© २०२३
आज शिक्षा तथा साक्षरता दिवस हो । शिक्षा भनेको ज्ञान हो । ज्ञानकै माध्यमबाट विश्वका कतिपय बैज्ञानिकहरूले आफ्नै हातबाट आधुनिक उपकरणहरू निर्माण गरी विभिन्न अन्तरिक्षहरूको अवलोकन गर्दैछन् । अत्याधुनिक सुचना संयन्त्रको आविस्कार गरेका छन् । यसका पछाडि शिक्षा तथा साक्षरताको मुख्य हात रहेको छ । मानिस स्वभावैले जिज्ञासु प्राणी हो । आफ्ना दैनिक गतिविधिबाट मानिसले प्रारम्भिक ज्ञान सिक्यो । ब्यवहारबाट ज्ञान आर्जन गर्दैजाँदा साक्षर बन्यो । शिक्षित बन्ने बाटो अबलम्बन ग¥यो । अहिले शिक्षा क्षेत्रमा मानिसले निकै उचाइको फड्को मारेको छ । असम्भव भन्ने कुरा केही नहुँदोरहेछ । तर, शिक्षा आर्जन गर्ने क्रम रोकिँदैन । भोलिका दिनमा मानिसले कस्ता बस्तुको आविस्कार गर्छ, मानिसको बसाइ कहाँ पुग्छ यो अनुमान गर्न सकिँदैन । किनभने ज्ञानको खोजीमा मानिस निरन्तर लागिरहेको छ । आज हामीले कल्पना नगरेका कैयौँ बस्तुहरू खेलाउने मौका पाएका छौँ । अत्याधुनिक विज्ञान प्रविधिसँग साक्षात्कार गर्न पाएका छौँ ।
हाम्रोजस्तो मुलुकको कुरा गर्दा शिक्षा तथा साक्षरताका सन्दर्भमा अहिले पनि अवस्था दयनीय छ । हाम्रा पाका पुस्ताहरू आज पनि औँठाछापमा जीवन बिताइरहेका छन् । खाद्यबस्तुको खोलमा कति मूल्य लेखेको छ भनेर पढ्न सक्तैनन् । औषधिको मिति सकिएको जानकारी हुँदैन । विश्वका मानिसले परिक्रमा गरेका अन्तरिक्षहरूलाई दैबी शक्ति मानेर पूजा गरेका हुन्छौँ । आधुनिक शिक्षाको कुरा गर्दा वि.सं. १९१० मा दरबार स्कूलको स्थापनासँगै अङ्ग्रेजी शिक्षा प्रणालीको सुरुआत भएको थियो । उच्च शिक्षाको औपचारिक सुरुआत भने वि.सं १९७५ मा त्रिभुवन चन्द्र कलेज (त्रिचन्द्र कलेज) को स्थापनाबाट भएको देखिन्छ । तथापि त्यो शिक्षा राजा महाराजाका स्तुतीगानमा सीमित थियो । वि.सं.२००७ भन्दा पहिले शिक्षाको पहुँच ज्यादै सीमित व्यक्ति तथा समुदायमा खुम्चिएको थियो । वि.सं. २००७ सालमा नेपालको साक्षरता करिब दुई प्रतिशतमात्र थियो भने प्रारम्भिक (प्राथमिक) स्कूल÷पाठशालाहरूको संख्या ३२१, माध्यमिक स्कूलहरू ११ एउटा संस्कृत विद्यालय, एउटा आयुर्वेद विद्यालय र उच्च शिक्षाअन्तर्गत एउटा कलेज सञ्चालित थिए । सर्बसाधारण मानिसको लागि शिक्षा आर्जन गर्ने अवस्था थिएन ।
अहिलेको कुरा गर्दा देशमा ३४ हजार ७ सय ३६ वटा आधारभूत (कक्षा १–५), १५ हजार १ सय ७० वटा आधारभूत (कक्षा ६–८) र ९ हजार ३ सय ७९ वटा माध्यमिक (कक्षा ९–१२) विद्यालय तथा एक हजार ८६ वटा परम्परागत विद्यालय संचालित छन् । त्यसैगरी ९ वटा विश्वविद्यालय र ३ वटा मानित विश्वविद्यालयले विभिन्न विषयमा उच्च शिक्षा प्रदान गर्दै आएका छन् । शिक्षा मन्त्रालयकाअनुसार विद्यालय तहमा (कक्षा १–१२) मा ७४ लाख ४६ हजार ९७ र विश्वविद्यालय तहमा ४ लाख ४१ हजार ४६१ विद्यार्थीहरू अध्ययनरत छन् । त्यसैगरी वर्षेनी ठूलो संख्यामा विद्यार्थीहरू अध्ययनको लागि विदेश जाने गरेका छन् । देशमा रहेका शैक्षिक संस्था र त्यहाँ अध्ययनरत विद्यार्थी संख्यालाई हेर्दा नेपालले शिक्षा क्षेत्रमा हासिल गरेको उपलब्धिलाई राम्रै मान्नुपर्ने हुन्छ । तर, साक्षरता संख्या बढे पनि शिक्षामा सक्षमता भने बढेको छैन । यस्तो अवस्था आउनुको पछाडि नेपालीको क्रयशक्ति बढ्न नसक्नु प्रमुख कारण हो । गुणस्तरीय शिक्षा अहिले सर्बसाधारणको लागि निकै महंगो भएको छ । शिक्षा किन्न सक्नेहरू विलाशी बन्दै गइरहेका छन् । जसले मुलुकको लागि केही गर्ने चाहना राख्छ त्यसले शिक्षा किन्न सक्तैन । अहिले मुलुक संघीयतामा अभ्यास गर्दैछ । शिक्षाजस्तो आधारभूत गुणस्तरीय ज्ञानक्षेत्रलाई कसरी सर्बसाधारण जनताको पहुँचमा पुराउने भन्ने कुरामा संघीय, प्रादेशिक तथा स्थानीय सरकारले नयाँ ढंगबाट सोँच्नु आवश्यक छ ।