© २०२३
आज विश्व प्राथमिक उपचार दिवस हो । प्राथमिक उपचार भन्नाले कुनै पनि चोटपटक लाग्दा वा कुनै कारणबाट शरीरले अस्वस्थ महशुस गर्दा गरिने पहिलो घरेलु वा चिकित्सकीय उपचार पद्धति हो । कसैलाई सर्पले टोक्यो भने सबैभन्दा पहिले टोकेको ठाउँको तलमाथि कपडाले कसेर बाँध्ने गरिन्छ । ताकि त्यसको जहर सम्पूर्ण शरीरमा फैलन नपाओस् । त्यसरी नै टोकेको घाउमा सफा नयाँ ब्लेडले चिरेर घाउलाई तल पारेर ठूला अस्पतालमा उपचारको लागि लैजाने गरिन्छ । यसो गर्दा रगतको प्रबाहसँगै विषको मात्रा पनि रगतसँग बाहिर निस्किरहेको हुन्छ । ठूला अस्पतालमा लैजानु अघि जे जति काम भयो त्यो प्राथमिक उपचार हो । कसैलाई चोटपटक लाग्दा रगतको बहावलाई रोक्नको लागि घाउको सफाइ गर्ने, बेन्डेज गर्ने, टिटानस सुई दिनेजस्ता काम गरिन्छ । यो नै प्राथमिक उपचार हो । यस्ता प्राथमिक उपचारहरू कतिपय मानिसले घरमै सामग्रीहरू राखेर गर्छन् भने कतिले त्यस्ता सिपयुक्त मानिसलाई घरमा बोलाएर उपचार गर्न लगाउँछन् । कसैलाई कुनै कारणबस ज्वरो आउँछ, उसलाई तत्काल सिटामोल आदि औषधि खुवाउने, पानीपट्टी लगाउने काम गरिन्छ । त्यसरी नै कोही मानिस नदीमा डुब्यो, पानी खाएर पेट फूलेको भेटियो भने उसलाई घोप्टो पारेर पेटमा थिचिदिँदा मुखबाट पेटमा भएको पानी निस्कन्छ । त्यो पनि प्राथमिक उपचार हो ।
प्राथमिक उपचारलाई आधारभूत उपचार मान्न सकिन्छ । विश्वमा यस्तो कुनै पनि देश छैन कि जहाँ घरघरमै उपचार केन्द्र होस् । तर, सम्पन्न मुलुकहरूमा सबै नागरिकका घरमा प्राथमिक उपचारका सामग्री तथा एकजना सदस्यलाई प्राथमिक उपचारको सिप भने सिकाइएको हुन्छ । सरकारले नै यस्ता काम गर्छ । निश्चित औषधिहरूको एउटा किट बक्स दिइन्छ । यो भने हरेक गाउँका किसानहरूको घरमा उपलब्ध हुन्छ । त्यस्तै सरकारको तर्फबाट घुम्ती उपचार गर्ने गाडीमा एकजना डक्टर, एकजना नर्स र विभिन्न उपचार तथा औषधिका सामग्रीको ब्यवस्था मिलाइएको हुन्छ । बिरामीलाई बोकेर अस्पताल जानुको सट्टा खबर पाउँदासाथै डक्टर, नर्स र औषधिको गाडी बिरामीको घरमा पुग्छ । सो टोलीले उपचार गर्छ । त्यसलाई त्यहाँ प्राथमिक उपचार भन्ने गरिन्छ । सो टोलीको सल्लाह बमोजिम बिरामीलाई अस्पतालमा लैजानु पर्ने भएमा गाडीमै लगिन्छ । बिरामीलाई जे जस्तो उपचार गर्नुपर्ने हो त्यो सबै सरकारले गर्छ । बिरामीको कुनै आर्थिक लगानी लाग्दैन । जनताको उपचार गर्न पाउने अधिकार त्यहाँ सुरक्षित हुन्छ । जनताले सरकारलाई कर तिरेका हुन्छन् । कर तिरेबापत राज्यले दिने सुबिधा हो त्यो ।
नेपालमा यस्तो कुनै ब्यवस्था छैन । कतिपय बिरामीलाई उपचार तथा औषधिमा छुट दिने भनिए पनि केही पहुँचवाला भीभीआइपीलेमात्र पाएका छन् । उनीहरूले त नेपालमा उपचार पनि गर्दैनन् । पैसाको कुम्लो बोकेर विदेश जान्छन् र विदेशमा गरिने आफ्नो उपचार तथा कुरुवाको सम्पूर्ण खर्च राज्यबाट भराउँछन् । सर्बसाधारण जनताले उपचार गर्नको लागि सधै ऋण खोज्नुपर्छ । भएको गरगहना झिटीझाम्टो बेचविखन गर्नुपर्छ । सरकार सर्वसाधारण नागरिकको लागि यहाँ बनेकै होइन । जनताबाट कर निचोरेर सम्भ्रान्तहरूकोे सेवा गर्न गठन भएका संस्था हुन् नेपालका विभिन्न तहका सरकारहरू । हुँदाहुँदा विभिन्न गाउँमा जनताका स्वास्थ्यलगायत विविध कार्यमा सहयोगीको भूमिका खेल्दै आएका सामाजिक परिचालकहरू अहिले निस्काशित भएर सडकछाप बनाइएका छन् सरकारबाट । आन्दोलन चलिरहेको छ । कम्तिमा उनीहरूले गाउँका सर्बसाधारण जनतालाई सेवा तथा सुझाबहरू दिन्थे । बिरामी पर्दा अस्पतालसम्म पुराउँथे । जानेसम्मका प्राथमिक उपचारहरू गर्थे । उनीहरूलाई विभिन्न तालिमहरू दिएर दक्ष बनाई गाउँले जनताको सेवामा लगाउनुको साटो उल्टै निस्काशन गर्ने काम भएपछि जनताले सरकारबाट के आशा राख्नु ? प्राथमिक उपचारका लागि सरकारले सम्पूर्ण घर परिवारमा एकजना मानिसलाई दक्ष बनाउने, किट बक्स प्रदान गर्ने, जनताको उपचारमा घुम्ती सेवा सञ्चालन गरी बिरामीको घरमै डाक्टर, नर्सलाई औषधिसहित पुराउने काम त वर्तमान र भोलि बन्ने यहि प्रकृतिको सरकारबाट कल्पनासम्म पनि गर्न सकिँदैन । तै पनि दिवस भने मनाउने परम्परा चलिरहेको छ ।