© २०२३
नेपालका कतिपय संभ्रान्त घरानामा पालिएका कुकुर बिरालालाई नोकरहरूले चम्चाले खाना ख्वाउँछन् । यद्यपि नोकरहरूलाई कुकुर, बिरालाकोजस्तो खाना मिल्दैन । तर, अधिकांश नेपाली बालबालिका भने शरीरलाई आवश्यक पर्ने खाना खान पाइरहेका छैनन् । अहिले पनि २१ प्रतिशत बालबालिकामा पौष्टिक तत्वको कमी रहेको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साढे दुई वर्ष स्थलगत अध्ययन गरेर यो तथ्यांक अगाडि सारेको हो । पौष्टिक तत्वको कमी भएमा पुड्कोपन, सुस्त मनस्थिति हुनु, रक्तअल्पता हुनु, पढाइमा ध्यान नजानु लगायत अन्य रोग लाग्ने सम्भावना बढी हुन्छ । सरकारले ७५ वटा जिल्लामा सर्वेक्षण गर्दा २० प्रतिशत बालबालिका र ४० प्रतिशत प्रजनन उमेरका महिलामा ‘हेलिब्याक्टर पाइलरी’ भाइरस देखिएको बताइएको छ । यो भाइरसले ग्यास्ट्राइटिस हुन सक्छ । यस्तै २८ प्रतिशत बालबालिका, १८ प्रतिशत किशोरी र १९ प्रतिशत प्रजनन उमेरका महिलामा सूक्ष्म पोषण तत्व आइरनको कमी रहेको पाइएको छ । हरेक ५ मा १ बालबालिका, किशोरी र प्रौढ महिलामा रक्तअल्पताको समस्या रहेको सर्वेक्षणले देखाएको छ ।
मानिसको लागि स्वस्थ रहन, परजीबीसँग लड्ने तागत विकास गर्न पौष्टिक तत्व अनिबार्य हुन्छ । जब शरीरमा आवश्यक पर्ने तत्वहरूको कमी हुन्छ त्यहिँबाट रोग लाग्ने सिलसिला पनि शुरु हुन्छ । तर, सबै मानिसलाई पौष्टिक तत्व प्राप्त हुने खाना मिल्दैन । सबै मानिसलाई खाना किन मिल्दैन यो राजनैतिक सरोकारको बिषय हो । लूटतन्त्रको जगमा बनेको राज्यसत्तामा शक्ति सम्पन्नहरूले दिनदिनै भोज गर्छन् । घरमा भोज गर्ने, तारे होटेलहरूमा डिनर र लञ्च लिने गर्छन् । पैसाको अभाव छैन । तर, गरी खाने वर्गले पेटभरी खाना खान पाउँदैन । किनभने उसँग खाना खानको लागि सम्पति नै हुँदैन । न आवश्यकता अनुसारको ज्याला मजदुरी नै पाउँछ । किनेर खानको पैसा हुँदैन । मर्न नसकेर बाँचिरहेको अवस्था छ । हरेक कुरामा उनीहरू नै ठगिएका छन् । गणतन्त्रको नाम दिइएको वर्तमान ब्यवस्थामा गणतन्त्र पनि धनीहरूकै पोल्टामा परिरहेको छ । गणतन्त्र आयो भने सबैलाई गास, बास, कपास, शिक्षा, रोजगारी उपलब्ध हुन्छ भनेर भनियो । त्यस्तो ब्यवस्था हुन्छ भने त्यहि स्थापना गर्ने भनेर हजारौँ मानिसले ज्यान गुमाएर गणतन्त्र स्थापना गरे । तर, त्यो गणतन्त्रको सारतत्व धनीहरूबाट खोसियो । अगुवा नेताहरू नै धनीको सुचीमा पर्न गए । गरिबलाई पौष्टिक तत्वको अभाव त छ नै, दुई छाक पेटभर खाना पनि जुरिरहेको छैन भन्ने त सरकारी तथ्यांकले नै देखाइरहेको छ ।
यसरी कुपोषणसँग लडेर बाँचेकालाई फेरि कतिपयका घिनलाग्दा आँखाहरू गडेर बाँच्ने अधिकार छिनिएको छ । कैयौँ बालिकाहरू आफ्नो अस्तित्व लूटाउन, ज्यान गुमाउन बाध्य भएका छन् । केन्द्रीय बालकल्याण समितिले गत चैतदेखि यो बर्षको असारसम्मको चार महिनामा १ सय १८ जना बालिका बलात्कृत भएको तथ्य सार्वजनिक गरेको छ । यसरी हेर्दा नेपालमा हरेक दिन एकजना बालिका बलात्कारको शिकार भएका छन् । प्रतिवेदनअनुसार बालिका बलात्कार भएका घटनामध्ये १४ जना सामूहिक रूपमै बलात्कृत भएका छन् । भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताको व्यवस्थाअनुसार बलात्कारपछिको हत्यामा आजीवन कारागारको सजाय हुने व्यवस्था गरिएको छ । बलात्कारीलाई कडा भन्दा कडा सजायको ब्यवस्था छ । यो कानुनले बलात्कारलाई रोक्न सक्ला या नसक्ला त्यो त तपसिलको कुरा हो, तर, यसलाई सम्बोधन गर्नको लागि पनि राजनैतिक कदम अनिवार्य हुन्छ । किनभने गरिबीले नै मानिसलाई बलात्कारीको नजिक पुराउँछ । यौन शोषणको निकट पुराउँछ । यसलाई हल गर्न राजनैतिक रूपान्तरणको खाँचो छ । यसमा कसले ध्यान दिने ?