित योजना, रणनीति बनाउनु दलहरूको काँधमा छ । निर्वाचित जनप्रतिनिधिलाई जनताले आफ्नो सार्वभौम अधिकार सार्वजनिक हितका लागि प्रयोग गर्न मतदानमार्फत प्रत्यायोजन गरेका हुन्छन । यस्तो अधिकारको प्रयोग जनप्रतिनिधिले व्यक्तिगत हित र स्वार्थका लागि प्रयोग नगरोस् भन्ने अपेक्षा आम नागरिकको हुन्छ । अधिकारको दुरूपयोग नहोस् भन्नाका खातिर मतदाताले सक्षम, योग्य र इमानदार उम्मेदवार को छ भनी थाहा पाउनु उसको अधिकार हो । उम्मेदवारको विगतको पृष्ठभूमि, अनुभव, समाजसेवामा योगदान, उसको आय वैध वा अवैध के हो ? यी धेरै कुराको नागरिकले लेखाजोखा गर्न पाउनुपर्छ । तसर्थ मतदाताले यो उपनिर्वाचनबाट योग्य उमेदवार छनौट गर्नेछन् भन्ने विश्वास गरिएको छ ।
मतदाताले कस्तो योग्यता, क्षमता भएको उम्मेदवारलाई मतदान गरी निर्वाचित गराउने भन्ने कुरा मतदाताको विवेकमा निर्भर रहन्छ । निर्वाचनमा मतदाताले जस्तो उम्मेदवारलाई मतदान गरी निर्वाचित गर्छौं त्यस्तै शासन पाउँछौँ । तसर्थ मतदाताले पछि पछुताउनुभन्दा समयमै उचित र विवेकसम्मत निर्णय गर्नु आवश्यक हुन्छ । लोकतन्त्रमा निर्वाचनको माध्यमबाट जनताका प्रतिनिधिहरू चुनिन्छन् र जनताको नाममा जनप्रतिनिधिहरूले शासन प्रक्रियामा सहभागी भई सेवा प्रवाह तथा समृद्धिका लागि कार्य गर्ने मान्यता छ । मुलुकको शासन सञ्चालन गर्ने जनप्रतिनिधिहरू इमानदार, सक्षम, निष्ठावान्, सेवाको भावना, दूरदृष्टि, न्याय दिन सक्ने तथा विवेक भएका, स्वार्थरहित भावना भएका उद्देश्यवान् र प्रतिबद्ध हुनुपर्छ । त्यस प्रकृतिका गुण भएका व्यक्तिलाई राजनीतिक दलले उम्मेदवार बनाउनुपर्छ र त्यस किसिमका गुण भएका व्यक्तिलाई जनताले पनि विवेक प्रयोग गरी छनोट गर्नुपर्छ । जनताका प्रतिनिधि एवं उम्मेदवार र नेतृत्वकर्तामा महत्वपूर्ण योग्यता एवं गुण हुनुपर्छ । राजनीतिक दलहरूले पनि नागरिकको चाहना र अपेक्षा अनुरूप उम्मेदवारको छनोट गर्नुपर्छ । हाम्रा होइन राम्रा उम्मेदवार चयन गर्नुपर्छ । मतदाताहरूको पनि आफ्ना कर्तव्य र दायित्वहरू छन । नागरिकले विवेक पु¥याउनुपर्ने विषयहरू पनि छन् । समाजमा सदाचार, निष्ठा, इमानदारिता तथा अनुशासनको पालना गरी समाजमा ख्याति आर्जन गरेका उच्च नैतिक चरित्रवान् उम्मेदवारलाई मतदाताले छनोट गर्ने वातावरण सिर्जना हुनुपर्छ । अवको दिनमा उम्मेदवार मात्र थुपार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु आवश्यक छ । राम्रो व्यक्ति उम्मेदवार छनोट भई निर्वाचित भएमा जनताको हितमा धेरैभन्दा धेरै काम भई समस्त समाज नै लाभान्वित हुन्छ । उम्मेदवारहरूप्रतिको असन्तुष्टिका कारण नागरिक मतदान गर्न जान मन नलाग्ने अवस्था सिर्जना हुन दिनु हँुदैन । यस विषयमा मतदाता सचेत हुनु जरुरी छ । पैसामा उम्मेदवारको मोलमोलाइ हुने स्थितिको अन्त्य हुनु आवश्यक छ । जुनसुकै दलको उम्मेदवार भए पनि राम्रो उम्मेदवार, नैतिकवान्, निष्ठा भएको कुशल उम्मेदवार मतदाताले चयन गर्नुपर्दछ । निर्वाचनमा कसैको दबाब, प्रभाव एवं प्रलोभनमा नपरी योग्य र इमानदार एवं निष्ठावान् उम्मेदवारलाई मतदाताले छनोट गर्न सक्नुपर्छ । हाम्रो होइन, राम्रो र योग्य उम्मेदवार छनौटमा मतदाताले विवेक प्रयोग गर्ने बेला आएको छ । अव नातावाद, कृपावाद, धनवाद, डनवाद भन्दा माथि उठी निष्ठा, त्याग, असल, इमान्दार राजनीति गर्ने सक्रिय, जुझारु, जनप्रेमी उम्मेदवार जिताउनेतर्फ ध्यान दिनु अत्यावश्यक छ ।