© २०२३
एकता भनेको सबै विषयबस्तुमा समान धारणा हुनु भन्ने अर्थ लाग्छ । विश्व एकता दिवसले त्यहि भाव बोकेको छ । सोही दिवस विश्वभर नै आज मनाइँदै छ । हामी सबै शान्तिसँग बाँचौँ, सबै मिलेर बसौँ भन्ने भनाइ भरखरैमात्र आएको हैन । सर्बे भवन्तु सुखिना सर्बे सन्तु निरामया….जस्ता भनाइ बैदिक कालदेखि चलन चल्तीमा छन् । त्योभन्दा अगाडि पनि यस्ता भनाइ रहेहोलान् । अहिले संयुक्त राष्ट्रसंघले विश्व एकता दिवसको आयोजना गरेर एक सुत्रमा बाँध्ने नारा अघि सारेको छ भने भोलिका दिनमा पनि यस्तै कुनै न कुनै नामका नारा अघि सारिने छन् । त्यसैले शान्ति र एकता परम्परावादी नारा बन्दै आएका छन् । नारा लगाउँदैमा शान्ति र एकता आउँथ्यो भने आज विश्वमा कुनै मुलुकले पनि हतियार उत्पादन गर्ने थिएन । एक मुलुकबाट अर्को मुलुकमा जान आउनको लागि पासपोर्ट, भिसा आदि इन्तजाम गर्नु पर्थेन । सेनाको संगठन निर्माण गर्ने दरकार हुने थिएन । अहिले रामनामी ओढेको निहत्था मानिसलाई पनि विभिन्न मुलुकमा घुम्न जानको लागि पासपोर्ट, भिसाको आवश्यकता हुन्छ । अहिले विश्वमा एकताको अवस्था कस्तो छ भनेर जाँच्नको लागि यहि नै पर्याप्त छ ।
विज्ञानको नियमले पनि कुनै कुरालाई लामो समयसम्म एकताको डोरीमा उनेर राखिरहन सक्तैन । बस्तुमा एकता, विभाजन र रूपान्तरण भइरहेको हुन्छ । मानव सभ्यता पनि त्यहि बाटोबाट अघि बढ्दै आजको अवस्थासम्म आएको हो । तर, यसको अर्थ यो होइन कि बस्तुमा एकता नै हुँदैन । एकता अनिवार्य हुन्छ । परन्तु त्यो एकताभित्र पनि विभाजनको मात्रा बसिरहेको हुन्छ । भित्रभित्रै विभाजनको विज्ञान प्रभावित भइरहेको हुन्छ । यसो भएन भने समाज रूपान्तरणमा जान सक्तैन । फरक यत्ति हो कि त्यो कुन र कति मात्रामा अवस्थित छ यसमा भर पर्छ । अहिले विश्वको रथको लगाम पूँजीवादको हातमा छ । यसको नेतृत्व जी सेभेन, जी नाइनसँग आवद्ध मुलुकहरूले गर्दै आएका छन् । दोस्रो विश्व युद्धपछि खडा भएको संसदवादी साम्राज्यवादले सोभियत रुसले लिएको समाजवादी बाटोलाई लगभग निषेध ग¥यो । रुसको समाजवाद पूँजीवादमा संक्रमित भयो । यसकारण कि विश्वमा पूँजीवादको मात्रात्मक आकर्षण बढी थियो । यो सधैँ यस्तै रहन्छ भन्ने हुँदैन । यसको भित्री भाग कमजोर पर्न गयो भने अर्को प्रणालीको मात्रात्मक विकास हुन्छ र अन्तरविरोध पैदा गर्छ । विभाजन ल्याउँछ । त्यो विभाजनले एउटा पक्षलाई निषेध गर्छ र अर्को पक्षलाई स्थापित गर्छ । यो भनेको बस्तुमा रूपान्तरण हुनु हो । एकता, विभाजन र रूपान्तरणलाई बैज्ञानिक रूपमा यसरी लिन सकिन्छ ।
संयुक्त राष्ट्रसंघ आजको पूँजीवादका उदीयमान, शक्तिशाली मुलुकले खडा गरेको एउटा साझा संस्था हो । पूँजीवादको फ्रेमभन्दा बाहिर उसले कुनै कुराको वकालत गर्न सक्तैन । पूँजीवादी उत्पादन सम्बन्ध निजीपूँजीवादको गर्भबाट जन्मेको हुँदा यसले एकले अर्कोलाई यो वा त्यो रूपबाट शोषण गरिरहेको हुन्छ । विना शोषण उसले पूँजी संकलन गर्न सक्तैन । पूँजीवादको मृत्यु हुन पुग्छ । त्यसैले यो उसको मूल विशेषता हो । यस्तो अवस्थामा गुमाउनेहरू र कमाउनेहरूका बीचमा अन्तरविरोध चलिरहन्छ । यो अन्तरविरोधभित्र जी सेभेन, जी नाइन मुलुकहरू खेलिरहेका छन् । कतै अन्तरविरोध साम्य बनाउने नाममा भित्रै पुग्छन् । कतै हतियार बेच्छन् । कतै डलर पठाएर विरोधी पक्षलाई किन्छन् र आफ्नो अनुकुलमा प्रयोग गर्छन् । धेरै अन्तरविरोध भएको सतहमा देखियो भने संयुक्त राष्ट्रसंघलाई साक्षी राखेर सैन्य आक्रमण पनि गर्छन् । त्यहाँ शान्तिको नारा पनि दिन्छन् । अन्तरविरोध जन्माइदिनु, त्यसभित्र खेल्नु र त्यसबाट फाइदा लिनु संसदवादी पूँजीवादको मूल चरित्र हो । यहि फ्रेमको एकता दिवस मनाउनु, विश्वमा एकता कायम गर्न दुहाई दिनु विश्वका तेस्रो दर्जाका मुलुकको नियति हो ।