© २०२३
आज पुस्तकालय दिवस हो । पुस्तकलाई ज्ञानको स्रोत मानिन्छ । अहिले विश्वमा जति पनि मानिसहरू चर्चाको शिखरमा छन् तिनीहरूको जीबनी पुस्तक, पुस्तकालयसँग जोडिएको छ । कार्ल माक्र्स जसले विश्वलाई समाजवादी उत्पादन तथा बितरणको सम्बन्धमा विश्वलाई आँखा देखाए उनी पुस्तकालयमा नै अधिकांश समय बिताउँथे । उनका समकक्षी एंगेल्स पनि पुस्तकालयमा पुस्तकहरू पढ्नमा निमग्न हुन्थे । पुस्तकालयले नै उनीहरूलाई भेट, चिनजान गराएको थियो । समाजवादी समाज निर्माणका अर्का विद्वान ज्ञाता, विष्लेषक तथा योद्धा भ्लादीमिर इलिच लेनिनले पुस्तकालयमा नै कार्ल माक्र्स, एंगेल्सका रचनाहरू पढेर रुसको जार शासनलाई चुनौती दिँदै जनवादी आन्दोलन सञ्चालन गरेर सामन्तवादी शासनलाई मिल्काएर समाजवादी राज्यप्रणाली लागू गर्न सफल भए । उनले थुप्रै पुस्तकहरू लेखेका थिए । ती पुस्तकलाई पुस्तकालयमा नै पढेर चीनका युवा नेता माओ त्से तुंगले नयाँजनवादी क्रान्ति गरी चीनको सामन्तवादी शासनलाई समाप्त पार्न सफलता पाए । लोकतन्त्रवादी शासन प्रणालीका अग्रज मानिने अब्राहम लिंकनको जीवनको अधिकांश समय नै पुस्तकालयमा बितेको हुन्थ्यो । उनी त अमेरिकाको राष्ट्रपति बनेपछि पनि ज्ञान आर्जन गर्नको लागि पुस्तकालयमा नै जाने गर्थे । भारतका महात्मा गान्धी, जवाहरलाल नेहरू, लालबहादुर शास्त्री, ज्योति बसु लगायत जति पनि राजनेता, विद्वान, बिदुषीहरू छन् उनीहरू सबै ज्ञान आर्जन गर्नको लागि पुस्तकालयमा नै जान्थे । यी सबैलाई भेट्नुपर्दा मानिसहरू पुस्तकालयमा जानुपथ्र्यो । उनीहरूको जीवनगाथा लेख्नेहरूले लेखेका यी भनाइहरू हुन् ।
नेपालमा पनि जति राजनेताहरू उत्पादन भए तीमध्ये अधिकांश बौद्धिक नेताहरूको ज्ञानको स्रोत पुस्तकालय हो । वीपी कोइरालालाई घरका परिवारले खाना पुराउन पुस्तकालयमा जानुपथ्र्यो । उनलाई खाना पुराउन जाने क्रममा नै गिरिजा प्रसाद कोइरालाले पढ्नमा रुचि लिएका थिए । कोइराला परिवारका अधिकांशतः पुस्तकलयबाट ज्ञान आर्जन गरेको सदस्यहरू हुन् । नेपालकै विद्वान मानिने सीके प्रसाईले पुस्तकालयमा अध्ययन गर्न जाँदा घरबाट शिरानी, नास्ता लिएर जाने गर्थे । गणेशमान सिंहले घरमा नै पुस्तकालय खडा गरेका थिए । उनको घरमा कैयौँ पटक राणाका पुलिसहरू गएर छापा मारेर पुस्तकहरू लुटेर लगेका थिए । पुस्तकालय राख्न नदिने फर्मान सरकारले जारी गरेको थियो । राणाकालमा मात्र हैन, पञ्चायत कालमा पनि पुस्तकालय राख्नका लागि अनुमति लिनु पथ्र्यो । सरकारसँग अनुमति लिँदा पुस्तकहरू कुन राख्ने भनेर लिष्ट पेस गर्नुपथ्र्यो । सरकारले अध्ययन गरेर सिफारिस गथ्र्यो । उसले तोकेकाबाहेक पुस्तकहरू राख्न पाइँदैनथ्यो । तर पनि पुस्तक प्रेमीले त्यसको आडमा अध्ययन गर्नैपर्ने पुस्तकहरू खोजेर लुकाएर पुस्तकालयमा अध्ययन गर्थे । त्यहाँ गरेको अध्ययनको आधारमा पत्रपत्रिकामा विचारहरू प्रकाशित गर्थे । यसकारण पनि पुस्तकालय के हो भनेर हामीले त्यसको महŒव बुझ्न सक्छौँ । आजभोलि विद्वानहरूले कुनै रचनाहरू लेखेपछि स्रोतको रूपमा पुस्तकको नाम र पृष्ठ खुलाएको भेट्न पाइन्छ ।
तर, आज जमाना फेरिएको छ । पुस्तकको आकार घटेको छ । हजार पृष्ठको पुस्तक एउटा सानो मोबाइलको चिप्सको एउटा कुनामा अट्ने भएको छ । पेन ड्राइभमा सिंगो पुस्तकालय बोकेर हिँड्ने प्रविधिको विकास भएको छ । पुस्तकमा छापिएका अक्षरमा चश्मा लगाएर पढ्नु पर्दैन । कम्प्युटरको मोनिटरमा आफूलाई चाहिएको आकारमा हेर्न मिल्ने भएको छ । प्रविधिले धेरै सुबिधा दिएको छ । तर, आजका अधिकांश युवा पिँढीले पुस्तकहरू पढ्दैनन् । पुस्तकालयहरूमा माकुराको जालो लागेको हुन्छ । पुस्तकालयमा मानिस हैन, माखाहरू घन्केका हुन्छन् । किरा,फट्यांग्रा बस्ने गुण बनेको छ । पुस्तक त खाली सजाउने बस्तुमात्र बनेको छ । यो दुखद् बिषय हो । पुस्तकले मानिसलाई पढ्नमात्र सिकाउँदैन, उसका अनेकन खराब बानीलाई सुधार्छ । पुस्तकले नै मानिसलाई लेख्नको लागि स्रोत सामग्री उपलब्ध गरिदिन्छ । तथ्य के हो, इतिहास कस्तो छ भनेर जानकारी दिन्छ । त्यसैले पुस्तक पढ्ने बानीलाई सबैले बढाउनु पर्छ भन्ने सन्देश आजको दिवसले दिन खोजेको छ ।