© २०२३
प्यूठान, २४ कात्तिक ।
झिमरुक गाउँपालिका वडा नम्वर ४ स्थित ‘चालिसे–अम्बोटे–पिपलटारी–सयमुरे’ खेतका उपभोक्ताहरुले आफूहरुलाई खवरै नगरी उपभोक्ता समिति गठन गरेको भन्दै झिमरुक गाउँपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएका छन् । समिति गठन गर्दा ८० प्रतिशत उपभोक्ताहरुलाई खवर नभएको उनीहरुको गुनासो छ । सिमित व्यक्तिहरुको सहभागीतामा मात्र समिति गठन गरिएकोले पूनः उपभोक्ताहरुलाई भेला गराएर समिति गठन गर्न माग सहित उजुरी दिइएको स्थानीय जगत बहादुर जिसीले जानकारी दिए ।
सिंचाई योजनाबाट लाभांवित १२ जना उपभोक्ताहरुको उजुरीमा संयूक्त हस्ताक्षर छ । खेतमा सिंचाई सुविधा पु¥याउन मर्मत र विस्तारका लागि लुम्विनी प्रदेश सरकारले चालु आर्थिक वर्ष कार्यान्वयन गर्ने गरी उक्त योजनामा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
योजनाको कार्यान्वयन गर्ने निकाय जिल्लामा जलस्रोत तथा सिंचाई कार्यालय विजुवार प्यूठान हो । शुरुवाती चरणमा उपभोक्ता समिति गठन गर्नका लागि सम्वन्धित वडा कार्यालयमा पूर्ण अधिकार दिइएको जलस्रोत तथा सिंचाई कार्यालयका सव इन्जिनियर विधान पण्डितले जानकारी दिए । वडाबाट उपभोक्ता समिति गठन गरेर दर्ताका लागि सिंचाई कार्यालयमा आउनुपर्ने प्रक्रिया रहेको पण्डितको भनाई छ । उनका अनुसार विवादित बनेको उक्त समिति दर्ताका लागि सिंचाई कार्यालयमा पुगेको छैन् ।
सामान्य औपचारिक मात्र पुरा गरेर वडा कार्यालयले समिति गठनका लागि सिफारिस दिएको उपभोक्ताहरुले आरोप लगाएका छन् । बहुसंख्यक उपभोक्तामाथी अन्याय भएको उनीहरुको गुनासो छ ।
झिमरुक ४ का वडा अध्यक्ष सिताराम पोखरेलले प्रशासनमा उजुरी परेपछि सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीले पत्र पठाएको जानकारी गराए । ‘अहिले निर्वाचनमा व्यस्त छौँ । चुनाव लगत्तै यसको समाधान हुन्छ’,उनले भने,‘पहिले कुलो बनिसकेका उपभोक्ताहरुले उजुरी गर्नुभएको रहेछ । यो त्यति ठूलो विषय होइन् ।’ पोखरेलले कुलो बनाउने व्यवसायीको पहलमा उपभोक्ता समिति गठन भएको जानकारी गराए ।