© २०२३
दाङ देउखुरी स्थित राप्ती गाउँपालिका –३ मसुरियाकी विमला पुन अहिले ३६ वर्षकी भईन् । उनले युवा पुरुषहरुले झैँ गरी नरसिङ्गा फुक्छिन् । सुरुसुरुमा सास तानेर स्वरलाई मोड्न निकै अप्ठ्यारो हुने गथ्र्यो, तर अहिले भने बानी परेपछि सजिलैसँग नरसिङ्गा फुक्न सक्ने उनले बताईन् । उनले भनिन्, “नरसिङ्गा अरु बाजा बजाए जस्तो सजिलो हँुदैन । यसलाई सासले बजाउनुपर्छ निकै गाह्रो पनि हुन्छ ।” पुनले आफूसँगै अन्य महिलालाई पनि नरसिङ्गा बजाउन प्रेरित गरेको बताईन् । “यो त सीप हो । सीपलाई हस्तान्तरण गर्नुपर्छ । गरिएन भने लोप हुँदै जान्छ”, उनले भनिन् “हामीले सिक्न चाहने नयाँ पुस्तालाई पनि सिकाउने प्रयासमा छौँ, नरसिङ्गा बजाउन पनि गाह्रो हुनाले लोप हुने अवस्थामा छ तर लोप नहोस् भन्नका लागि मैले अरुलाई पनि सिकाउने गरेको छु ।”
विभिन्न उत्सव तथा कार्यक्रममा अचेल आधुनिक शैलीको ब्याण्ड बाजाको प्रयोग बढेसंगै परम्परागत शैलीका बाजाहरु लोप हँुदै गएका छन् । त्यस्तै पश्चिम नेपालका जिल्लाहरुमा पनि लोकप्रिय नौमती बाजा लोप हुन थालेपछि दाङमा महिलाहरुको समूह बनेर लोप हुन लागेको मौलिक संस्कृतिलाई बचाउने उद्देश्यले नौमती बाजालाई व्यावसायिक रुपमा सञ्चालन गर्दै आएका छन् ।
नौमती बाजाको धुनका बीचमा अनेकौं बोल उत्पन्न गरी जोश र जाँगर भर्न नरसिङ्गा आवश्यक पर्दछ । पहिले हाम्रो समाजमा जाति बिशेष थियो बाजाहरु भने अहिले कुनै जाति विशेष र पुरुषले मात्र बाजा बजाउनुपर्छ भन्ने पुरानो मान्यतालाई तोडिंदै गएको छ । लोप हुँदै गएको नेपालीको मौलिक संस्कृति र परम्परालाई जोगाउन आफूले नौमती बाजा अन्तर्गत पर्ने नरसिङ्गा फुक्ने गरेको पुनले बताईन् । कामले कोही सानो ठुलो हँुदैन, अवसर पाए महिलाले सबै काम गर्न सक्छन् भन्ने सन्देश समाजलाई दिनका लागि आफूले नरसिङ्गा बजाउने काम रोजेको उनको भनाई छ । सुरुसुरुमा गाउँमा दमाईले गर्ने काम गर्ने भन्दै कुरा काट्नेले पनि हिजोआज प्रशंसा गर्ने गरेको उनले बताईन् ।
त्यस्तै सोहि गाउँकै गौमती पुन ३/४ वर्ष अगाडि साँझ बिहान घरको काम सकेर दिउँसो फर्सदको समयमा परिवारलाई थाहा नदिई कर्णाल सिक्न जान्थिन् । उनले भनिन्, “यही गाउँको एकजना गुरुले सिकाउनु हुन्थ्यो, केही युटुव हेरेर सिक्यौ । उनी भन्छिन्, “बाजाहरु मध्येको गाह्रो कर्णाल बजाउन हुन्छ, कर्णाल तालमा मोटो आवाजका लागि फुकेर बजाइन्छ लामो सास चाहिन्छ, निकै गाह्रो हुन्छ, घाँटीको नशा फुल्लिन्छ । पुरुषहरुले फुकेको देख्दा रहर जाग्थ्यो, मलाई पनि फुकौँ जस्तो लाग्थ्यो, रहरैरहरमा सिकें, अहिले त मज्जाले फुक्न सक्छु ।” महिलाले पनि पुरुष सरह सबै काम गर्न सक्छन् भन्ने लागेर आफूले पनि हिम्मत गरेको उनले बताइन् ।”उनी नेपाल मगर सांस्कृतिक संघ नौमती बाजा संघकी कोषध्यक्ष पनि हुन् ।
नौमती बाजा र पञ्चेबाजामा छमछमी नाच्न रुचाउने लक्ष्मी रोक्का ढोलकी, सहनाई र दमाहा बजाउँछिन । राप्ती गाउँपालिकाकी ३९ वर्षीय रोक्काको अहिले मुख्य आम्दानीको स्रोत नौमती बाजा बनेको छ । नौमतीका सबै बाजा बजाउन जानेकी छिन् र पनि उनले बिशेषतः ढोलक र सहनाइ बजाउँछिन् । “हामी जस्ता महिलाहरुले अन्य स्थानमा कमै मात्रामा बाजाहरु बजाउने गर्दछन्, हामीले नबजाए पछिल्लो पुस्तामा यो लोप हुन्छ । यो पेशालाई व्यावसायिकता बनाए आम्दानीको स्रोतसँगै परम्परागत संस्कृतिको पनि संरक्षण हुने उनले बताइन् ।
सोही गाउँकी शान्ति घर्ती पनि बाल्यकालेदेखि नै बाजाकै धुनमा रमाउन र नाच्न रुचाउँथिन् । उनी भन्छिन्, “घण्टौ बाजालाई घाँटीमा झुण्ड्याएर बजाइरहँदा सुरुसुरुमा हातमा फोका उठ्यो, ज्वरोले थला परिन्थ्यो, तर पनि कहिले पछि हटिन ” परिवारको साथ र सहयोग पाएर नै आफु नौमती बाजा बजाउन गाउँगाउँ जान पाउने उनले बताइन् । पैसाभन्दा पहिचान महत्वपूर्ण भएकाले आफुले जानेको काम गर्न पाउँदा खुसी लाग्ने घर्तीले बताइन् । “पैसा कमाउनका लागि हामीले बाजा बजाएका होइनौँ । हाम्रो लागि पहिचान ठूलो कुरा हो”, उनले भनिन्, “पैसा खासै कमाइ नभए पनि गाउँमा हामीलाई बाजा बजाउन आउनुस् भनेर बोलाउँदा निकै खुसी लाग्छ ।” आत्मसम्मानले नै महिलालाई बलियो बनाउने बताईने । उनी अहिले ३८ वर्षकी भइन् । कुनैपनि काम गर्न महिलालाई उमेर र जातले नछेक्ने बताउँदै उनले कुनै पनि काम गर्न इच्छाशक्ति हुनुपर्ने बताउँछिन् ।
नौमती बाजा बजाएवापत बाजा समूहले निश्चित शुल्क लिने गरेको छ । उनीहरुले दूरी र ठाउँ हेरेर शुल्क लिने गरेको सोही संस्थाकी अध्यक्ष लक्ष्मी रोक्काले बताइन् । “ठाउँ र दूरी हेरेर एक दिनको ३५ देखि ४० हजार रुपैयाँ शुल्क लिने गरेको छौँ, अवस्था अनुसार कम शुल्क र कहीँ निःशुल्क पनि बाजा बजाउने गरेका छौं, व्यक्ति र संस्थालाई पनि फरक शुल्क लिने नियम बनाएका छौँ”–उनले भनिन् । यसबाट केही प्रतिशत संस्थाको कोषमा राख्ने गरेको र अहिले आफ्नै सांस्थाको कोषबाट बाजा र समूहलाई आवश्यक ड्रेस पनि बनाएको उनी बताउँछिन ।
“नौमती बाजा, नेपाली पहिचान, नेपाली पहिरन लोप हुँदै गएको छ”, अध्यक्ष रोक्काले भनिन्, “यो पहिचानलाई जोगाउनुपर्छ, लोप हुन दिनु हुँदैन भनेर हामी नौ अघि सरेको हौं ।”
“सुरुमा कसैले प्रेरणा दिनुभयो, कसैले घृणा”, उनले भनिन्, “घृणालाई पन्छाउँदै यो अवस्थामा आएका छौं ।” संस्कृति संरक्षणमा आफूहरुको प्रयासलाई अहिले भने घरपरिवार र समाजले पनि राम्रो मान्न थालेको अध्यक्ष रोक्का बताउँछिन् । छरछिमेकी र आफन्तबाट धेरै टिकाटिप्पणी खेपेका उनीहरु अहिले भने विवाह, व्रतबन्ध शुभकार्य लगायतका विभिन्न सभासमारोह र लुम्बिनी प्रदेशले गर्ने बिभिन्न कार्यक्रमहरुमा पनि बोलाउँदा महिलाहरुलाई प्रोत्साहनसँगै हौसला पनि मिलेको उनले बताइन् । विवाह, ब्रतबन्ध, पुराणजस्ता विशेष शुभकार्य समारोह जस्ता कार्यक्रममा नौमती बाजा बजाउन लुम्बिनीका धेरै जिल्लाहरुमा पुगेको र अहिले सम्म टाढा भनेको कञ्चनपुर र नेपालगन्ज सम्म पुगेको अध्यक्ष रोक्काले बताइन् ।
समूहकी अध्यक्ष लक्ष्मी रोक्काको नेतृत्व र गाउँपालिकाको समन्वयमा सुरुमा उनीहरुले केही महिना बाजा बजाउने तालिम पनि लिए उनीहरुको कामलाई सम्मान सहित पालिकाले आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले बताए । भू–परिधि कार्यक्रम (ताल) ले लोप हुँदै गइरहेको नेपालीको मौलिक बाजा, संस्कृति र परम्परालाई जोगाइ राख्नका लागि समूहलाई सुरुमा पालिकाले नौमती बाजा दिएर सहयोग गरेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।
२०७७ सालमा गठन भएको उक्त नौमती बाजा समूह सुरुमा महिलाहरुको माग र ईच्छाअनुसार राप्ती गाउँपालिकाले बाजामा सहजीकरण गरी दमाह २ थान, सनाई नरसिङ्ग २, कर्णाल २, झ्याली १, टयाम्को १ थान र ढोलक १ थान गरी ९ थान बाजा उपलब्ध गराएको थियो । उक्त बाजाको प्रयोगबाट नै महिलाहरुले सिक्ने अवसर पाए र व्यावसायिक बने । अहिले त उनीहरु तामझामले नै नौमती बाजा बजाउन सक्षम भए ।