© २०२३
हेटौंडा ।
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उमा मगर शेर्पा विजयी भएकी छिन्।
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा यस गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शेर्पा विजयी भएकी हुन्।
उनले २ हजार ८०५ मत प्राप्त गर्दै विजयी भएकी हुन् भने नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पा २ हजार ६ सय मत प्राप्त गरेकी हुन्।
यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार पाशदिकी तामाङ शेर्पाको पक्षमा १ हजार ७ सय २७ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यो सँगै गौरीशंकर गाउँपालिकामा एमालेले आफ्नो विरासत फर्काएको छ। २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष देखि सबै वडाको वडाध्यक्ष पद जितेको एमालेले गत स्थानीय तह निर्वाचनमा हार व्यहोर्न परेको थियो।
गौरीशंकरको अध्यक्ष पदमा माओवादीका विश्वास कार्की विजयी भएका थिए भने उपाध्यक्षमा कांग्रेसका श्यामसुन्दर तामाङ विजयी भएका थिए।
गौरीशंकरमा आइतबार उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा १५ हजार ७ सय १८ मतदातामा ७ हजार ५ सय ८९ मत खसेको थियो। उक्त पालिका उपाध्यक्ष बन्न राजनीतिक दलका र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा थिए।