© २०२३
श्रम विभाजनमा हरेक २४ घण्टाको दिनलाई तीन भागमा विभाजन गरिएको छ । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भनिएको छ । कुनै पनि मानिसले लगातार लामो समयसम्म काम गरिरहन सक्तैन । यदि गर्न सक्छ भने पनि त्यो काम चाहिएजस्तो रूपमा ढालिन सक्तैन । न त श्रमिक नै लामो आयु बाँच्न सक्छ । तर, हाम्रा घरेलु महिलाहरू यस्ता लौह श्रमिक हुन् उनीहरूले घरका काम लगातार लामो समयसम्म गर्न सक्छन् । किनभने काम गर्न वाध्य छन् । कृषि गृहस्थी पेसा नै बडो अचम्मको छ । यसले मानिसलाई यो वा त्यो ढंगबाट काममा जोताइरहन्छ । आज त कतिपय कामहरू मेसिनले गर्न थालेका छन् । तर, केही दशक पहिलेसम्म सबै काम घरेलु औजारका माध्यमबाट मानिसले नै गर्नुपर्ने वाध्यता थियो । त्यसमा पनि महिलाहरू बढी मात्रामा घोटिनु पथ्र्यो । पुरुष प्रधान समाजमा महिलालाई पुरुषले काममा बढी जोताउँदै आएको छ । त्यसमाथि महिलालाई नै सन्तान उत्पादन गर्नुपर्छ । घरका सम्पूर्ण मसिना कामहरू महिलाले नै गर्नुपर्छ । त्यो पनि विना पारिश्रमिक । यो कुरा तीजका गीतहरूले बोलिरहेका छन् । महिलाहरू विगतमा कस्तो अवस्थाबाट गुज्रेका थिए त्यो तीजका गीतहरूबाट प्रकट हुन्छ ।
आज महिलाहरूको पर्व तीज हो । यसलाई संस्कृतमा हरितालिका पनि भनिन्छ । तीजको कथामा पार्वतीलाई पात्र बनाइएको छ । पार्वतीले शिवजीलाई पति पाउँ भनी भोकहडताल गरेको यसमा बताइन्छ । उनका बाबाले विष्णुसँग विवाह गरिदिन लाग्दा त्यो बैवाहिक सम्बन्धको विरुद्धमा शिवजीलाई रोजी भोक हड्ताल गरेको र उनको हडतालले सफलता पाएको किंवदन्ती रहेको छ । कथामा पात्रहरू जोसुकै खडा गरिए पनि यो महिलाहरूले आफ्नो इच्छामा पति चयन गर्न पाउनु पर्छ भन्ने भाव बोकेको छ । त्यतिबेला चेलीहरूको सानै उमेरमा विवाह गर्ने चलन थियो । जुन चलन आज पनि कतिपय ठाउँमा कायमै छ । विवाह सम वयस्कको आधारमा नभई धनको आधारमा हुने गर्दथ्यो । धनीहरूले दर्जनौँ कलिला नानीहरूसँग विवाह गर्न सक्थे । त्यसमाथि सतिप्रथा पनि कायम नै थियो । अनमेल विवाह गरेको बृद्ध पुरुषको निधन भएपछि भरखरै कलिलो उमेर पार गरेका युवतीहरू पतिसँग सति जानुपर्ने वाध्यता थियो । उनीहरू कालगतिले मर्न पनि पाउँदैनथे । न त आफ्नो खुसीले बाँच्न नै पाउँथे । वास्तवमा महिलाहरू पौराणिक कालबाटै आधा जीवन लिएर दविएर, खिइएर, पुरुषको सेविका भएर बाँच्नुपर्ने अवस्था थियो । त्यसको अबशेष अझै पनि कतिपय ठाउँमा देख्न सकिन्छ । यहि छनक तीजले दिएको पाइन्छ ।
नेपाल बहुसाँस्कृतिक मुलुक हो । यहाँ खोलैपिच्छे, टोलैपिच्छे डाँडैपिच्छे बेसीपिच्छे अलग अलग संस्कृति झल्कन्छन् । सबै मेलापर्वहरू पुरुष र महिलाका साझा रहे पनि तीज भने महिलाकोमात्र पर्व मानिन्छ । यसमा पुरुषको कुनै भूमिका रहेको हुँदैन । महिलाहरूले आफ्नो घरमा पाएका पीडाहरू माइतीमा आएर गीतको माध्यमबाट पोख्ने पर्वको रूपमा लिइन्छ । अहिले यो राजनीतिसँग पनि जोडिएर आउने गरेको छ । सरकारको कटु आलोचना गीतबाट गरिएका हुन्छन् । नेताहरूको चीरहरण गरिएको हुन्छ । किनभने सत्ता नै पितृसत्तात्मक जगमा खडा भएको छ । महिलाहरूको नामबाट सन्तानलाई नागरिकता दिन पनि सरकार हिच्किचाएको छ । महिलालाई विभिन्न तहमा ३५ प्रतिशत सहभागिता गराउने भनिए पनि महिलाका ठाउँमा पुरुषलाई नै स्थान दिने गरिएको छ । अहिले त भ्रुणमा छोरी भएको पाइएमा जन्मनै नदिने जस्ता काम पनि भएको देखिन्छ । महिलामाथि हुने गरेका अनेकन अन्यायविरुद्ध महिलाहरूले सशक्त रूपमा आवाज उठाउने एउटा पर्व हो हरितालिका तीज । तीज पर्व देश विदेशमा रहेका सबै महिला समुदायमा सुखद् रहोस्, मन्दिर वा आँगनमा पूजाआजा गरेर वा भोकै ब्रत बसेर होइन कि खाना खाएर दह्रो भएर आफ्ना हक अधिकारहरू स्थापित गर्ने शक्ति मिलोस् । हार्दिक शुभकामना ।