© २०२३
जीवनसँग निरास भएपछि मानिसले आफूलाई मेटाउन चाहन्छ । आफूले आफैलाई मृत्युको मुखमा धकेल्छ । यसलाई आत्महत्या भन्ने गरिन्छ । आज विश्व आत्महत्या रोकथाम दिवस हो । विश्वमा दैनिक कति मानिसले आत्महत्या गरी प्राण गुमाएका होलान् यो तथ्य त संयुक्त राष्ट्रसंघले राखेको होला, तर, अनुमानको आधारमा भन्नुपर्दा दैनिक सयको संख्यामा मानिसले आत्महत्या गरेको अनुमान गर्न सकिन्छ । मानिसले आत्महत्या गर्नुका अनेक कारणहरू हुन्छन् । परिबार समाजमा हुने हेलाहोँचो, अपमान, भविष्यमा देखिएको असफलता, आर्थिक बोझ, विभिन्न रोगहरूको संक्रमण र उपचारमा असफलता, घरेलु यातना, ऋणको भार, मानसिक तनाव, यौन कुण्ठा, यौन उच्छिृखलता आदि कुराहरू झेल्न नसक्ने अवस्थामा पुगेपछि मानिसले आफूलाई मेटाउनु नै उपयुक्त ठान्दछ । यस्तै धेरै कारणहरूले गर्दा अहिले ठूलो संख्यामा मानिसहरूले आत्महत्या गरेको पाइन्छ । यद्यपि विश्वका अधिकांश मुलुकमा आत्महत्या कानुनी रूपमा अपराध ठान्ने गरिन्छ । तथापि आत्माबाटै मृत्यु अँगालेर हिँडेको मानिसलाई कसले बचाउने ? एक दुईपटक बचाए पनि उसले मानिसको आँखा छलेर आत्महत्या गर्न पुग्छ । यस्तो हुँदै आएको छ ।
आत्महत्यालाई हाम्रो समाजले घृणा गरेको पाइन्छ । यसलाई कायरहरूको सोँच मानिएको छ । यो मानिसको आबेगको सोँच हो भनिन्छ । तर, पनि हरेक दिन वा हरेक दुई दिनमा कहिँ न कतै कुनै प्रकृतिका मानिसले आत्महत्या गरेकै समाचार सुन्नु परेको हुन्छ । मानिसले आत्महत्या गर्नुको पछाडि राजनैतिक, सामाजिक, आर्थिकलगायतका विभिन्न कारणहरू जोडिएका हुन्छन् । यस्तो जघन्य निर्णय गर्न एक्लै मानिसले झट्टै सक्तैन । आत्महत्याको निर्णयमा पुग्नको लागि मानिसलाई त्यति सहज छैन । तर, राज्यसंरचनाले परिबेश बनाइदिने काम भने गरिरहेको हुन्छ । हाम्रो समाज शोषणमुलक समाज हो । शोषण के कसरी गरिएको हुन्छ त्यसको विषयमा यहाँ ब्याख्या गरिरहनु जरुरी छैन । शक्तिशालीले कमजोर पक्षलाई यो वा त्यो बहानामा उसँग भएका विभिन्न बस्तुहरू शोषण गरिरहेको हुन्छ । राज्यले त्यसैअनुसारको सम्बिधान, कानुन बनाएको छ । बजेट प्रबाह हुन्छ तर, सत्तामा पहुँच भएकाहरूको लागिमात्र । ऋण खोजेर कर तिर्नुपर्ने शासन प्रणाली नेपालमा लादिएको छ । रोजगारीका अबसरहरू छैनन् । लगानी गरेर पढ्यो, तर, नतिजा फेलमा निस्कन्छ । बिरामी हुँदा सिटामल किनेर खान नसक्ने आर्थिक अवस्थामा ठूलो संख्याका मानिसहरू बाँच्दै आएका छन् । मुठ्ठीभरका भुइँफुटुवा सामन्तहरूको हातमा अथाह सम्पति थुप्रिएको छ । अहिले त नेपालमा असुरक्षित ठानेर विदेशमा ओसार्ने काम हुँदैछ । यस्तो राजनैतिक, आर्थिक विषमताको अवस्थामा मानिसलाई राज्यप्रणाली कमजोरहरूको आत्महत्या गर्ने काख सावित हुँदैछ ।
आत्महत्या रोकिनु पर्छ यो एकदम जरुरी कुरा हो । यसलाई रोक्नको लागि त्यहि किसिमको थिति बन्नु आवश्यक छ । यसलाई हत्केलाले रोकिने होइन । देशको बेरोजगारीको अवस्थाले नेपालजस्तो मुलुकमा धेरै मानिसलाई आत्महत्याको मुखमा धकेलेको छ । रोजगारी छैन, आम्दानी नभएपछि किनेर खान र परिवारलाई पालपोषण गर्न सक्ने अवस्था छैन । कुनै काम गर्नको लागि शैक्षिक योग्यता हुँदैन । सम्पति हुँदासम्म साहुले पहिल्यै कागजमा सही धस्काउन लगाएर ऋण दिन्छन् । ब्याजलाई दोब्राउँछन् र त्यसलाई मुलधनमा परिणत गर्छन् । हिसाब पुगेपछि बसोबासबाट हुत्याइदिन्छन् । अनि ? मृत्युको काखमा पुग्नुको विकल्प भेटिँदैन । यो अवस्था कसरी बन्न पुग्यो ? सम्पति नहुनु, पढाइ नहुनु, रोजगारी नपाइनु, साहुहरूले ब्याजलाई दोब्राउन पाइनु यो सबै राज्यले निर्धारण गरेको ब्यवस्था हो । निजी पूँजीवादी ब्यवस्थामा यो निरन्तर चलिरहने प्रक्रिया हो । यसकारण राज्यप्रणाली हुँदा खाने मानिसहरूको लागि आत्महत्याको काख सावित भएको छ भनिएको हो । समाजवादी ब्यवस्था स्थापना गर्दासाथै र ब्यक्तिको मुठीमा रहेको सम्पत्ति राष्ट्रको सम्पत्तिमा रूपान्तरण हुँदासाथै आत्महत्या गर्ने मानिस स्वभाविक रूपमा न्यून हुन्छ । आत्महत्याको जननी नै निजी पूँजीवादी समाज हो । यो कुरा सबैले बुझ्नु आवश्यक छ ।