© २०२३
सानो उमेर छँदा लोककथाहरु निकै सुन्ने र सुनाउने गरेको अहिले पनि राम्रोसंग याद आइरहन्छ । प्रायःगरेर भदौको महिनामा बारीको मकै भाँचिसकेपछि घरमा ल्याउने अनि साँझको खाना खाएर त्यो मकै बनाउनु पर्दथ्यो । त्यतिवेला घरको आँगनमा मकैको सुली बनाउने प्रचलन थियो । घर ल्याईएको मकै बनाउँदा आलोपालो लोककथा सुन्ने र सुनाउने गरिन्थ्यो । त्यतिवेला लोककथाको महत्व थाहा थिएन । यसको मर्म र प्रभावका वारेमा कहिल्यै सोंचिएन । कसैसंग छलफल पनि भएन । कसले कति भन्न सक्छ भन्ने प्रतिष्पर्धा पनि थिएन । यो त खाली रमाइलोको लागि भन्ने गरिन्थ्यो । रातमा अलि अवेरसम्म काम गर्दा निद्रा लाग्ने भएकाले लोककथा निद्रा भगाउने ओखतिको रुपमा भनिन्थ्यो । एकातर्फ मनोरञ्जन हुने अर्कोतर्फ निद भगाउने भएरपनि उहिले कहिल्यै सुनेका लोककथाहरु भन्ने गरेजस्तो लाग्छ ।
लोककथाका रचनाकार को हुन ? कसका पालादेखि कथाहरु बोलिन थाले ? राजा प्रजा कसबाट आरम्भ भयो ? यसको कुनै तथ्यगत प्रमाण छैन । प्रमाणमात्र होइन यस्ता कथाहरु लिपिमा पनि छैनन् । आजभोली केही अनुसन्धानकर्ताहरुले लिपिमा राखेका होलान त्यो देखि बाहेक यस्ता कथाहरु लिपिमा देखिएका छैनन् । यो पंक्तिकारले आफूले सुनेका र भन्दै आएका झण्डै तीन दर्जन लोककथाहरु लिपिमा राख्न सकेको निवेदन गर्नुपर्दछ । एकजना चेलीले लोककथामा अनुसन्धान गर्ने विचार बनाउनु भएको रहेछ । कहिलेकाँही अन्य विषयवस्तुहरु खोज अनुसन्धान गर्ने र लेखहरु तयार गर्ने भएर पनि हुनसक्छ उहाँले यो पंक्तिकारलाई सम्पर्क गर्नुभयो । त्यतिवेलामात्र लोककथाको महत्वको वारेमा याद भयो । उहाँ हाम्रै निवासमा आउनु भयो । त्यही समयमा आफूले संकलन गरेका लोककथा केही वाचन गरेर सुनाएँ अनि केही उहाँले उतार गरेर लग्नुभयो । साथै पल्लो गाउँमा एकजना लोककथा भन्ने ज्येष्ठ नागरिक हुनुहुन्थ्यो । उहाँको सम्पर्क दिएर पठाएँ । उहाँले आफ्नो लोककथा अनुसन्धानको स्रोतमा यस पंक्तिकारको नाम उल्लेख गर्नु भएको रहेछ । सायद यो सन्दर्भस्रोतमा आफ्नो नाम आएको पहिलोपटक थियो । ती चेलीले सन्दर्भस्रोतमा नाम उल्लेख गरेपछि राजधानी र मोफसलमा अध्ययन गर्ने केही विद्यार्थीहरुले सम्पर्क गरेर विभिन्न विषयका सोधपत्रमा आफ्नो चाहना पूरा गर्नुभयो । उहाँहरु सबैलाई सक्दो सहयोग गरियो । यो क्रम अहिलेपनि चलिरहेको छ ।
केही समययता नेपालीको परिवार सानो भएको छ । छोरो बाबुको नजिकमा बस्ने चाहना गर्दैन । कतिपय छोरा छोरी विदेशमा बस्ने गर्छन भने बाबु आमा नेपालमा रहेको अवस्था छ । साथमा भएका छोरा छोरीहरु पनि बाबु आमाका समिपमा बस्नै चाहँदैनन् । जवकि साथमा छोरा छोरी नभएपनि कसरी लोककथा सुनाउने । अनि उनीहरुले लोककथा कसरी थाहा पाउने ? कसैले लोककथा सुनाउने चेष्टा गरिहाल्यो भने पनि यस्ता पुराना कुरा कसले सुन्छ ? भनेर टारी दिन्छन् । अव त मोवाईलमा संसार भेटिने हुनाले यस्ता लोकथाहरु सुन्ने सुनाउने स्वभाव नै हटेको छ । न अव पहिले जस्तो मकैको उत्पादन हुन्छ न परिवार एकसाथ बसेर मकै बनाउने टन्टा गर्नुपर्छ । न त लोककथाहरु पुस्तान्तरण हुन पाएका छन् । पहिले सुनाउने लोककथा, सास्तर, गाउँखाने चुड्का अव सुनाउने समाज र समय नै छैन । यस्ता खालका चुट्किला र सास्तर अति ज्ञानवर्धक र रसिला थिए र छन् पनि । अव ती सबै लोपोन्मुख अवस्थामा पुगेका छन् । वर्तमान अवस्थामा ६÷७ वसन्त पार गरेका ज्येष्ठहरुसंग केही मात्रामा होला तर वर्तमान युवा शक्तिमा यस्ता कुराले प्रवेश नै पाएन । ती ज्येष्ठहरुसंग भएका लोककथाहरु लिपिवद्ध नभएका कारणले लामो समयसम्म नभनिएकाले कति त विस्मृतिका कारणले लोप भइसकेका हुन सक्छन् ।
लोककथाहरु सुन्दा सुनाउँदा कसैलाई घाटा पर्दैन । आज यसको संरक्षण (लेखन तथा प्रकाशन) गरिएन भने भोली हाम्रो समाजबाट सबै लोप भएर जाने अवस्था हुनेछ । लोककथा लोप हुनु भनेको केही ज्ञान र केही सीप लोप हुनु हो । हाम्रा लोककथा डाइनोसारको बाटोमा जाँदैछन् । यस्ता कुरालाई जनस्तरबाट संरक्षण गरिनु पर्दछ र राज्यले पनि आफ्नो दायित्व संझनु पर्दछ । दुबै पक्षबाट यसको संरक्षण हुन सक्दछ । लोककथा संकलनका प्रसंगमा डायरीका पानामा लिपिवद्ध गरिएका लोककथाहरु मध्येबाट यस पटकलाई एउटा लोककथा पस्कनु सान्दर्भिक हुने छ । लोककथाहरु कुनै छोंटा र कुनै कुनै अलिक लामा पनि पाइन्छन् । यसको विशेषता भनेको एकादेशबाट आरम्भ गर्ने नै हो । यसका पात्र, स्थान र संवाद आफ्नै खालका हुन्छन् । आजभोली लेखिने कथासंग यसको ढाँचा नमिल्न पनि सक्छ । जे होस् एउटा लोककथा यस प्रकार रहेको छ ः लोककथाको शीर्षक “झोलीको राज” रहेको छ ।
“एकादेशमा एउटा लेक थियो । त्यस लेकको नाम कुसुण्डे लेक थियो । त्यो कुसुण्डे लेकको फेंदीमा एकजना योगीले कुटी बनाएर बसेका थिए । उनको एउटा चेलो थियो । योगीले चेलोलाई पढाएर पारङ्गत बनाएका थिए ।
योगी वृद्धमात्र होइन बयोवृद्ध भइसकेका थिए । योगी बयोवृद्ध भए पनि कहिले आफै भिक्षाटनमा जान्थे त कहिले चेलोलाई पठाउँथे । आफू भिक्षाटनमा जाँदा चेलोलाई वनमा दाउरा फलफूल लिन पठाउँथे । चेलो गाउँमा भिक्षा लिन गयो भने योगी आफै वनामा पुगेर दाउरा र फलफुल बटुल्थे । यसैक्रमले योगी र चेलाको दिनचर्या वितेको थियो । योगीले एकदिन आफ्नो झोली चेलोलाई जिम्मा लगाउने अनि आफू कतै गएर समाधि लिने विचार बनाए । एकाविहानै उठेर योगीले चेलोलाई भने– “ल बावु ! यो झोली समाउ, यो झोलीलाई मुसाले नकाटोस् भनेर सधै चनाखो रहनु । तिमी रहुन्जेल मुसाले यो झोली कहिल्यै नभेटोस् यसको सुरक्षा गर्ने जिम्मा तिम्रो । म अव समाधि लिनका लागि यहाँबाट टाढा कतै जान्छु ।” चेलाले उत्तर प्रतिउत्तर प्रतिप्रश्न गर्न नपाउँदै योगी कुटीबाट निस्किएर हिंडे ।
यो घटनाले चेलोको मनमा अनेकन कुरा खेल्न लागे । योगी बाबाले किन मुसाबाट मात्र झोली बचाउनु भने ? धमिरो नलागोस भनेको भएपनि हुन्थ्यो । कतै विर्सिएर नखसोस भनेको भए पनि हुन्थ्यो । यसको सुरक्षा गर्न सधै साथमा राखिराख्नु भनेको भए पनि हुन्थ्यो । चेलो आश्चर्यमा प¥यो । कसरी मुसाबाट जोगाउने भन्ने तर्क वितर्क गर्न लाग्यो ।
दिउँसोभर यसैका वारेमा चिन्तन गरेर वितायो । रातमा पनि यही सोंचीरह्यो । अन्तमा उसको मनमा एउटा बिरालो पाल्ने सुद्धि फि¥यो । अर्कोदिन विहान उ भिक्षाटनका निम्ति र कतै कुनै गाउँमा बिरालो पाइए ल्याउने भनेर हिंड्यो । उ प्रत्येक घरमा भिक्षा माग्दै र बिरालो सोध्दै हिंड्यो । केही घर हिंडेपछि बिरालो भेटायो अनि कुटीमा लिएर आयो ।
भोकले गर्दा बिरालो जोड जोडले कराउन लाग्यो । उसको भोक शान्त गराउन चेलो गाउँतिर गयो । मुखिया बाको घरमा पुगेर आफ्ना सबै दुखेसो सुनायो । अनि मुखिया बालाई पनि उसको कुरा सुनेर टिठ लागेर आयो । त्यसैले मुखिया बाले एउटा दुहुनु गाई दिएर पठाए । चेलो विहानभर घाँस दाउरा गर्दथ्यो । अनि दिउँसो गाई फुकाएर वनतिर लगाइ दिने र आफू गाउँमा भिक्षाटनका निम्ति गाउँ जाने गर्न लाग्यो । लामो समय यसैगरी वित्यो । यता गाईको बाच्छी ठूलो हुँदै गयो । गाई र बाच्छीको गोवर पनि जम्मा गर्न लाग्यो । गोवर देखेर उसलाई बारी आवाद गर्न मन लाग्यो । उसले गोवर तह लगाउने जति बारी बनाएर खेती आरम्भ ग¥यो । समय वित्दै जाने क्रममा गाईको संख्या पनि बढदै गयो । गोवर पनि बढदै गयो । त्यसै अनुसार बारी पनि बढदै गयो । उसले आफै एक्लै खेती गर्न नसक्ने भएपछि गाउँलेहरुसंग सम्पर्क बढायो । नजिकको खोलाबाट सिंचाईको प्रवन्ध मिलायो । अव उसले केही जमिन खेत बनायो केही बारी नै राख्यो । केही नोकर चाकर पनि थप्दै गयो । खेतबारी प्रगन्ना हुन पुग्यो । उमेर बढदै जाँदा उसले ठूलोमौजा नै तयार ग¥यो । त्यही एकादेशको कुसुण्डे पहाडको कुटी र योगी गुरुले दिएको झोली बचाउन एकादेशमा राज्य नै विस्तार भयो । त्यही राज्य थियो झोलीको राज्य । पाठकवृन्द लोककथा सारमा यही हो । यसको रस जसले जसरी पनि लिन सक्नु हुनेछ ।
हाम्रो समाजमा भएका लोककथामा आफ्नो गाउँठाउँका बोलीचालीका कुरा, भेषभुषाका कुरा, रहनसहनका कुरा, रीतिरिवाजका कुराका अतिरिक्त उत्पादनका कुरा समेत समावेश भएका पाइन्छन् । कुनै कुनै लोककथाहरु व्यंग्य मिश्रित पनि पाइन्छन् । हाम्रा लोक कथाहरुलाई डाइनोसार हुनबाट बचाउन आफ्नो गाउँ ठाउँमा भनिदै आएका र सुुनिदै आएका लोककथाहरुलाई लिपिमा राख्ने अनि प्रकाशनको प्रयासमा जुट्न आवश्यक छ । चेतना भया । धन्यवाद ।