© २०२३
आज मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस हो । यो शब्दले नै बोलेको छ कि नेपालमा मानिसहरू बेचबिखनका बस्तु बनाइएका छन् । मानिसलाई अन्य कुनै बस्तुले बेच्न सक्तैन । मानिसलाई मानिसले बेच्ने गर्दछ । बाठा फटाहाहरूले विभिन्न प्रलोभन देखाएर सोझासिधा मानिसलाई ललाइफकाइ गरेर अरूलाई बेच्ने गर्दछन् । नेपालमा मानिसहरू बेच्ने एकखालको पेसा बनाइएको छ । छोरी चेलीहरूलाई काम लगाउने नाममा विभिन्न बेश्यालयमा मोटो रकममा बेच्ने गरिन्छ । काम दिलाइदिने नाममा कमिशन लिएर कतिपय एजेण्टहरूले युवा युवतीहरूलाई बिदेशमा बेचेका हुन्छन् । त्यसरी बेच्नको लागि सरकारले नै एजेन्सी खोल्नको लागि अनुमति दिएको हुन्छ । सरकारलाई कसैले पनि कर ति¥यो भने जे कामको लागि पनि लाइसेन्स दिने गर्छ । कुन जायज हो, कुन नाजायज हो त्यो छुट्टाउने गर्दैन । न त कोही बेचिएको उजुरी गर्दा त्यसमाथि कारबाही हुन्छ । केही घुस, नजराना दियो भने उजुरीको कागज यो टेबुलबाट त्यो टेबुल हुँदै हराउँछ । घुस्याहा सरकारले फगत पैसालाई न्याय र अन्यायमा परेकालाई पीडा दिएको हुन्छ । चेलीबेटी, कामदार बेच्ने दलालभन्दा न्याय दिने कुर्चीमा बसेकाहरू ठूला अपराधी बनेको अवस्थामा पीडितले न्याय पाउने आशा नै रहँदैन ।
मान्छे बेच्ने संस्कृति आजको हैन । राणाकालमा कतिपय मानिसले आफ्ना राम्रा जिउडाल मिलेका छोरीलाई दरबारमा ल्याएर बुझाउनु पथ्र्यो । त्यस्ता छोरी चेली राणाका मानिसले देखे भने यो केटी त दरबारमा लैजाने खालकी छ भनेर डोराउन थाल्थे । त्यसबापत केही पैसा दिन्थे । बाबुआमालाई लाग्थ्यो कि छोरी दरबारमा गएपछि आफ्नो आम्दानी बढ्छ । यसलाई शानको रूपमा लिन्थे । त्यहिअनुसार काम पनि पटाउँथे । छोरीमाथि कस्तो ब्यवहार गरिन्थ्यो बाबुआमालाई चासो हुन्थेन । त्यो चेली बेचबिखन गर्ने परम्परा थियो । दरबारमा हुने यो चलनलाई गाउँका जमीन्दारले पनि सिको गरेका थिए । गाउँघरमा विहे हुने छोरी चेलीलाई अन्माउनु भन्दा पहिले उनीहरूले उपभोग गर्थे भने कसैले बुहारी ल्यायो भने सुहागरात उनीहरूले मनाइदिन्थे । यसरी खुलेआम यौन शोषण गरिएको हुन्थ्यो । अहिले विभिन्न एजेन्सी खोलेर विदेशमा युवा युवतीलाई कामको बहानामा बेच्ने गरिन्छ । नेपाली चेलीहरू विभिन्न बेश्यालयमा यौन पेसामा पठाउने गरिएको छ । राम्रो आम्दानी हुने वहाना बनाएर बेश्यालयमा धकेलिएको छ । नारकीय जीवन बाँच्न बाध्य बनाइएको छ । यो काम गर्ने, गराउनेहरू खुलेआम घुमिरहेका छन् । उनीहरूलाई पक्रेर सरकारले कारबाही गर्न सक्तैन । किनभने उसले कानुन हातमा लिएकाहरूको गोजी गरुंगो बनाइदिएको हुन्छ ।
मानव बेचविखन गर्नेहरूलाई कानुनले कडाइ गरेको छ । यस्ता काम गर्नेलाई कडा दण्ड दिने कुरा उल्लेख छ । तर, कागजमामात्र सीमित छ । यो काम चलि नै रहेको छ । किनभने कानुन हातमा लिएकाहरू बिक्रीका पात्र बनेका छन् । कानुनको पालकहरू नै गद्दार भएपछि अन्यायमा परेकाहरूले न्याय पाउने कुरा हुँदैन । यो बिषयमामात्र हैन, हरेक विषयमा यस्तै भएको देखिएको छ । घुस खान पायो भने हुनै नसक्ने काम क्षणभरमा हुन्छ । पाएन भने प्रक्रिया पुगेका कामहरू पनि हुँदैनन् । एउटा कामको लागि मोटो रकम लिएर विदेश पठाइन्छ । तर,उसले त्यो काम पाउँदैन । यसरी बिचल्ली पार्ने कैयौँ घटना भएका छन् । एउटा मानिससँग यसरी खेलबाड गर्ने काम त्यो मानव बेचविखनको घटना हो । तर, यसप्रति सरकारले कुनै वास्ता गर्दैन । एकखालको यो परम्परा बनिसकेको छ । मानब बेचविखन गर्ने जस्तो डरलाग्दो अपराध गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । त्यसमा संलग्न हुनेहरूलाई पनि कारबाही गरिनु पर्छ र नैतिक पतन भएका कारबाही गर्ने जिम्मा लिएका अधिकारीहरू पनि कारवाहीको भागिदार बन्नुपर्छ । तर, समस्या यहि छ कि पैसाको लोभमा सबैको मुख टालिन्छ ।