© २०२३
महिलाहरूले सानो बचतबाट पनि ठूलो लगानी गर्न सक्छन भन्ने उदाहरण गोडारका थारु महिलाहरूले दिएका छन् । दैनिक गर्जो टार्नसमेत समस्या पर्ने गाउँका थारु महिलाहरूले अहिले अतिथि गृह संचालन गर्न सफल भएका छन् । गाउँमा बचत संकलन गरेको साहारा महिला बचतमा १ सय रूपैयाँको किस्ता जम्मा गर्दै आएका थारु महिलाहरू बिस्तारै स्वावलम्बन बन्न सफल भएका छन् । गाँउका २९ जना महिलाहरूको सक्रियतामा अतिथि गृहमा प्रत्येक महिलाहरूले १ लाखका दरले २९ लाख लगानी भएको अतिथि गृहकी अध्यक्ष देउकुमारी मुखिया थनेतले बताइन् ।
संस्कृतिका धनि थारु जातीको संस्कृति र रहनसहन पर्यटनमार्फत प्रवद्र्धन गर्दै ब्यवसायिक रूपमा होमस्टे संचालन गर्र्दा धेरै फाईदा मिलेको उनले बताइन । अझै धेरै सेवा सुबिधाहरू थप गर्न बाँकी रहेको अध्यक्ष थनेतले बताइन् । समूहका २९ जनासमेत गरि करिब ७० लाख लागतमा अहिलेको पूर्वाधार निर्माण गरिएको उनले बताइन् । अतिथि गृहमा सोही समूहका ९ जना महिलाहरू कर्मचारीको रूपमा कार्यरत रहेका छन् । दिदिबैनीहरू जम्मा भएर सहकारीमार्फत बचत शुरु गरेका उनीहरू अहिले आफ्नै अतिथि गृह संचालन गरेर सेवासँगै संस्कृति जगेर्नाका काम गर्दै आएका छन् । अतिथि गृहकी अध्यक्ष देउकुमारी मुखिया थनेतले महिलाहरू आर्थिक पाटोमा कमजोर हुँदा पछि परेको महसुस गरेर यसरी आफूहरू अघि बढेको बताइन् । थारु सांस्कृतीक अतिथि गृह संचालनमा आएसँगै स्थानीय महिलाहरूले समेत रोजगारी पाएका छन् । थारु महिलाहरूद्वारा संचालित थारु सांस्कृतिक अतिथि गृह प्रा.लि. मा पर्यटकको आकर्षण बढेको छ । स्थापनाको छोटो समयमा नै गृह आकर्षणको केन्द्र विन्दु बन्दै गएको हो । अतिथि गृहमा खुलेको भर्खर ३ महिनाभित्र आन्तरिक पर्यटकहरूको भिड लाग्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई थारु समुदायको संस्कृति बारे जानकारीका साथमा आतिथ्यता दिने उद्देश्यका साथ थारु महिलाहरूले गृह खोलेका हुन् । नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती नगरपालिका–१५, गोडारमा थारु महिलाहरूले सञ्चालन गरेको थारु महिला अतिथि गृह बैशाख २९ गतेबाट सुभारम्भ गरिएको हो । यहाँको भवन संरचनामा पनि थारु संस्कृति झल्कने माटोको झांतो, चुल्हो, भाँडाकुँडा समेतले सजाएर राखिएको छ । जसले गर्दा गृहसँगै लोप हुने अवस्थामा पुगेको थारु संस्कृतिको संरक्षणमा टेवा पुगेको थारु सांस्कृतिक अतिथि गृहकी अध्यक्ष मुखिया थनेतले बताइन् । यस गृहमा थारु समुदायका खानाका परिकार चिंचर, घोंगी, लिटी, सोझुवा रोटी, हांसको मासु र माछाका परिकार मुख्य परिकार र पर्यटकहरूको रुचि अनुसारको खानाहरू पाइने, नेपाली, इन्डियन कन्टिनेन्टल खाना साथै अडर अनुसारको क्याटरीङ्गको व्यवस्था समेत रहेकोले पनि अधिकांसको रोजाई बन्दै गएको थनेतको भनाइ रहेको छ ।
करिब १ विगाहा क्षेत्रफलमा फैलिएको रमणीय स्थानमा भएको यस गृहमा हाल २ सय जना सम्म अट्ने सभाहल रहेको छ । यस्तै २४ जनासम्मको क्षमताको आरामदायी आवासको व्यवस्था समेत रहेको छ । शान्त र मनोरम खुल्ला स्थानमा रहेको गृहमा आउने पर्यटकहरू फेरी अर्को बसाइँको योजना बनाउने गरेका छन् ।
पर्यटकहरूलाई प्राकृतिक मनोरमका साथ सेवा दिन बगैँचा बनाउने योजना समेत रहेको अध्यक्ष थनेतले जानकारी लिइन् । गृहमा पार्कीङ्गको पनि राम्रो व्यवस्था मिलाइएको छ । गृहमा आउने पर्यटकहरूको लागी भिलेज वाक, बयलगाडा सफारी, जंगल सफारी, साईकल टुर, जिप सफारी, जंगल सफारी बोटिङ्ग, पोखरीमा फिसिङ्ग, नारायणी नदीमा सुर्यदय र सुर्यास्त दृश्य अवलोकन, थारु संग्राहलयको अवलोकन साथै स्थानीय महिलाहरूद्धारा विविध सांस्कृतिक कार्यक्रमहरू समेत गरिँदै आएको छ ।