© २०२३
काठमाण्डौ –
नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगहरूमा लोडशेडिङ शुरू गरेको छ । ’पिक’ समय अर्थात् बेलुका ५ बजेदेखि राति ९ बजेसम्म बिजुली अभाव रहेको भन्दै प्राधिकरणले ठूला उद्योगहरूमा विद्युत्क टौती गर्न थालेको हो ।
धेरै बिजुली खपत हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतले बिजुली नदिएकोले कटौती गर्न बाध्य भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
उनले भने, ‘हिउँदमा भारतबाट दिउँसो र रातिको समयमा बिजुली आयात गर्ने सहमति भएको छ । तर ’पिक टाइम’ अर्थात् बेलुका ५ बजेदेखि ९ बजेसम्म बिजुली आयात गर्ने सहमति भएको छैन । त्यस कारण केही उद्योगहरूमा बिजुली कटौती गर्नुपरेको हो ।’
कार्यकारी निर्देशक घिसिङका अनुसार ४ सय ५६ मेगावट क्षमता रहेको माथिल्लो तामाकोशीमा गएको असोजमा आएको बाढीले क्षति पु¥याउँदा बिजुली आपूर्तिमा समस्या भइरहेको हो । माथिल्लो तामाकोशीबाट पूर्ण क्षमतामा बिजुली प्रवाह भएपछि अहिलेको लोडशेडिङको समस्या समाधान हुने उनको दाबी छ । तर माथिल्लो तामाकोशी पूर्णरूपमा सञ्चालनमा आउन अझै ५÷६ महिना लाग्ने उहाँले बताउनुभयो । ठूला उद्योगहरूमा बिजुली कटौती भए पनि अन्य ग्राहकहरूले लोडशेडिङको समस्या भोग्न नपर्ने उनले बताए ।
घिसिङका अनुसार अहिले पिक समयमा नेपालमा १९ सय मेगावाट बिजुली माग रहेकोमा नेपालको उत्पादन १६ सय मेगावाट मात्रै रहेको छ ।
नेपालका धेरैजसो जलविद्युत् आयोजनाहरू नदीको जलप्रवाहमा आधारित रहेकाले सुक्खायाममा उत्पादन घट्ने गरेको छ । अहिले नेपालको जलविद्युत् जडान क्षमता झन्डै तीन हजार चार सय तीन मेगावाट पुगेको छ । तर नदीमा पानी घटेसँगै फागुन, चैतमा एक हजार मेगावाटसम्म झर्न सक्ने प्राधिकरणले जनाएको छ ।