© २०२३
सुर्खेत, १९ मंसिर ।
मंसिर १६ मा भएको स्थानीय तहको उपनिर्वाचनबाट कर्णाली प्रदेशमा आठजना जनप्रतिनिधि चुनिएका छन् । पालिका तहका तीनजना प्रतिनिधि र वडा तहका पाँचजना प्रतिनिधिका लागि निर्वाचन भएको थियो । यसपटकको उपनिर्वाचनमा पुरानै दलको वर्चस्व थियो । विशेषगरी काँग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । निर्वाचनपछिको मतपरिणामलाई हेर्ने हो भने यी मध्ये केही दलले आफ्नो विरासत फर्काएको देखिन्छ भने कतिपयले गुमाएको अवस्था छ ।
उपनिर्वाचनबाट दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष, कालीकोटको तिलागुफा नगरपालिका–४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, रूकुम पश्चिमको सानी भेरी नगरपालिका–५, कुशे गाउँपालिका–७, र दुल्लु नगरपालिका–१३ मा वडाध्यक्ष चयन भएका छन् ।
यी सबै जनप्रतिनिध ठूला र पूराना दलबाट प्रतिनिधित्व गर्नेहरू चयन भएका छन् । तीनै दल मध्ये पनि कतिपयले आफ्नो पुरानो जनमतलाई यथावत राखेका छन् भने कतिपयले आफ्नो विरासत फर्काएका छन् ।
पालिकातर्फको मतपरिणामलाई हेर्ने हो भने एमालेले आफ्नो विरासत फर्काएको छ । काँग्रेसले जनमत गुमाएको देखिन्छ । यसपटकको उपनिर्वाचनमा माओवादीले पुरानो जनमत कायम राखेको देखिन्छ । पालिकाका तीन वटा पदमध्ये दुई वटामा माओवादी र एउटामा एमालेले जितेको छ । यस्तै कर्णालीका पाँच वटा वडामा भएको उपनिर्वाचनमा कांग्रेसले २ वडा जितेको छ । एमाले, माओवादी र नेमकिपाले एक–एक वटा वडा जितेका छन् ।
महाबु गाउँपालिकामा नेकपा एमालेले आफ्नो विरासत फर्काएको छ । एमालेले नेकपा एकीकृत समाजवादीका जंगबहादुर शाहीलाई आफूतिर ल्याएर चुनाव लडाएपछि महाबुमा एमालेको विरासत फर्किएको हो । एमालेबाट उम्मेदवार बनेका शाही तीनहजार एक सय २७ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् । उक्त उपनिर्वाचनमा नेपाली कांग्रेसले भने आफ्नो विरासत गुमाएको छ । २०७९ सालमा नेकपा (एस) र माओवादी एक भएर आफूविरूद्ध चुनाव लड्दा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले जितेको थियो । त्यो बेला एमालेका उम्मेदवारले दोस्रो र समाजवादीका उम्मेदवारले तेस्रो स्थानमा मत पाएका थिए ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले आफ्नो एकल जनमतलाई कायमै राखेको छ । २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र माओवादीले गठबन्धन गरेर लड्दा माओवादीबाट प्रमुख र कांग्रेसबाट उपप्रमुख चुनिएका थिए । यो उपनिर्वाचनमा दलहरू एक्लाएक्लै लड्दा उपप्रमुखमा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित भएकी छन् । लामिछाने ४ हजार दुई सय ७२ मतसहित निर्वाचित भइन् । २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा दलहरू एक्लाएक्लै चुनाव लड्दा नलगाडमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादीले नै जितेको थियो ।
हुम्लाको सर्केगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्रले आफ्नो जनमत यथावत राखेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा दलहरू एकल लड्दा सर्केगाडका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी निर्वाचित भएको थियो । २०७९ को निर्वाचनमा कांग्रेस र माओवादीबीच भएको गठबन्धन अनुसार कांग्रेसबाट अध्यक्ष र माओवादीबाट उपाध्यक्ष बनेका थिए । अहिले भएको उपनिर्वाचनमा पनि दलहरू एक्लाएक्लै लड्दा माओवादीले जितेको छ । माओवादीबाट उम्मेदवार बनेकी देवकी तिमल्सिनाले १ हजार ६३७ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी छन् ।
रुकुम पश्चिमको सानीभेरी नगरपालिका–५ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा यसपटक कांग्रेसले २०७९ कै मतलाई कायम राखेको छ । उपनिर्वाचनमा कांग्रेस उम्मेदवार मोतीराम खत्री पाँच सय ९० मतसहित निर्वाचित भएका छन् । कांग्रेसलाई अहिले एमालेले सहयोग गरेको छ । २०७९ को निर्वाचनमा यो वडामा माओवादीले नै कांग्रेसलाई समर्थन गरेको थियो । कांग्रेस उम्मेदवार अलबहादुर खत्री ४६२ मत ल्याएर वडाध्यक्ष बनेका थिए ।
जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष यसपटक कांग्रेसले जितेको छ । काँग्रेसका खम्बबहादुर सिंह यो वडामा वडाध्यक्ष निर्वाचित भएका छन् । २०७९ को निर्वाचनमा माओवादीका मनबहादुर खत्री निर्वाचित भएका थिए । त्यसैगरी २०७४ यो वडामा नेपाली कांग्रेसका रामबहादुर शाही वडाध्यक्ष निर्वाचित भएका थिए ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा माओवादीले आफ्नो विरासत फर्काएको छ । यस पटकको उपनिर्वाचनमा माओवादीका नरबहादुर झाँक्री एक सय ६१ मतले वडाध्यक्ष निर्वाचित भएका छन् । २०७४ मा माओवादीका नवराज बुढाथोकी र २०७९ मा नेकपा एमालेका नन्दलाल रोका निर्वाचित भए ।
दैलेखको दुल्लु नगरपालिका–१३ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले आफ्नो जनमत कायम राखेको छ । यस वडामा उपनिर्वाचनबाट नेकपा एमालेका लालबहादुर शाही वडाध्यक्ष निर्वाचित भएका छन् । यसअघिका निर्वाचनबाट पनि एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।
कालिकोटको तिलागुफा नगरपालिकामा वडा नम्वर चारमा भने माओवादीले आफ्नो विरासत गुमाएको छ । उक्त वडामा नेमकिपाका खड्गराज शाहीले एक सय ४३ मतका साथ विजय हासिल गरका छन् । सो स्थानमा यसअघि माओवादी केन्द्रको उम्मेदवार विजयी भएका थिए ।