© २०२३
हिन्दुहरूले श्रीकृष्णलाई भगवानको अबतारको रूपमा अगाध आस्थाकासाथ मनाउने गर्दै आएका छन् । आज जन्माष्टमीको दिनलाई श्रीकृष्णको जन्मदिन मानिएको छ । हिन्दू धर्ममा आस्था राख्नेले उनको जन्मदिन धुमधामकासाथ मनाउँछन् । विभिन्न ठाउँमा रहेका कृष्ण मन्दिरहरूमा गएर पूजा अर्चना गरिन्छ । नाचगान, भजन कीर्तनहरू गरिन्छ । थुप्रै मानिस उनको सम्मानमा उपबास पनि बस्ने गरेका हुन्छन् । उनलाई द्वापर युगका नायक मानिन्छ । चलाख, सोँच विचारका धनी, बालक अबस्थादेखि नै उनमा अनेक प्रतिभाहरू थिए । शत्रुपक्षको विनास गर्ने र मित्रुपक्षको संरक्षण गर्ने खुबी थियो उनमा । आफ्नै मामा कंसले गरेको अत्याचारमा उनी डटेर मुकाविला गरी कंसलाई बध गर्न सफल भएका थिए । राजा धृतराष्ट्र र उनको घमण्डी छोरा दुर्याेधनको घमण्डका कारण अन्यायमा परेका पाण्डुपुत्रहरूलाई युद्ध गर, म साथ दिन्छु भन्दै युद्धमा तयार पार्ने क्रममा अर्जुनलाई दिएको दिब्य उपदेश उपनिषद् ग्रन्थ मानिएको छ । त्यो अर्थमा उनी उपनिषद्का रचयिता पनि मानिन्छन् । बाल्यकालदेखि नै अनेक लिला देखाएकोले उनका लिलालाई कृष्णलिला भनेर जानिन्छ ।
युग विभाजनको हिसाबमा धार्मिक नामबाट हेर्दा सत्य, त्रेता, द्वापर, कली आदि भनेर चिनिन्छ । सत्ययुगलाई शिवयुग भनियो । त्यो बेलामा शिवले समाजको संरक्षण गरेका थिए भन्ने भनाइ छ । त्रेतायुगलाई रामयुग मानिन्छ । रामले समाजको संरक्षण गरेको भन्ने भनाइ छ । द्वापरमा कृष्ण र अहिले चलिरहेको कलीयुगमा को नायक हुन्छ त्यो प्रकट भइसकेको छैन । यस्तै भनाइहरू धर्ममा आस्था राख्ने, ब्याख्या गर्नेहरूबाट सुनिन्छ । कतिपयले यस्ता पात्रलाई काल्पनिक पनि भन्दै आएका छन् । किनभने निश्चित तिथिमिति, कुनै शिलालेख, कुनै पुरातात्विक पहिचान फेला परेको छैन । मानिस भरखरै ठाडो भएर जंगली युगमा प्रबेश गर्दाको रामापिथेकस अबस्थाको बंगारा फेला पारेर पुष्टि गर्न सक्ने पुरातात्विक विज्ञानले पनि शिब, राम, कृष्णका बारेमा कुनै पुरातात्विक बस्तुहरू फेला पार्न र पहिचान कायम गर्न सकेको छैन । त्यो अर्थमा यी सबै पात्रहरू काल्पनिक हुन् भन्ने भनाइलाई बल पुराएको छ । तर, यसको अर्थ यो होइन कि ती युगमा समाजको संरक्षण गर्ने शिव, राम, कृष्णजस्ता पात्र नै थिएनन् । ऐतिहासिक भौतिकवादको ब्याख्यामा आदीम साम्यवादी युग, दास मालिक युग, सामन्तवादी युग र पूँजीवादी युग रहेको पाइन्छ । यो विभाजन विज्ञानसम्मत छ । यो विभाजनमा कुन युगमा को नायक भयो ? कतिबेला भयो ? शिवले कुन युगको कुन अवस्थामा नेतृत्व लिए ? रामले कहाँनेर विशेष भूमिका खेले र उनी राम कहलाए ? कृष्णको भूमिका कुन समयमा विशेष रहन गयो ? धार्मिक ब्याख्याले पनि यो कुरा बोलेको छैन । बरु भ्रमपछि भ्रमको खेती हुँदै यी पात्रहरूलाई अगाडि सारेर पिठाधीशहरूले धर्मको आडमा आध्यात्मवादी राजनीति गर्दै आएको देखिन्छ ।
कृष्ण भगवान थिए थिएनन् यो सरोकारवालाको खोजीको विषय बन्ला, तर, कृष्णलाई भगवानको रूपमा पूजा अर्चना गर्नेहरूको लामबन्दी निकै लामो छ । बच्चा देखि बृद्धसम्मले भगवानको अबतार भनेर मान्दै आएका छन् । अदृश्य शक्तिको रूपमा भगवानलाई मान्छन् । त्यसैको एउटा अवतार कृष्णको रूप हो भनेर आस्था राख्छन् । भगवान जेसुकै होलान् तर, यो आस्था सत्य हो । मन्दिरहरूमा पूजाआजा गर्ने, भजन गाउने, भगवान तिम्रो शरणमा छौँ भनेर मूर्तिमा ढोग्नेहरूको संख्या थुप्रो छ । विगतका दिनमा जन्माष्टमीमा सरकारले सार्वजनिक बिदा पनि दिने गर्दै आएको थियो । अहिले कटौती भएको छ । कतिपयले बिदा पाउनु पर्छ भनेर आवाज उठाएको पनि सुनिन्छ । कृष्ण भगवानको पूजा गर्न, दर्शन गर्न भनेर मानिसहरू विभिन्न धाममा जाने गरेका हुन्छन् । कैयौँ धार्मिक धाममा ठूला–ठूला मेलाहरूको आयोजना गरिएको देखिन्छ । खासगरी भारतका महŒवपूर्ण नदी किनारा, हरिद्वार, बद्रीधाम, द्वारिकार आदि धाम र नदीहरूका किनारामा कृष्णलिलाहरू प्रदर्शन गर्ने गरिन्छ । अहिलेको विद्युतीय युगमा विभिन्न उपकरणको माध्यमबाट यसलाई अरू रमणीय बनाइएको छ । त्यो अर्थमा पनि यो दिनले विशेष पर्वको रूपमा पहिचान बनाएको छ ।