© २०२३
समुदायबाट सन्चालित विद्यालय सामुदायिक विद्यालय हुन् । सामुदायिक विद्यालयमा सरकारले विभिन्न चरणमा जाँच लिई छनौट भएका जनशक्तिले अध्यापन गर्छन् । सामुदायिक विद्यालयमा अध्यापन गर्ने अस्थायी, स्थायी, राहत, अनुदान तथा निजी सबै शिक्षकहरूले छनौटका प्रकृयाहरू पूरा गरेका हुन्छन् तर विद्यालयको नतिजा भने लाजमर्दो किसिमको देखिन्छ । राज्यले विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ। विद्यालय संचालन तथा भौतिक निर्माणको लागि उपयुक्त बजेट पनि उपलब्ध गराएको देखिन्छ ।
राज्यका तर्फबाट शिक्षण सिकाइको लागि तथा अतिरिक्त क्रियाकलापको लागि आवश्यक पर्ने सामग्रीहरू पनि उपलब्ध गराएको देखिन्छ। यति मात्र नभई विभिन्न दातृ निकायहरूले पनि बेलाबेलामा सामुदायिक विद्यालयहरूलाई ठूलो मात्रामा सहयोग गरेको पाइन्छ। कुनैपनि कुरामा लगानी गरेपछि प्रतिफलको अपेक्षा गर्नु स्वाभाविक कुरा हो तर सामुदायिक विद्यालयहरुमा राज्यले यति धेरै लगानी लगाइरहँदा पनि अपेक्षित उपलब्धि हासिल हुन नसक्नु बिडम्बना नै भन्नुपर्छ ।फलस्वरूप सामुदायिक विद्यालयतर्फ आम नागरिकको आकर्षण वर्षेनी घट्दै गइरहेको तथ्यांक सार्वजनिक हुँदै आइरहेका छन् । सामुदायिक विद्यालयहरूमा शिक्षा निशुल्क हुनेछ भन्ने कुरा संविधानमा नै उल्लेख गरिएता पनि प्रायः विद्यालयहरुले कुनै न कुनै बहानामा शुल्क लिइरहेका छन्।
शिक्षाको गुणस्तर अत्यन्तै न्यून रहेकोले अभिभावक र विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालयहरू कममात्र पर्ने गरेको देखिएको छ। कम शुल्क रहेकोले गरिब तथा कम आयस्रोत भएका परिवारले मात्र बाध्य भएर आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्ने गरेको पाइन्छ । सामुदायिक विद्यालयको अवस्था दिनप्रतिदिन खस्किदै जानुका पछाडि विभिन्न कारणहरु हुन सक्छन् ।
केही सामुदायिक विद्यालयहरूमा विषय शिक्षकहरूको पर्याप्त दरबन्दी छैन अथवा कुनै विषय शिक्षकको संख्या आवश्यकताभन्दा बढी र कुनै विषय शिक्षक नै नभएको अवस्था छ । राजनैतिक पहुँच भएका शिक्षकहरू आफ्नो विषयको दरबन्दी खाली नभएतापनि घर नजिकैको विद्यालयमा पहुँचकै आधारमा सरुवा गर्न सफल हुन्छन् भने कति विषयको दरबन्दी खाली भए तापनि राजनैतिक पहुँच पुगेन भने सरुवाको अनुमति पाउने अवस्था नै छैन। पछिल्लो समय शिक्षक सरुवा निर्देशिकाले सरुवाका क्रममा देखिएका विकृतिहरुलाइ केहि हदसम्म न्यूनीकरण गरेको भने अवश्य छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक÷अभिभावक संघजस्ता विद्यालयको व्यवस्थापनसग सम्बन्धित संयन्त्रहरू मार्फत राजनीति भित्र्याइन्छ र दलहरूले शिक्षकहरूलाई प्रयोग गरी विद्यालयको वातावरणलाई आफू अनुकूल बनाउन प्रयास गर्छन् र राजनैतिक द्वन्द्व सिर्जना गर्छन्। राजनैतिक भागबण्डाकै आधारमा त्यस्ता संयन्त्रहरू निर्माण गरिन्छन् ; जसका कारण विद्यालयजस्तो पवित्र स्थल धमिलिन पुग्दछ । सामुदायिक विद्यालयहरुमा पठनपाठन सही तरिकाले भएको छ या छैन भन्ने कुराको अनुगमन प्रभावकारी ढङ्गले गरिएको पाइदैन। पार्टीका कार्यकर्ताले भरिएको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले आफ्नो पार्टीको प्रधानाध्यापक छ भने सबै गतिविधिहरू सही र आफूसँग राजनैतिक आस्था नमिल्ने या स्वतन्त्र विचार भएको प्रधानाध्यापक छ भने सबै गतिविधिहरू गलत भनेर विश्लेषण गर्ने परम्परा रहिआएको छ। जसका कारण पनि विद्यालयको शैक्षिक वातावरणमा नकारात्मक असर परेको देखिन्छ ।
पाठ्यक्रम विकास केन्द्रद्वारा परिमार्जित पाठ्यक्रम अनुसार शिक्षकहरूले आफ्नो क्षमतामा परिमार्जन नगर्नु र कक्षामा जाँदा यथेष्ट तयारीबिना नै जाने अवस्थाले पनि सामुदायिक विद्यालयको शैक्षिक अवस्था दयनीय बन्दै गएको देखिन्छ । प्रायः सामुदायिक विद्यालयहरुमा पर्याप्त शैक्षिक सामग्रीहरू उपलब्ध नहुनु अथवा उपलब्ध भए तापनि शिक्षकहरूले ती सामग्रीहरूको उपयुक्त प्रयोग गर्ने वातावरण नहुनुले पनि सिकाइ प्रक्रियाले सार्थक रुप लिन नसकेको देखिन्छ । अधिकांश सामुदायिक विद्यालयहरुमा विभिन्न राजनैतिक दलहरूले शिक्षक संघ र संगठन नाम दिई आ–आफ्ना भातृ संगठनका संरचना बनाएका छन् र सामुदायिक विद्यालयका सबैजसो शिक्षकहरूलाई विभाजित गरिदिएका छन्। यसले विद्यालयका सम्पूर्ण शिक्षकहरू बीचमा एकता कायम हुन सकेको छैन, एक–अर्कालाई असहयोग गर्ने, आक्षेप लगाउने तथा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण मौलाउदै गएको छ; जसले विद्यालयको वातावरण धुमिल बन्दै गएको देखिन्छ । कुनै नयाँ शिक्षक नियुक्त हुँदैछ वा कुनै शिक्षक अन्यत्रबाट सरुवा भएर आउने क्रममा छ भने उक्त विद्यालयका संघसंगठनहरूले उक्त शिक्षकको राजनैतिक पृष्ठभुमि र वर्तमान राजनैतिक आस्थाको इतिहास खोतल्ने प्रवृत्ति व्यापक रहनुले पनि शैक्षिक अवस्थामा प्रत्यक्ष अप्रत्यक्ष नकारात्मक असर पु¥याएको छ । यदि शिक्षक आफ्नो संघ÷संगठन या आफ्नो पार्टीमा आवद्ध छ भन्ने जानकारी प्राप्त भएमा सकेसम्म ल्याउन प्रयास गर्छन् भने अर्को पक्षले सकेसम्म ल्याउन खोज्दैन र त्यसको लागि दुवै पक्षले भएभरको शक्ति प्रयोग गर्छन् । यसबाट उक्त शिक्षकमा मनोबल खस्किइ सिकाइ प्रक्रियामासमेत असर पुग्ने देखिन्छ । फलस्वरूप शिक्षकको ध्यान कक्षाकोठामा पढाउने भन्दा पनि राजनैतिक दलका नेताहरू रिझाउनेतर्फ समय बढी खर्चिनुपर्ने अवस्था सिर्जना भएको देखिन्छ ।
कुनै पनि विद्यालयको अपेक्षित सिकाइ उपलब्धि हासिल गर्नको लागि सम्पूर्ण शिक्षकहरूबीच एकता, सहकार्य र सौहार्दता हुनु जरुरी छ । राजनैतिक दलहरूले संघ÷संगठनहरूको नाममा शिक्षकहरूलाई विभाजित गरिदिँदा कुनै एक पक्षको प्रधानाध्यापक हुँदा अर्को पक्षले साथ र सहयोग नदिने, विद्यालयको वातावरण सकेसम्म बिगार्न खोज्ने तथा प्रधानाध्यापकले पनि अर्को पक्षलाई दबाउने तथा थिचोमिचो गर्ने वातावरण सिर्जना भएको पाइन्छ। विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ जस्ता संयन्त्रहरूको कुशल तथा प्रभावकारी समन्वयले समुदाय, विद्यार्थी र विद्यालयबीच सौहार्दपूर्ण वातावरण सिर्जना गर्न तथा विद्यालय र विद्यार्थीको भविष्य उज्ज्वल पार्न महत्वपूर्ण भूमिका खेल्दछ।