© २०२३
बुटवल, २ पुस । मानसिक स्वास्थ्य पछिल्लोसमय जटिल समस्या बन्दै गएको छ । धेरै युवा वर्ग यो समस्यामा रहेको तथ्याकबाट पुष्टि भएको छ । यही कुरालाई मध्येनजर गरि रोटरी क्लब अफ बुटवलले युवा लक्षित मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ ।
रोट्याक्ट क्लब अफ क्षितिज ईन्टरनेश्नल कलेजको सहकार्यमा कलेजमा मंगलबार भएको कार्यक्रममा रोटरी क्लब अफ मेडिको फ्युजन ई हाईब्रिडका अध्यक्ष तथा मानसिक रोग विशेषज्ञ डा.विक्रम काफ्लेले सहजिकरण गर्दै मानवलाई शारीरिक स्वस्थ्यसगै मानसिक स्वस्थ्यमा ध्यान दिनुपर्ने भन्दै तनाव ब्यवस्थापनका उपायहरुबारे प्रकाश पारे । विश्वमा नै ठुलो क्षति दिने गरि देखिएको समस्यालाई रोक्न सचेतना कार्यक्रम पहिलो र महत्वपूर्ण पाटो भएको उनले बताए । मानसिक स्वस्थ्यको लक्षण पहिचान गर्न सके त्यसबाट ठुलो क्षति रोक्न सकिने उनको तर्क छ । ब्यक्ति आफ्नो दैनिकीमा खानपिन, ब्यायाम, आरामलाई ध्यान दिनुपर्ने उनले सुझाव दिए । यो वर्ष मानसिक स्वस्थ्यबारे कुरा गरौ भन्ने नाराका साथ विश्वभर नै अभियान चलाईएको उनले बताए । हरेक वर्ग र समुदायमा मानसिक स्वस्थ्यको समस्यामा गुज्रिरहेको उनले तर्क गरे ।
कार्यक्रममा क्लबका अध्यक्ष प्रज्वल थान्जुले यस क्षेत्रमा नै सामाजिक कार्यमा आफुहरु अग्रसर रहेको भन्दै क्लबको वार्षिक कार्ययोजना अनुसार शिक्षा, स्वस्थ्य, सरसफाई र रोटरी गाउमा विभिन्न कार्यक्रम गरिरहेको बताए । समुदायको आवश्यकता र माग अनुसार रोटरी फण्डमार्फत रुपन्देहीमा धेरै परियोजनाहरु समेत संचालन भएको उनले बताए ।
कार्यक्रममा कलेजका प्राचार्य तथा क्लबका पूर्व अध्यक्ष राजेन्द्र लम्सालले समुदायमा बढिरहेको आत्महत्या र अपराधका घटनाहरुमा मानसिक स्वस्थ्य कारण हुनेहुदा पनि यसबारे खुलेर कुरा गर्ने वातावरण बनाउन सचेतना कार्यक्रमहरु फलदायी हुने बताए ।